समाज

कालापानी सिँचाइ आयोजनाको बाँध फुट्ने खतरा, धस्सियो मुख्य बाँधको तारजाली

साउन १, २०७५

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ मा रहेको कालापानी सिँचाइ आयोजनाको मुख्य बाँधको तारजाली धस्सिएको छ। तारजाली धस्सिँदा बाँध फुटने खतरा बढेको छ। आयोजनाको हेडबक्सको उत्तरतर्फको बाँध क्षेत्रमा माटो हेलचेक्राइ गर्दा तारजाली भास्सिएको कालापानी जल उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण धानुकले बताए।

    आयोजना निर्माणमा सहयोग गर्दै आएको एसियाली विकास बैंकका प्रतिनिधिले बाँधको तारजाली धस्सिएको क्षेत्रमा पुनः कार्य गर्न भने पनि ठेकेदारले चासो नदिएको उनले बताए। बाँध निर्माण गरेको वर्ष दिन नपुग्दै तारजाली धस्सिएको हो। उनले भने, ‘वर्षातमा बाँध भत्किने खतरा छ। ठेकेदार बीचैमा काम छाडेर हिँडेको छ।’ स्वच्छन्द एडभाइजर ठेकेदार कम्पनीले आठ करोड ७६ लाख रुपैयाँमा सिँचाइ आयोजना निर्माणको ठेक्का लिएको हो। 

    सिँचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख डम्मरप्रसाद धितालले बाँधको तारजाली धस्सिएको ठाउँमा समय नपुगेर बनाउन नसकिएको बताए। उनले भने, 'बस्तीतर्फ कटान हुन्छ कि भन्ने हो, दुई तीन ठाउँमा ठेकेदारको कार्य गर्न बाँकी छ। अर्को वर्ष बन्छ।’ ठेकेदारले आयोजनाको पूर्वतर्फका चार वटा र पश्चिमतर्फका पाँच वटा आउटलेट समेत निर्माण नगरेको उपभोक्ता समितिको आरोप छ। 'उपभोक्ताले बनाउने हो भनेर छाडेर गएको छ,' उपभोक्ता समितिका कोषाध्यक्ष कालु सिंह ठगुन्नाले भने, ‘कुन काम उपभोक्ता समितिले गर्ने हो, कुन ठेकेदारले गर्ने हो भन्ने अन्यौलता छ।’

    आयोजना निर्माणको कार्यको समयावधि सकिनै लागेको भए पनि अहिलेसम्म निर्माण कार्यको स्टिमेटसम्म हेर्न नपाएको उनको भनाइ छ। ठेकेदारले काम पूरा नगरिकनै भुक्तानी लिएर फुत्किने दाउमा रहेको उपभाेक्ताहरुकाे दावी छ। त्यसैले तत्काल छानबिन गरिनु पर्ने उपभोक्ता समितिका पदाधिकारीहरुको माग छ। सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाइए पनि स्टीमेट (लागत अनुमान) माग्दा तपाईलाई किन चाहियो भनेर हप्काउने गरिँदै आएको अध्यक्ष धानुकले बताए। उनले भने, ‘मुल नहरकै कार्य ठेकेदारले पूरा गरेको छैन। मर्मत गर्दा टालटुल मात्रै गरिएको छ। भुक्तानी रोक्नका लागि सिँचाइ डिभिजन कार्यालयलाई पत्राचार गर्दा समेत सुनवाइ भएको छैन।’

    बाँध क्षेत्रमा पानी रोक्न राखिएका ३२ वटा सिसी ब्लक गुणस्तरहीन भएको भन्दै तत्कालीन सिँचाइ डिभिजन प्रमुख धर्मकुमार न्यौपानेले रोक्न लगाएका थिए। पछि न्यौपानेसँगको मिलोमतोमा ठेकेदारले रातारात ब्लक राखेको उपभोक्ता समितिका पदाधिकारीको दावी छ।

    'आयोजना निर्माणको कार्य गुणस्तरहीन भएकाले छानबिनको माग अघि सारेका छौं,' अध्यक्ष धानुकले भने, ‘उपभोक्ता समितिलाई हालसम्म स्टीमेट नदेखाउनुले पनि केही अाशंका छ। स्टीमेटमा महाकाली नदीको बालुवा, गिट्टी प्रयोग गर्नुपर्ने उल्लेख भएको सुने पनि स्थानिय खोलाकै सामग्री प्रयोग भएको छ।’ आयोजनाका ठाउँठाउँमा ह्युम पाइप बिछ्याउने कार्म समेत भएको छैन।

    आयोजनामा उपभोक्ता समितिले ९० लाख रुपैयाँभन्दा बढीको श्रमदान गरेका छन्। उपभोक्ता समितिका पदाधिकारीहरुले ठेकेदारले उपभोक्तासँग निर्माणका लागि कुनै छलफल नै नगरी सोझै सिँचाइ डिभिजन कार्यालयसँग सम्पर्क राखी भुक्तानि लिँदै आएको छ।  स्वच्छन्द निर्माण एडभाईजर कार्यालयका ठेकेदार चन्द्र शेखर मल्लसँग सिँचाइ आयोजनाबारे पटकपटक जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]