समाज

मनसुन सक्रिय नहुँदा चिरा परे खेतका गह्रा, सुक्न थाले बीउ

असार ८, २०७५

    धनगढी  : मनसुन सुरु भएको दुई साता पुग्नैलाग्दा पनि पश्चिममा मनसुन सक्रिय नहुँदा कैलाली कञ्चनपुरका किसान मारमा परेका छन्। कैलाली र कञ्चनपुरका अधिकांश खेतीयोग्य जमिनमा अझै सिँचाइ सुविधा नपुगेका कारण किसानहरू आकाशे पानीको भर पर्न बाध्य छन्।

    खडेरीका कारण 'बोरिङ' समेत सुकेको किसानको गुनासो छ। खेत साह्रो भएपछि अधिकांश किसानले जोत्न समेत सकेका छैनन। बीउ हरियाली भएर खेत जोत्न भ्याइ नभ्याइ हुने यो समयमा कतिपय खेतहरु बाँझै छन्। पानी नपरेपछि  कैलाली र कञ्चनपुरमा अधिकांश किसानका बिउ सुक्न थालेका छन्।

    जेठको अन्तिम सातासम्म पानी परे पनि असार लागेपछि पानी नपरेपछि धान रोप्न समस्या भएको धनगढी उपमहानगरपालिका– ६ मटेरीका रामप्रसाद चौधरीले बताए। ‘तीन बिघा क्षेत्रफलमा धान रोप्ने गरी बीउ छरेको छु। पानी नपाएर बिउ सुक्न थालिसके', चौधरीले गुनासो गरे। ‘पहिले पहिले यतिखेर धान रोप्ने चटारो हुन्थ्यो तर अहिले सुरसारै छैन’, आकाशे पानी कुरेर बसेका धनगढी मटियारीकै किसान कृष्ण चौधरीले भने।

     कैलालीका ७१ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइन्छ। यसमध्ये ४० हजार हेक्टर क्षेत्रफलमा अझै सिँचाइ सुविधा पुगेको छैन। सिँचाइ सुविधा नपुगेका क्षेत्रहरुका किसानहरु आकासे पानीको भर पर्न बाध्य छन्। 

    प्रत्येक वर्ष आकाशे पानीको भर गरेर खेती लगाउदा र समयमै खेती लगाउन नपाउँदा खाद्यन्न उत्पादनमा समेत ह्रास आउने जिल्ला कृषि विकास कार्यालय कैलालीका प्रमुख यज्ञराज जोशीले बताए। ‘मनसुन ढिला सुरु हुँदा उत्पादनमा कमी आउन सक्छ’, जोशीले भने। सुदूरपश्चिममा तीन लाख सात हजार १६५ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएकोमा ४६‍.३ प्रतिशत अर्थात् एक लाख ७४ हजार ७३० हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ।

    एक लाख ३२ हजार बढी हेक्टर क्षेत्रफलमा अहिले पनि आकाशे पानीको भरमा खेती हुँदै आएको क्षेत्रीय कृषि विकास कार्यालय दिपायलको तथ्याङ्क छ। आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरूले पानी नपरे खेत बाँझै राख्नुपर्ने अवस्था छ।  

    प्रदेश ७ का सातवटा पहाडी जिल्लालाई पुर्‍याउने अन्नबाली उत्पादन हुने क्षेत्रमै सिँचाइको व्यवस्था हुन नसक्दा उत्पादनमा उल्लेख वृद्धि हुन सकेको छैन। प्रदेश सरकारले कृषिलाई बढावा दिँदै मुख्यमन्त्री कृषि परियोजना कार्यक्रम लागू गर्ने घोषणा गरेको छ। तर राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन रानी, जमरा कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ भइरहेको छ। 

    जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिममा मौसम सक्रिय हुन अझै कम्तीमा एक साता लाग्छ।  ‘पश्चिममा पूर्ण रूपले मनसुन सक्रिय हुन अझै ६–७ दिन लाग्न सक्छ’, मौसम पुर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधना‌ंगले भने।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]