राजनीति

आफ्नैसँग असन्तुष्ट प्रधानमन्त्री ओली

'नेकपामा बोल्न-लेख्न जान्ने मान्छे कोही छ जस्तो लाग्दैन'

साउन १, २०७५

    काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता कार्यकर्तासँग गुनासो पोखेका छन्। पछिल्लो समय नेपाली कांग्रेस, नागरिक समाज, पेशागत संघ संगठनले सरकारलाई चौतर्फी आलोचना गरेको र त्यसको प्रतिरोधमा पार्टी नउत्रिएको भन्दै ओलीले असन्तुष्टि जनाएका हुन्।

    पार्टी मुख्यालय धुम्बराहीमा पार्टी कार्यकर्ताहरूसँगको नियमित भेटघाटको उद्घाटन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलोपटक एकल सरकार निर्माण गरेको अवस्था रहेको बताए। चुनावको माध्यमबाट कम्युनिस्ट पार्टीले सरकार निर्माण गरेको अवस्थामा पनि संसद र सडकबाट चौतर्फी आक्रमण भइरहेका बेला पार्टी नेताहरूको चुप्पी कसाइप्रति उनको असन्तुष्टि थियो। उनले नेकपाको स्थानीय तह र प्रदेश सरकारमा पनि असाधारण बहुमत भएकाले डराउने अवस्था नभएको बरु यो शक्तिलाई पार्टीले बुझ्नुपर्ने अवस्था आएको बताए।

    'विपक्षीले हाम्रो शक्ति बुझ्दा आफ्नैले बुझेनन्'

    पछिल्लो समय माइतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने, डा. गोविन्द केसीको जीवनरक्षा र चिकित्सा शिक्षा विधेयकबारे प्रतिपक्षी सडकदेखि सदनसम्म आन्दोलनमा छ। दिनदिनै सडकमा उसका कार्यकर्ता प्रदर्शन गरिरहेका छन् भने सदन अवरूद्ध भएर चल्न नसक्ने अवस्थामा रहेको छ।

    यसैबीच नेकपाको सचिवालय बैठक सकेर कार्यक्रम तय गरेको समयभन्दा झन्डै दुई घण्टापछि पुगेका ओलीले जनताले दिएको अभिभारा नेकपाका नेता कार्यकर्ताले पूरा गर्नुपर्ने अवस्था आएको बताए। उनले जननिर्वाचित सरकार चलाइरहेको नेकपाका नेताले शक्ति नबुझेको दुखेसो पोखे। उनले भने, 'हामीले जति बुझेका छौँ हाम्रो सफलतालाई त्योभन्दा बढी यतिबेला हेर्दा हाम्रो विरोधीहरूले, जनताको शासन नहोस् भन्ने जनताका वैरीहरूले, सामाजिक न्याय र समानतातर्फ समाज र देश नजाओस् भन्ने असमानताका पक्षधरहरूले र संकीर्ण खालको राजनीतिक स्वार्थको घेराभित्र आफ्नो उद्देश्यहरूलाई सीमित गर्ने त्यस्ता तत्वहरूले बढी बुझेका छन् जस्तो देखिन्छ।'

    सुन्नुहोस्, प्रधानमन्त्री ओलीको पूर्ण मन्तव्य:

    विरोधीहरू एकजुट भएर आएका तर विषय भने नपाएका उनको दाबी थियो। उनले अहिलेको अव्यवस्था वर्तमान सरकारले ल्याएको नभएर विगतको सरकारको कार्यहरूको फल भएको बताए। 'उनीहरू हाम्राविरुद्ध सब एकजुट भएर कराएका छन्। उधुमसँग हल्ला मच्चाएका छन्। कुनै विषय पाएका छैनन्,' उनले भने, 'अहिले बनाएका बाटा होइन उहिलेदेखि भत्किएका बाटाहरू अहिले भर्खर बनेको सरकारलाई बाटा भत्किएका छन् भनेर तमासा गरेका छन्। अहिले हामीले खाल्टो पारेको होइन।' उनले वर्तमान सरकारले पाँच महिनाको अवस्थामा खाल्टा पुर्न नभ्याएको र त्यसका लागि समय लाग्ने बताए। उनले छोटो अवधिमा केही गर्न नसकेको प्रस्‍ट पारे।

    'नेकपामा बोल्न-लेख्न जान्ने मान्छे कोही छ जस्तो लाग्दैन'

