अर्थ

विराटनगर महानगरको बजेट चार अर्ब ४७ करोड रुपैयाँ

असार १०, २०७५

    विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाको आइतबारबाट सुरु भएको दोश्रो नगरसभामा महानगरप्रमुख भीम पराजुलीले आगामी आर्थिक वर्षको अनुमानित बजेट पेस गरेका हुन्।

    बजेटमा महानगरपालिकातर्फ दुरइ अर्ब ५२ करोड, ८३३ लाख ४९ हजार र मझौला शहरी वातावरणीय सुधार परियोजना/क्षेत्रीय शहरी विकास परियोजनातर्फ एक अर्ब ९४ करोड २५ लाख गरी जम्मा चार अर्ब ४७ करोड आठ लाख ४९ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरिएको हो। उल्लेखित अनुमानित रकममध्ये महानगरपालिकाको आन्तरिक श्रोतबाट ५४ करोड तीन लाख, राजस्व बाँडफाँडबाट ३७ करोड पाँच लाख चार हजार, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार प्राप्त हुने अनुमान गरिएको छ।

    महानगरले संघीय र प्रदेश सरकारबाट ससर्त अनुदान विषयगत कार्यालयतर्फ ४४ करोड ९३ लाख प्राप्त गर्नेछ। यस्तै समपूरक र विशेष अनुदानतर्फ १० करोड, ससर्त अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसंस्था अनुदान चार करोड ४३ लाख ५० हजार, जनससहभागिताबाट तीन करोड ५० लाख, नगर विकास कोष ऋण सहयोग एक करोड ८० लाख, चालु वर्षको मौज्जात सात करोड गरी जम्मा तीन अर्ब ५२ करोड ८३ लाख ४९ हजार रुपैयाँ आय हुने  अनुमान गरिएको छ।

    विनियोजित कुल खर्चमध्ये नगरपालिकातर्फको चालु खर्चका लागि ३३ करोड ६८ लाख ५२ हजार विनियोजित गरिएको छ।  संघीय सरकार सामाजिक सुरक्षाभत्ता २० करोड, भौतिक पूर्वाधार निर्माणका लागि परियोजनासमेत तीन अर्ब २५ करोड तीन लाख ३३ हजार, वातावरण तथा सरसफाइ, विपत् व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि पाँच करोड ९३ लाख ३० हजार तथा सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपन्छी कार्यक्रमका लागि नेपाल सरकार ससर्त अनुदानसमेत ६२ करोड ४३ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको छ।

    महानगरको दोस्रो नगरसभाको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरेका थिए।


    सुन्दरहरैचाको बजेट ७९ करोड

    मोरङको सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ७९ करोड ११ लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको आइतबार भएको तेश्रो नगरसभामा उपमेयर धना तामाङले आगामी आर्थिक वर्षको अनुमानित बजेट पेस गरेकी हुन्।

    बजेटमा आयतर्फ सरकारको सशर्त अनुदानबाट ४१ करोड ५२ लाख, आन्तरिक आयबाट सात करोड ८५ लाख, प्रदेश सरकारबाट दुर्इ करोड ६३ लाख ४२ हजार, राजस्व बाडफाँडबाट १३ करोड ३७ लाख र सामाजिक सुरक्षाबाट १५ करोड ९० लाख रुपैयाँ बजेट प्राप्त गर्ने जनाइएको छ। यस्तै व्ययतर्फ चालुतर्फको प्रशानिक खर्च १२ करोड ८१ लाख ६९ हजार, पूँजीगत खर्च पाँच करोड ६३ लाख रुपैयाँ सार्वजनिक गरिएको छ। नगरपालिकाले प्रत्येक वडाको लागि एक करोड ११ लाख रुपैयाँ छुट्याएको छ।

    नगरपालिकाले प्रकोप व्यवस्थापनमा एक करोड, मर्मत सम्भारमा एक करोड २५ लाख, वातावरण विकास कोषमा ३० लाख, आर्थिक विकासमा एक करोड ६४ लाख, पूर्वाधार विकासमा चार करोड ५५ लाख र सामाजिक विकासमा एक करोड ९९ लाख रुपैयाँ बजेट छुट्याएको छ। यस्तै सार्वजानिक सेवा तथा क्षमता विकासको लागि ५९ लाख १८ हजार र गौरवको योजनाहरूमा एक करोड रुपैयाँ विनियोजन गरेको छ।

    कार्यक्रममा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बजेटमा संघीय सरकारले अनुदान दिने विषयमा विभेद गर्दा समस्या भएको गुनासो गरे। समुन्नत नगरपालिका बनाउने अभियानमा नगरपालिका लागेको भन्दै मेयर ढकालले नगरपालिकाले एक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे, ५० किलोमिटर नाला निर्माण तथा ५० किलोमिटरभन्दा बढी सडकको स्तरउन्नती गरेको जानकारी दिए।

    नगरपालिकाले बजेटमा ज्येष्ठ नागरिकसँग नगरप्रमुख, लोहन्द्रा, गछिया, बुढी, सुकुनालगायतका खोलामा तटवन्ध, उज्यालो र प्रविधियुक्त सुन्दरहरैचा, बालबालिकालाई स्कूल पठाउ, पूर्ण साक्षर नगरपालिका बनाउ जस्ता कार्यक्रम समेटेको छ।


    पथरीशनिश्चरेमा ६० करोडको बजेट

    मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख दीलिपकुमार राईको अध्यक्षतामा आइतबार भएको तेस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाले नीति र कार्यक्रमसहितको सो बजेट प्रस्तुत गरेकी हुन्।

    बजेटमा नगरपालिकाले आफ्नो हिसाबले खर्च गर्न नपाउने ‘सशर्त’ शीर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तीय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघीय सरकारबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान प्राप्त भएको उल्लेख छ। सशर्तका रुपमा १० करोड ७० लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ।

    नगरपालिकाले प्रदेशबाट समानिकरण अनुदान ४२ लाख २३ हजार र सवारी साधन कर वापत एक करोड ३६ लाख ९२ हजार प्राप्त गर्ने छ। यस्तै आन्तरिक आयस्रोतबाट चार करोड छ लाख अनुमान गरिएको छ। सडक बोर्डबाट ४० लाख, एलजीसीडीपी कार्यक्रमको सात लाख १७ हजार, गरिबसँग विश्वेश्वर कार्यक्रमको चार लाख २९ हजार तथा जनसहभागिताबाट एक करोड पाँच लाख आम्दानी हुने अनुमान बजेटमा छ।

    सशर्त बाहेकको सबैगरी ३० करोड ९१ लाख ३५ हजार रुपैयाँमध्ये नौ करोड २१ लाख २० हजार रुपैयाँ चालु खर्चमा छुट्याइ बाँकी २१ करोड ७० लाख १५ हजार रुपैयाँ विकास खर्चमा बाँडफाँड गरिएको बजेट विवरणमा उल्लेख छ। त्यसमध्येबाट १० वटा वडाका लागि ८५ लाखका दरले आठ करोड ५० लाख तथा बाँकी १३ करोड २० लाख १५ हजार पूँजीगत रकमबाट २२ वटा शीर्षकमा बजेट विनियोजन गरिएको छ।

    वडागत बजेट सिलिङ तोकिए पनि रकम बाँडफाँडको सबै योजना बनिनसकेको र नगरस्तरका योजनाहरूको शीर्षक तय भए पनि त्यसभित्रको बजेट बाँडफाँड बाँकी रहेको नगरपालिकाले जनाएको छ। असार २३ गतेको नगरसभाले दुबै तहको विस्तृत विवरण तयार गरी पारित गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]