राजनीति

हवाई दुर्घटनाकाे बिमा रकम नेपाली र विदेशीलाई बराबर : मन्त्री अधिकारी

सौराहा-पोखरा सुविधायुक्त पर्यटकीय बस सेवा सुरू

साउन १, २०७५

    चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताएका छन्। नेपाली र विदेशी हवाइयात्रुले पाउने इन्सुरेन्सको वीमा रकम फरक फरक भएकोमा अब भने बराबरी हुने गरी सोमबारको मन्त्रिपरिषदबाट पास भएको मन्त्री अधिकारीले जानकारी दिए।

    चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ कार्यक्रममा उने यस्तो जानकारी गराएका हुन्। 'दुर्घटना विमाको विषय साेमबार क्याविनेटबाट पास भएको छ। अब संसदमा प्रस्तुत हुने छ र नेपाली र विदेशी सबैले बराबर ईन्सुरेन्स पाउने छन्। यो धेरै खुसीको कुरा हो' मन्त्री अधिकारीको भनाई थियो। उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले  ३० लाख र विदेशीले  एक करोड ५० लाख पाउँदै आएका थिए। 

    नेपालको एयरपोर्ट र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब यूरोपियन यूनियनले अझै हटाउन बाँकी रहेकोले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिए। उनले नेपालमा जहाजको रुट समेत बढाएर ८ स्थानमा पुर्‍याएको समेत जानकारी गराए। अर्काे २० दिनपछि नेपालमा अर्काे जहाज आउने भन्दै नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रम समेत तीब्र पारिएको जिकिर गरे।

    मन्त्री अधिकारीले सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्नतर्फ लाग्न सबैलाई आव्हान गरे। नेपालमा एक करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाई छ। उनले विमानस्थल बनेपछि पर्यटन विकासमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे। आगामी एक वर्षमा लुम्बिनी, ३ वर्षका पोखरा र ५ वर्षमा निजगढ विमानस्थल बन्ने दावी गर्दै मन्त्री अधिकारीले सन् १९९८ मा राखेको लक्ष्य अहिले मात्रै पूरा हुनु दुखद रहेको बताए।

    नेपालको हुम्ला सिमिकोट, पोखरा, काठमाडौं, भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको उनले जानकारी गराए। भरतपुर विमानस्थलमा अग्ला घर भएकाले केही समस्या रहेको भन्दै नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भैरहेको दावी गरे। उनले भने, 'सो विषयमा एक डेढ महिनामा केही नतिजा आउँछ।'

    चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट एक दिनको लागि मात्रै भएकाले त्यसलाई तीनदिनसम्म पुर्‍यानुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको भन्दै सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिइसकेकाले काम गराएर छाड्ने मन्त्री अधिकारीको जिकिर छ। कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले चितवनको सौराहा बसपार्क निर्माणका लागि कम्तिमा ५० लाख रुपैयाँ संघीय सरकारबाट सहयोग हुने घोषणा गरे। सौराहाबाट काठमाडौंमा अत्याधुनिक सेवासहितको बस सञ्चालनसँगै पर्यटन विकासमा टेवा पुग्ने उनको भनाई थियो। 

    चितवन पर्यटनको केन्द्रविन्दु रहेको उनको कथन थियो। 'पोखरा, सौराहा जोडियो, अब पोखरा, लुम्बिनी र सौराहा जोड्नुपर्छ,' मन्त्री अधिकारीको भनाई छ।नारायणी र कोशीमा पानी जहाज सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिंदै उनले नारायणीमा जहाज सुरु भएपछि नदी किनार अर्काे आकर्षक पर्यटकीय गन्तव्य हुने उल्लेख गरे। कार्यक्रममा प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पर्यटकीय वस सञ्चालनसँगै सौराहा र पोखराको सम्बन्ध थप विस्तार भएको भन्दै यस्ता गतिविधि सातै प्रदेशमा सञ्चालन हुनसके सरकारको समृद्धिको नारा सार्थक हुने बताए। 

    प्रदेशसभा सदस्य गीता वाग्लेले बस सेवालाई नाफासँग नजोडी उत्कृष्ट सेवा दिन सुझाव दिइन्। नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, पोखरा जगदम्बा प्रालिका धर्मराज अधिकारी लगायतले समेत बोलेका थिए।

    पोखरा जगदम्भा ट्राभल्सद्वारा मंगलबारबाट सञ्चालित उक्त बसमा मिनी बारसहित यात्रुलाई खाजा र खाना, चिया कफी, पेय पदार्थको सेवा समेत उपलव्ध छ। प्रति यात्रु एकहजार ५०० टिकट रहेको उक्त एसी बसमा वाइफाई समेत रहेको पोखरा जगदम्बा ट्राभल्स प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए। यस अघि काठमाडौं-पोखरा सेवा दिंदै आएको कम्पनीले आगामी भदौ १ बाट पोखरा-लुम्बिनी समेत बस सेवा सुरू गर्ने उनले बताए। 

नारायण ढुंगाना

पत्रकार ढुंगाना ०७५ असोजसम्म थाहाखबरका चितवन संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]