समाज

टिमुर खेतीमा किसानको आकर्षण, एक वर्षमा ३९ करोड रुपैयाँको बिक्री

साउन १, २०७५

    सल्यान : मनग्य आम्दानी हुने भएपछि सल्यानका किसानले व्यवसायिक टिमुर खेती सुरु गरेका छन्। यसअघि घरायसी प्रयोजनका लागि प्रयोग गर्दै आएका किसान टिमुरको व्यावसायिक खेतीमा लागेका छन्।

    स्थानीय सरकारले जडिबुटीको अनुसन्धान, विकास तथा खेतीअन्तर्गत टिमुरलाई प्राथमिकताको सूचीमा राखेपछि किसानहरु टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका हुन्। ग्रामीण क्षेत्रका किसानको जीवनस्तर उकास्ने अभियानका साथ जडिबुटीको व्यवसायिक खेती सुरु गरिएको छत्रेश्वरी गाउँपालिका–२ का वडध्यक्ष प्रेम खड्काले बताए।

    जडिबुटी नर्सरी स्थापनाका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको वडा कार्यालयले थप ५० हजार रुपैयाँ उत्कृष्ट जडिबुटी किसानलाई पुरस्कृत गर्न छुट्याएको खड्काले बताए।

    सल्यानको हावापानीले जडिबुटि खेतीका लागि उपयुक्त भएकाले आफु पनि जडिबुटी खेतीमा लाग्ने वडाध्यक्ष खड्काले बताउँछन्। जडिबुटी खेतीका लागि उनले एक बिगाह खेतमा खाडल खनेका छन्। ‘मेरो एक बिगाहा खेत मासेर जडिबुटी खेती गर्न भनेर खाडल खनेको छु।’ उनले भने, ‘कुरिलो या रोजमेरीमध्ये कुन खेती गर्ने भनेर जिल्ला वनस्पति कार्यालयका प्राविधिकसँग परामर्श गरिरहेको छु।’

    निगालचुलामा बारी र कान्लामा व्यवसायिक रूपमा टिमुरखेती हुने गरेको छ। यहाँका ४४३ घर परिवारले टिमुर खेती गर्दै आएका छन्। यस वर्ष मात्र यहाँका किसानले करिब तीन करोड रुपैयाँको टिमुर बिक्री गरेको स्थानीय गोविन्द डाँगीले बताए।

    टिमुरको महत्व नबुझ्दा बारीको डिलमा रहेका बोट फालियो तर अहिले आएर पछुतो लागेको छत्रेश्वरी गाउँपालिका–२ की कमला केसीले भनिन्। ‘औषधी हुन्छ भन्दै घरमै खानका लागि मात्र थोरै टिमुर भदौमा टिप्थ्यौ। वाँकी त्यतिकै खेर जान्थ्यो,’ उनले भनिन ‘अहिले एक दाना टिमुर पनि बोटमा रहन दिन्नन्।’ कुनै बेला टिमुरका बोटहरु फाँडेर सखाप वनाएकी केसी  अहिले भने व्यवसायिक टिमुर खेतीमा जुटेकी छन्।

    यस्तै, साउनेपानीका हिरालाल वलीले पनि व्यवसायिक टिमुर खेती सुरु गरेका छन्। उनी आफ्नो गाउँ अहिले टिमुरे गाउँ भएको बताउँछन्।

    सल्यानबाट आर्थिक वर्ष २०७४/७५ मा तीन लाख ५३ हजार ७०२ किलो टिमुर जिल्लाबाहिर निकासी भएको छ। जसबाट करिब ३९ करोड रुपैयाँ आम्दानी भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]