बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
राजविराज : श्री एयरलायन्सले काठमाडौं -राजविराज-काठमाडौँ नियमित उडान सुरु गरेको छ। वर्षौदेखिको प्रतीक्षापछि राजविराज विमानस्थलबाट आइतबारदेखि श्री एयरलायन्सको जहाजले नियमित उडान सुरु गरेको हो।
काठमाडौँबाट ४६ यात्रु बोकेर राजविराज अवतरण गरेको उक्त विमान काठमाडौँका लागि २२ यात्रु बोकेर उडेको थियो। पचास सीट क्षमताको उक्त जहाजले हप्ताको पाँच दिन काठमाडौँ-राजविराज-काठमाडाैं उडान भर्ने श्री एयरलाइन्सले जनाएको छ। आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी सातामा पाँच दिन काठमाडौँ-राजविराज-काठमाडाैं उडान भर्ने श्री एयरलाइन्सको राजविराज शाखा प्रबन्धक सुरेश मल्लिकले जानकारी दिए।
उक्त जहाजले काठमाडौँबाट अपराह्न १ः १५ र राजविराजबाट अपराह्न २ः१० मा उडान भर्ने तालिका सार्वजनिक गरेको छ। काठमाडौँबाट उडेको जहाज करिब २५ मिनेटको अवधिमा राजविराज विमानस्थल पुग्नेछ। जहाजको सस्तो भाडादर न्यूनतम तीन हजार ५०० रुपैयाँ र अधिकतम छ हजार २०० रुपैयाँ तोकिएको छ।
तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले विसं २०१६ सालमा विमानस्थलको शिलान्यास गरेका थिए। केही समयपछि कच्ची धावनमार्ग र अन्य प्राविधिक समस्या देखाउँदै विमानस्थल बन्द भएको थियो। एकदशक अगाडिसम्म पनि विमान संचालन भइरहेकोमा त्यसपछि पुन बन्द भएको थियो। हाल करिब ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण गरिएको बताइएको छ। नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार विमानस्थलमा उडान-अवतरणका लागि आवश्यक पूर्वाधार र कर्मचारी परिचालन गरिसकिएको छ।
विष्णुपुर गाउँपालिकामा अवस्थित उक्त विमानस्थलमा एक हजार ५०० मिटर लम्बाई र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण सम्पन्न भएपछि जेठ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको उदघाटन गरेका थिए। मन्त्री अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलबाट नियमित हवाई सेवा सुरु हुने बताए पनि आवश्यक तयारीका कारण हवाई सेवा सञ्चालनमा ढिलाइ भएको विमान कम्पनीले जनाएको छ।
विमानलाई भव्य स्वागत
पहिलोपटक जहाज लिएर आउने जहाजका पाइलट, एयर होस्टेजलगायत कर्मचारी, काठमाडौँबाट आउने र जाने सम्पूर्ण यात्रुलाई आइतबार यहाँ भव्य स्वागत गरिएको छ। राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झाले गम्छा तथा फूलको माला लगाइदिएर उनीहरुको स्वागत गरेका थिए। पहिलो उडानबाट राजविराज विमानस्थल उत्रनु भएका राजविराज नगरपालिका -३ का श्याम रजकले हवाई सेवा सञ्चालन भएपछि सप्तरीवासी उत्साही एवं खुशी देखिएको बताए।
राजविराज विमानस्थलमा हवाई सेवा सुरु भएपछि सप्तरीलगायत सुनसरी, सिरहा, उदयपुर र सीमावर्ती भारतीय क्षेत्रका नागरिकलाई पनि सुविधा पुग्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।