अर्थ

जाजरकोटको स्थानीय तहका प्राथमिकता : गर्भवतीलाई नुनतेल, एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति

असार १२, २०७५

    जाजरकोट  ः  कुशे गाउँपालिकाको तेस्रो गाउँसभाले प्रत्येक वर्ष एक जनालाई एमबीबीएस अध्ययन गराउन प्रथम अध्यक्ष छात्रवृत्ति कोषको व्यवस्था गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गाउँपालिकाभित्रका उत्कृष्ट एक जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्तिमा डाक्टर पढाउने सम्झाैता भएको छ। 

    प्रत्येक वर्ष सम्बन्धित विद्यार्थी, गाउँपालिका र प्रतिष्ठानले पाँच पाँच लाख रुपैयाँ ब्यहोर्ने गरी नीति बनाएको छ। एउटा डाक्टर उत्पादन गर्न गाउँपालिकाले २० लाख रुपैयाँ खर्च गर्ने कुशे गाउँपालिकाको बजेटमा उल्लेख छ। त्यस्तै, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन जाने महिलालाई  चार पटकसम्म एक पोका तेल र दुई पोका नुन दिने, स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन र पोशाक भत्ता गरी वार्षिक १५ हजार रुपैयाँ प्रदान गर्ने गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। पालिकाले ३२ करोड ९९ लाख २७ हजारको बजेटमा आन्तरिक राजस्व ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ

    यस्तै, बारेकोट गाउँपालिकाले  एक घर एक करेसाबारी, एक घर दुई फलफूलका विरुवा कार्यक्रम तय गरेको छ। लोपोन्मुख रेडपाण्डा, गिद्धलगायतका जनावर र पक्षी संरक्षणका लागि विशेष कार्यक्रम, आकस्मिक स्वास्थ्य कोषको स्थापना, पूर्ण खोपयुक्त वडा घोषणा, प्रत्येक वडामा स्वच्छ खानेपानी, पर्यटन विकास गुरुयोजना निर्माण र पर्यटकीय स्थलहरुको प्रचारप्रसारका साथै ती क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्ने, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्थालगायतका नीति तथा योजनामा ल्याइएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए। २७ करोड ३० लाख ८६ हजार रुपैयाँको कुल बजेटमा १५ लाख रुपैया मात्र आन्तरिक राजस्व संकलन हुने लक्ष्य राखिएको छ। 

    जुनीचाँदे गाउँपालिकाले सडक तथा यातायातलाई ‍प्राथमिकतामा राखेको छ। ‘मानव सभ्यताको सम्मान, छुवाछुत र सामाजिक कुरिति विरुद्धको अभियान’ भन्ने नारा तय गरेको गाउँपालिकाले गाउँपालिकाभित्र सामाजिक कुरीतिविरुद्ध कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ। छाउपडी, बोक्सी, छुवाछुत, बालविवाह र सडक बालबालिका मुक्त गाउँपालिका निर्माणका विशेष कार्यक्रम संचालन गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको छ। त्यस्तै, एक विद्यालय एक फूलबारी एक खेलमैदान, एक पुस्तकालय, एक बुक कर्नर, बालमैत्री शौचालय र धारा, किशोरी आराम कक्ष र स्यानिटरी प्याडको ब्यवस्था गर्ने गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताएका छन्।

    भेरी नगरपालिकाले पनि सडकलाई नै प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षमा सडक गुरुयोजना निर्माण गर्ने लक्ष्य लिएको नगरले नयाँ सडक निर्माण नगर्ने भएको छ। जथाभावी खनिएका सडकलाई व्यवस्थित र स्तरोन्नति गर्ने नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए। प्रथम मेयर नि:शुल्क स्वास्थ्य घुम्ती शिविर संचालन, बालविवाह न्युनीकरण, घरेलु हिंसा अन्त्य, आयआर्जनमुलक कार्यक्रमका साथै पर्यटन विकास र प्रवर्द्धनलगायतका कार्यक्रममा समेत आवश्यक बजेट विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]