राजनीति

कर्णालीको बजेट कार्यान्वयनमा सत्ता पक्षकै आशंका

कार्यव्यवस्था समितिबाट सांसदको राजीनामा

फाइल फोटो
असार ७, २०७५

    सुर्खेत : कर्णाली प्रदेश सरकारको विनियोजन विधेयकमाथिको छलफल सकिएको छ। तीन दिनसम्म भएको छलफलमा सांसदहरूले विनियोजन विधेयकमाथि आफ्नो सुझावसहितको धारणा राखेका छन्।

    बजेटमाथिको छलफलमा भाग लिने अधिकांश सांसदहरूले बजेट कार्यान्वयनमा आशंका व्यक्त गरेका छन्। बजेट उत्पादनमुखी नभई पुरानै शैलीमा परम्परागत र वितरमुखी भएका कारण बजेट कार्यन्वयन नहुने सांसदहरूको धारणा रहेको छ।

    प्रतिपक्षका मात्र नभई सत्तापक्षै सांसदहरूले पनि बजेट कार्यान्वयन हुन्छ की हुँदैन भनेर आशंका व्यक्त गरेका छन्। बजेटले सम्रगमा सबै विषयवस्तुलाई समेटिए पनि कतिपय कुरा छुटेको र उल्लेख गरिएका कतिपय  योजना र विकासका शीर्षक पनि अस्पष्ट भएको धारणा राखेका छन्।

    बिहीबारको छलफलमा  आफ्नो धारणा राख्दै सांसद सीता नेपालीले बजेटले  सबै क्षेत्रलाई समेट्न नसकिएको भन्दै सुर्खेतका बाढीपीडितलाई यस बजेटले कतै नछोएको प्रति आपत्ति जनाइन्। उनले अघिल्लो चौमासिक बजेटमा पीडितको पुर्नःस्थापनाका लागि समिति बनाउने भनिए पनि अहिलेको बजेटले बाढीपीडितका विषयमा कुनै कुरा उल्लेख नगरिएको भन्दै तत्काल बाढीपीडितलार्इ राहत र पुर्नःस्थापनाका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्।

    प्रमुख प्रतिपक्ष दलका सांसद अमृता शाहीले बजेट हेर्दा लोकप्रिय भए पनि वास्तविकतामा नभएको आरोप लगाइन्। उनले सुर्खेतका बाढीपीडितहरूको सवाल बजेटमा नसमेटिएको प्रति आक्रोश पोखिन्। उनले भनिन् ‘वर्षौंदेखि च्यातिएको पालमा बस्दै आएका पीडितहरूको बारेमा आवश्यक रकम विनियोजन गर्न सरकारसँग माग गर्दछु।’

    सांसद गोपाल शर्माले समग्र प्रदेशको बजेट सकारात्मक रहेको भन्दै सरकारको बचाउ गरे। सांसद शर्माले बजेटका विषयमा घुमाउरो शैलीमा जनतालाई माछा मार्न जाल दिनुको सट्टा माछा वितरण गरेको टिप्पणी गरे। उनले भने ‘बजेटमा जनतालाई माछा मार्ने जाल दिनुपर्ने तर यो बजेटले माछा मारेर दिएको छ।’

    छलफलमा सांसदहरू झोवा विक, करविर शाही, देवी ओली, चन्द्रबहादुर शाही, रातो कामीलगायतले अबको समय बजेट कार्यान्वयन गर्न तर्फ लाग्नुपर्ने सुझाव दिए। प्रदेशसभाको शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकले बजेट पारित गर्ने कार्यसूची रहेको छ।

    कार्यव्यवस्था समितिबाट सांसदको राजीनामा

    कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन्। प्रदेश संसदको बिहीबारको बैठकका लागि एजेण्डा तय गर्न बसेको समितिमा बैठकमा सभामुख राजबहादुर शाहीसँग चर्काचर्की भएपछि रेग्मीले राजीनामा दिएका हुन्।

    कार्यव्यवस्था समितिको बैठकमा सभामुखले समिति सदस्यहरूको राय सल्लाह सुझावलाई बेवास्ता गरी एकलौटी ढंगले निर्णय गरेकाले राजीनामा दिनु परेको रेग्मीको भनाई छ।

    ‘आफ्नो कुराको कुनै सुनुवाई नहुने भएपछि समितिमा बसेर के गर्नु, त्यही भएर राजीनामा दिएको हुँ।’ उनले भने ‘काम गर्नका लागि जिम्मेवारी लिने हो काम गर्न नसकिने अवस्थामा समितिमा बस्नुको कुनै औचित्य भएन्।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]