स्वास्थ्य

चितवनमा ५८ जनामा डेंगु, लामखुट्टेको लार्भा नष्ट गर्न अभियान

असार १२, २०७५

    चितवन : चितवन स्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको अगुवाइमा स्थानीय तहसँगको समन्वयमा उक्त अभियान थालिएको हो। 

    आगामी साउन, भदौबाट डेंगु रोगको प्रकोप बढ्नसक्ने भएकाले सचेतनामुलक कार्यक्रमसहित डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए।

    उनका अनुसार चितवनको भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकामा अभियान चलाइने छ । राप्ती र रत्ननगरमा अभियान सुरु भएको र कालिका नगरपालिकामा मंगलबारदेखि तथा भरतपुरमा बुधबारदेखि र खैरहनीमा आगामी बिहीबारदेखि अभियान सुरु हुँदैछ । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने यस पटक कार्यक्रम सञ्चालन भएको छैन।

    डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा तथा प्युपा नष्ट गर्ने अभियानअन्तर्गत सबै क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीेसहित करिब १५० जना खटिने छन्।

    पानी पर्ने समय र गर्मी मौसम समेत भएकाले डेंगु रोग यही समयमा बढी फैलने खतरा हुन्छ। त्यसैले रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले बताए। 

    रत्ननगर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ९, १०, १२, र १३ मा सोमबार ४० जना महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरु उक्त अभियानमा खटाइएको छ। अभियान तीन दिनसम्म चल्ने छ। यसअघि आइतबारदेखि राप्ती नगरपालिकामा समेत तीन दिने अभियान सुरु भएको छ। 

    कालिकामा आजदेखि अभियान 

    कालिका नगरपालिकामा मंगलबारदेखि अभियान सुरु भएको छ। अभियानका लागि कालिका नगरपालिकामा स्वास्थ्यकर्मी र टोल विकास संस्थाका प्रतिनिधिहरुलाई डेंगु रोग तथा यसबाट बच्ने उपायबारे अभिमुखीकरण कार्यक्रम गरिएको वडा नम्बर ६ का वडाध्यक्ष विनोद रेग्मीले जानकारी दिए।

    असार १२ देखि १४ सम्म कालिकामा सञ्चालन हुने लार्भा नष्ट अभियानमा १० जना महिला स्वास्थ्य स्वयंसेविका खटिंदै छन्। 

    स्थानीय सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष अर्जुन हुमागाईले भाँडामा जमेको पानीमा डेंगु सार्ने लामखुट्टे हुर्कने भएकाले यस्ता भाँडामा पानी जम्न दिन नहुने कुरा अभिमुखकीरणबाट थाहा पाएकाले अभियानमा टोलवासीलाई सक्रिय सहभागिता गराउने प्रतिबद्धता जनाए।

    भरतपुरमा असार १३ र खैरहनीमा १४ गते

    अभियान भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा ३० जना स्वायंसेवक खटाएर असार १३ देखि १५ सम्म तथा खैरहनी नगरपालिकामा असार १४ देखि १६ सम्म कार्यक्रम सञ्चालन हुने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

    खैरहनी नगरपालिकाको वडा नम्बर ६, ८ र ९मा  १८ जना स्वयंसेवक खटाइने छ। सो अभियानका क्रममा स्वयंसेवकहरुले घरघरमा गएर डेंगु रोग, यसको सर्ने कारण र सावधानी अपनाउने विषयमा जानकारी दिने, लामखुट्टेका लार्भा भए नभएको हेर्ने, फेला परेमा नष्ट गर्ने र पर्चा पम्प्लेट वितरण गर्ने नगरपालिकाले जनाएको छ।

    ५८ जनामा डेंगु

    चितवनमा चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार २९१ जनाको परीक्षणमा ५८ जनामा डेंगु रोग लागेको पाइएको छ। त्यसमध्ये ३२ जना चितवनवासी र बाँकी अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन्।

    यसअघि यो वर्ष चितवनमा उपचारका लागि ल्याइएका मकवानपुरका एक जनाको मृत्यु भएको जनाइएको छ। गत फागुनदेखि नदेखिएको डेंगु गत जेठमा एक जनामा फेला परेको छ। साउनदेखि कात्तिकसम्म डेंगु संक्रमण हुने जोखिम समय हो।

    मुुख्य गरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीको बताए। डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर कुनै पनि भाँडामा पानी जम्न दिन हुँदैन। 

    नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु देखिएको थियो। २०१० अर्थात् आर्थिक वर्ष २०६७÷६८ मा चितवनमा महामारी फैलिंदा पाँच जनाको मृत्यु भएको थियो। नेपालका ४९ जिल्लामा यो रोग देखिइएको छ। चितवनमा डेंगु परीक्षणको आवश्यक कीट समेत तयारी अवस्थामा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

    छैन उपचार

    डेंगु रोगको अहिलेसम्म उपचार पत्ता नलागेकाले लक्षणअनुसार चिकित्सकले उपचार गर्छन्। यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरुचि हुने, मांशपेशी दुख्ने, पेट गडबडी हुने लगायतका लक्षण देखिन्छ। 

    यसबाट बच्न पहिले त लामखुट्टेको टोकाइबाट बच्ने र घरवरपर सरसफाइ गरेर कुनै पनि भाँडामा पानी जम्न नदिनु हो। त्यसपछि पूरा ढाकिएको कपडा लगाउने, झुलभित्र सुत्ने, खाली भागमा मल्हम लगाउने, झ्याल ढोकामा जाली लगाउने जस्ता उपाए अपनाउनु पर्छ। 

नारायण ढुंगाना

पत्रकार ढुंगाना ०७५ असोजसम्म थाहाखबरका चितवन संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]