अर्थ

निजगढ नगरपालिकाको नीति तथा कार्यक्रम : चक्रपथदेखि घरदैलो क्लिनिकसम्म

असार १०, २०७५

    बारा : निजगढ नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले आइतबार दोस्रो नगरसभा आयोजना गरी आफ्नो नीति कार्यक्रम सार्वजनिक गरेको हो। 

    नगरसभामा आर्थिक बर्ष २०७५/०७६ का लागि ६१ करोड ४० लाख आठ हजार रुपैयाँ बजेट प्रस्ताव गर्दै उप–प्रमुख लिलादेवी खनालले नगरले खानेपानी, सरसफाई ब्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको बताइन्। नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, पर्यटकीय पूर्वाधार विकास, कृषि र पशु क्षेत्रको विकास, सेवा प्रवाह र सूचना प्रविधि, कला संस्कृतिको जगेर्ना, खेलकुदको विकास र महिला बालबालिका र अपाङ्गहरूको क्षमता विकासलाई प्राथमिकतामा राखेको छ।

    नगर उपप्रमुख लिलादेवी लामिछाने खनालले नीति कार्यक्रम सार्वजनिक गर्दै निजगढ नगरपालिकाभित्र पाँच वर्षभित्र नगरका सबै सडक पिच गर्ने नीति लिएको छ। चक्रपथ निर्माणका लागि सर्भे सम्पन्न गरी कार्य प्रारम्भ गर्ने, बसपार्क निर्माण तत्काल अगाडि बढाउने उल्लेख गरेका छन्। नगर यातायातको दिगो ब्यवस्थापनका लागि नगर यातायात गुरुयोजना निर्माण गरि कार्यान्वयन गरिने भएको छ।

    साथै नगरको केन्द्रबाट सबै वडा केन्द्रलाई जोड्न चक्रपथलगायत सडक सञ्जाल निर्माणका लागि आवश्यक नीति अवलम्बन गर्ने र बजार क्षेत्रमा  सडक विस्तार र कालोपत्रे गर्ने, नगर क्षेत्रलाई जिल्ला सदरमुकामसँग जोड्ने मुख्य मार्गको मर्मत गरी सहज बनाउने कार्य तत्काल थालनी गर्ने र त्यसका लागि प्रदेश, छिमेकी स्थानीय तहसँग सहकार्य गरिने नगर उपप्रमुख खनालले नीति कार्यक्रममा उल्लेख गरेकी छिन्।

    त्यस्तै कृषिलाई प्रवर्द्धन कृषि मेला आयोजना गरि उत्कृष्ट किसान र कृषि समुहलाई सम्मान गर्ने भएको छ। कृषिमा सिँचाइ सुविधा बढाउनका लागि साना, सतह तथा भूमिगत सिँचाइ प्रणाली सञ्चालन, निर्माण, सुधार र मर्मत सम्भार तथा सेवा शुल्क निर्धारण र संकलनको ब्यवस्थापन गरिने भएको छ। कृषि उत्पादनमा ब्यवसायिकरण, आधुनिकीकरण, यान्त्रिकरण तथा बजारीकरण र किसानलाई सहुलियतपूर्ण कर्जामा सहजीकरणमा विशेष जोड दिदै सामुहिक खेती प्रणाली, पशुपालन गरि कृषिलाई आत्मनिर्भर बनाउने नीति लिएको छ।

    मल, बीउ, कृषि औजार, पशुनश्ल सुधारमा अनुदानको ब्यवस्था गर्ने, आर्गनिक उत्पादनलाई विशेषप्रोत्साहन गर्ने, प्रत्येक वडाको अलग–अलग कृषि पहिचान झल्किने गरि पकेट क्षेत्र घोषणा गर्ने, घर निर्माणको प्रमाणपत्रका लागि घरमा अनिवार्य दुईवटा फलवृक्ष रोप्नुपर्ने ब्यवस्था गरेको छ।

    भूमीहीन सुकुम्बासीको ब्यवस्थित बसोबासका लागि लगत संकलन गरिने र दलित, लोपोन्मुख एवं सीमान्तकृत समुदायमा जनता आवास कार्यक्रम विस्तार गर्न आवश्यक ब्यवस्था मिलाइने भएको छ। प्रजनन् महिला स्वास्थ्य कार्यक्रमलाई उपप्रमुख स्वास्थ्य कार्यक्रमका रुपमा विकास गर्ने, वडा ५, १० र १२ मा शहरी स्वास्थ्य क्लिनिक राख्ने, लागुऔषध दुरब्यसनी निरुत्साहित गर्ने नीति लिएका समेत नगर उपप्रमुख खनालले उल्लेख गरेकी छिन्।

    यसैगरी नगर उपप्रमुख खनालले जेष्ठ नागरिक मनोरञ्जनका लागि जेष्ठ नागरिक मिलन केन्द्र शुरुवात गर्ने, ८० वर्ष पुगेका जेष्ठ नागरिक र असक्तहरुको स्वास्थ्य जाँचको लाग घरदैलो क्लिनिक निःशुल्क रूपमा सञ्चालन गरिने बताएकी छिन्।

    निजगढ नगरपालिकामा बढीमा १० जना नगर प्रहरी राख्ने, सेना तथा प्रहरी सेवामा प्रवेश गराउन शारीरिक एवं शैक्षिक तालिमको ब्यवस्था गर्ने, खोज तथा विकास पत्रकारिता गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्थासमेत मिलाइने नगर उपप्रमुख खनालले जानकारी दिएका छन्।

    नगरपालिकाले समानीकरण अनुदानतर्फ ११ करोड ६३ लाख बजेट प्रस्तुत गरिएको छ।  शर्सत अनुदानतर्फ शिक्षा स्वास्थ्य र कृषिमा १३ करोड ७० लाख विनियोजन गरिएको छ। सामाजिक सुरक्षाभत्तातर्फ आठ करोड २५ लाख, बहुपोषणतर्फ एक करोड, आठ लाख ५० हजार, एलजीसिडिपीतर्फ एक करोड, चार लाख ५० हजार, सडक बोर्डतर्फ ६० लाख, नगर विकास कोषतर्फ सात करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

    यसअघि सभाको नगर प्रमुख सुरेशकुमार खनालले गमलामा जलशेरचन गरेर उद्घाटन गरेका थिए। सभामा नगरपालिको विनियोजन ऐन २०७५ मस्यौदा विधेक प्रस्तुत गरिएको छ। नगर सभा सदस्य ज्ञान बहादुर गोलले प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सभा सदस्य थलप्रसाद गौतमले समर्थन गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]