अर्थ

कुखुरामा सिन्डिकेट : घाटामा उत्पादक, नाफामा बिचौलिया

असार ११, २०७५

    पर्वत : एक वर्षअघि कुखुरापालन सुरु गरेका कुश्मा नगरपालिका–२, खुरकोटका कृष्णप्रसाद बास्तोला अहिले व्यवसाय छोडेर वैदेशिक रोजगारीमा जाउँ वा कुखुरापालनलाई नै निरन्तरता दिउँ भन्ने दोधारमा छन्। उनको फार्ममा रहेका करिब एक हजार कुखुरा बेच्ने अवधि नाघेपछि मर्न थालेका थालेका छन्। जुन व्यापारीकोबाट चल्ला र दाना खरिद गर्दै आएका थिए, त्यसले नै कुखुरा खरिद गर्ने भनिए पनि खरिद नगरिदिँदा कुखुरा मर्न थालेका छन्। जसले उनलाई कुखुरापालनमा लाग्नु आफ्नो गल्ती भएको भन्ने लाग्न थालेको छ।

    यस्तो अवस्था सिर्जना हुने भएको थाहा पाएको भए यस पेशामा नै नलाग्ने उनी बताउँछन्। ‘यहाँ त दुई चार जनाको मनोमानी चल्ने रहेछ,’ उनले दुखेसो पोखे, ‘कुखुरा पाल्ने हामी अनि हामीले पालेको कुखुरामा रजाइँ गर्ने अर्कै?’ बास्तोलाले पालेका कुखुरा बेच्न बेला भए पनि खरिदकर्ताले विभिन्न बहानामा खरिद नगरिदिएका उनलाई यस पेशाबाट निराशा पैदा भएको हो।

    कुखुरा खरिद गर्ने व्यपारीहरुले मान्छेले मासु खान छोडेको, बर्डप्mलुले प्रभाव पारेको जस्ता कारण देखाउँदै खरिद गर्न आनाकानी गर्दै आएका छन्। पहिलेको तुलनामा मासु बिक्री नभएकै कारण कुखुरा खरिद गर्न समस्या भएको तिवारी दाना उद्योग तथा पोल्ट्री सप्लायर्स पर्वतका सञ्चालक शंकर तिवारीले बताए। ‘अहिले मासु नै बिक्री भएको छैन,’ उनले भने, ‘कुखुरा खरिद गरेर हामीले के गर्ने?’

    तर, कुखुरापालक किसान भने खरिदकर्ताको भनाइमा सत्यता नभएको बताउँछन्। खरिदकर्ताहरु उत्पादकहरुलाई चरम समस्यामा पारेर कुखुरा सस्तोमा खरिद गर्ने र फ्रेस हाउसहरुलाई महँगोमा बेच्न यस्तो गरिरहेको भएको कुखुरा उत्पादक किसानहरुको आरोप छ।

    बागलुङमा अहिले ज्युँदो कुखुरा प्रतिकेजी १९० र  पर्वतमा १७० रुपैयाँ पर्दछ। मासु प्रतिकेजी ३८० रुपैयाँ बिक्री हुँदै आएको छ। यो बिचौलियाका कारण यस्तो भएको बाग्लुङ बजारमा कुखुरा पाल्दै आएका भिमबहादुर क्षेत्रीको भनाइ छ। ‘यो देशमा जे गरे पनि सुख रहेनछ,’ उनले भने, ‘पाँच लाख रुपैयाँको लगानीमा यो बर्ष पहिलो लट हालेको यही लटले डुबायो।’

    कुखुरा पालक किसानको यस्तो समस्या पहिलेदेखिको हो। स्थानीय तहमा नै सरकार बनेपछि केही हुन्छ कि भन्ने आशा बोकेका कुखुरा पालक किसान जनप्रतिनिधिले यस विषयमा कुनै चासो नदिइएको गुनसो पोख्छन्। तर, बाग्लुङ नगरपालिकाका प्रमुख जनक पौडेल उत्पादकहरुको समस्यालाई बुझेर उत्पादक, व्यवसायी र जनप्रतिनिधि बसेर संयुक्त छलफल गरिरहेको बताउँछन्। ‘कुखुरामा सिन्डिकेट लादिएको भनेर धेरै जनगुनासो बढेपछि हामीले यसलाई तत्कालै हटाउन केही नीति पनि बनाएका छौं,’ उनले भने, ‘बिचौलियाका कारण किसान मर्कामा परेको यथार्थ हो।’

    यसबारे पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्बन्धित कार्यालयलाई किसानहरुको अवस्था बुभ्mन लगाएर समस्या समाधान गर्न निर्देशन दिने बताए। ‘कृषकहरुले हामीकहाँ यो गुनासो ल्याउनुभएको थिएन,’ प्रजिअ ढकालले भने, ‘तर पनि म यस सम्बन्ध बुझेर कृषकलाई राहात हुने गरी समन्वयात्मक भूमिका खेल्छु।’

    कुश्मा नगरपालिकाका पशु विकास अधिकृत विश्वनाथ गौतमले नीतिगत अस्पष्टताका कारण नगरपालिकाले केही गर्न नसकेको बताउँछन्। ‘कुश्मा नगरपालिकामा मात्र २०० भन्दा बढीले कुखुरा पालन गर्छन्,’ उनले भने, ‘समस्या समाधानका लागि नगरपालिकाले यो गर्ने भन्ने त छैन।’

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]