समाज

सोलुखुम्बुका विद्यार्थीलार्इ पहिलोपटक उत्प्रेरणात्मक परामर्श

असार ८, २०७५

    सोलुखुम्बु : माध्यमिक तहका विद्यार्थीलाई लक्षित गर्दै पहिलोपटक आयोजना गरिएको उत्प्रेरणात्मक परामर्श कार्यक्रम लाभदायक भएको विद्यार्थीले बताएका छन्। सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकामा सञ्चालित उक्त कार्यक्रम प्रभावकारी भएको सहभागी विद्यार्थीले बताएका हुन्।

    माप्य दूधकोसी गाउँपालिकाको प्रायोजनमा जिल्लाको शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दैआएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)को आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमका सहभागी विद्यार्थीले आफ्नो क्षमताको पहिचान गरी सकारात्मक रूपमा अघि बढ्न र माध्यमिक तहको शिक्षापछिको शैक्षिक बाटोका बारेमा प्रष्ट हुने अवसर कार्यक्रमले दिएको बताएका छन्।

    एसइइपछि पढाइ छाड्ने योजना बनाएकी जुभिङ माध्यमिक विद्यालय जुभिङकी छात्रा सिर्जना राईले आफ्नो लक्ष्य तय गर्दै थप पढाइमा सक्रियताका साथ अघि बढ्न कार्यक्रमले हौसला प्रदान गरेको बताइन्। उनले भनिन्, 'कार्यक्रममा सहभागी नभएको भए अर्को वर्षदेखि खेतबारीको काममा व्यस्त हुन्थेँ।'

    कार्यक्रममा सहभागी भएपछि विद्यार्थीले एसइइपछिको आफ्नो शैक्षिक बाटो र भविष्यको बारेमा योजना बनाएका छन्। थप सोचविचार र मेहनतका साथ आफ्नो योजनामा सफलता प्राप्त गर्नेमा समेत उनीहरू ढुक्क रहेका छन्। विद्यार्थीले भविष्यमा विभिन्न पेशामा आवद्ध भएर देशको सेवा गर्ने बताएका छन्। उनीहरूले शिक्षक, निजामति कर्मचारी, स्वास्थ्यकर्मी, सेना तथा संगीतकर्ममा लागेर सफलता प्राप्त गर्ने योजना बनाएको बताउँछन्।

    माप्य दूधकोसी गाउँपालिका भित्रका पाँच विद्यालयमा दुई/दुई दिन सञ्चालन गरिएको विद्यार्थी परामर्श कार्यक्रममा ४८३ विद्यार्थी सहभागी भएको रीड नेपालका सोलुखुम्बु प्रबन्धक कपिल प्रसाद पुरीले जानकारी दिए।

    हरेक विद्यार्थी क्षमतावान रहेको र भविष्यमा सफल र असल रूपमा अघि बढ्न विद्यार्थीलाई उत्प्रेरणा मिलेको कार्यक्रमका सहजकर्तासमेत रहेका रीड नेपालका मनोज श्रेष्ठले बताए।

    कार्यक्रमबाट विद्यार्थीले भरपूर लाभ लिएको विद्यालयका प्रधानाध्यापकको भनाइ छ। कार्यक्रमलाई विद्यार्थीले रुचाएको सगरमाथा माध्यमिक विद्यालय वाकुका प्रधानाध्यापक महलसिंह राईले बताए। राईले भने, 'कार्यक्रमले ग्रामीण भेगका बालबालिकालाई निक्कै महत्त्वपूर्ण सहयोग पुगेको छ।'

    विद्यार्थीलाई आफ्नो क्षमता पहिचान र सकारात्मक सोच विकासका लागि यस प्रकारका कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जुभिङ माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र ठाकुरले जोड दिए।

    उत्प्रेरणात्मक परामर्श कार्यक्रम विद्यार्थीका लागि मात्रै नभएर शिक्षक तथा अन्यका लागि पनि उपयोगी भएको माप्य दूधकोसी गाउँपालिका-६ का अध्यक्ष तथा सगरमाथा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेशकुमार राईले बताए।

    गाउँपालिकाका अधिकृत अविलाल राईले विद्यार्थीमा रहने एसइइपछिको पढाइको अन्यौलता हटाउनसमेत परामर्श कार्यक्रमले सहयोग गरेको बताए।

    विद्यार्थी परामर्श कार्यक्रमको समीक्षा कार्यक्रममा माप्य दूधकोसी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले थोरै बजेटमा सयौँ विद्यार्थीको भविष्यमा सकारात्मक ऊर्जा थपिएको बताए। उनले विद्यार्थीलाई लक्षित गरी उत्प्रेरणात्मक परामर्श तथा विद्यार्थीको क्षमता अभिवृद्धि कार्यक्रम नेपालमा नै पहिलो भएको समेत दाबी गरे। कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने अध्यक्ष राईको भनाइ छ।

भोजराज कार्की

कार्की थाहा खबरका सोलुखुम्बु समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]