    प्रधानमन्त्री ओलीका कार्यक्रममा ताली नबजेको बिरलै हुन्थ्यो। ओलीका शब्दपिच्छे हाँसोको फोहोरा छुट्थे। तर, मंगलबारको उक्त पार्टी कार्यकर्ता भेटघाट नाम दिइएको कार्यक्रममा भने ताली बजेन न त ओलीका शब्दमा कोही धक फुलाएर हाँसे। ओलीले पनि विपक्षीमाथि प्रहार गर्ने र विकास एवं समृद्धिका सपना देखाउने भाषण गरेनन्। बरु, आफ्नै नेता कार्यकर्ताले सरकारको रक्षा नगरेको र विपक्षी बलियो भएको भन्दै रोष पोखिरहे।

    विरोधीहरू जहाँको त्यहीँबाट आक्रमणमा उत्रिएको उनको भनाइ थियो। 'विरोधी जो जहाँ छ त्यहाँबाट आक्रमण भएको तपाईंहरूले देखिरहनुभएको छ,' उनले आफ्नो पार्टीका नेताहरूसँग रोष पोख्दै भने, 'हामी मानिलिउँ यत्रो परिवर्तन ल्याउने जनमत ल्याउने पंक्तिमा कोही लेख्ने मान्छे छ नै जस्तो लाग्दैन, कसैले लेखेको छैन। कोही बोल्न जान्ने मान्छे छ जस्तो पनि लाग्दैन, कसैले बोल्या सुनिँदैन।'

    उनले सरकारले राम्रा काम गरेको र तिनको प्रतिरक्षा नभएको बताए। उनले भने, 'जुन नीति लिएका छौँ ती नीति बराबर नेपालले कहिले पनि त्यति प्रगतिशील जनपक्षीय त्यति विकासमुखी नेपालले देख्या छैन। ती नीतिहरू हामीले ल्याएका छौँ तर त्यसको समग्रमा चर्चा छैन।'

    'बुर्जुवालाई लिएर नेकपाका कार्यकर्तालाई मार्क्सवाद पढाउने पार्टीविरोधी'

    नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको तारोमा आए मार्क्सवादी अध्ययनमा कांग्रेसका सांसदसमेत रहेका नेता प्रदीप गिरिलाई लिएर मार्क्सवादी प्रशिक्षण चलाउने नेकपाका नेताहरू।

    पार्टीमा एकताको आग्रह गर्दै ओलीले पार्टीमा असाधारण एकताको भावना देखिएको बताए। दुई पार्टीबीचको एकतालाई पूर्णता दिएर महाअभियानमा जुट्ने बताइरहँदा उनले एक पक्षप्रति भने व्यापक असन्तुष्टि पोखे।

    कुनै नेताको नाम नलिइकन उनले भने, 'केही केही व्यक्तिहरू हुन्छन् जति सफलता प्राप्त भए पनि गरे पनि, आन्दोलनलाई जति माथि उठाए पनि कहिल्यै पार्टीको पक्षमा नबोल्ने, पार्टीका नीतिको पक्षमा नबोल्ने,' उनले थपे, 'यहाँ भएन, त्यहाँ भएन, यहाँ मिलेन, त्यहाँ मिलेन भनिरहने। मार्क्सवादका नाउँमा मार्क्सवाद पढाउने भनेर विश्वविद्यालयमा पढाउँछन् नि, बुर्जुवाहरूले मार्क्सवाद, त्यसै गरेर मार्क्सवाद पढाउने भनेर बुर्जुवा खेमाका आन्दोलनविरोधी, यो आन्दोनल प्रतगतीशील आन्दोलन प्रगतिवादी आन्दोलनविरोधी, जमघट गराएर तिनबाट प्रशिक्षण लिइरेका छन्।'

    ओली यत्तिमै रोकिएनन्, उनले प्रश्न गरे, 'मार्क्सवाद पढाउने मार्क्सवादीहरू सिद्धिए?' उनले गैरमार्क्सवादीहरूबाट यसरी प्रशिक्षण दिँदा कहिल्यै पनि पार्टी, आन्दोलनलाई समर्थन नहुने र पार्टी र आन्दोलनले उचाइ नलिने बताए। उनले पार्टीको प्रगतिमा चित्त दुखाउने, खुसी पनि नहुने, सधैँ दिक्क मान्ने र सधैँ दुखित हुनेहरूले यस्तो गरिरहेको बताए।

    'तास फिटेजस्तो गफ पिटेर, घुर्की हाँकेर आन्दोलनको अपमान गर्ने मार्क्सवादको अपमान गर्ने? त्यस्ता प्रवृत्तिहरू पनि हुन्छन्?' यी प्रश्नसँगै उनको आग्रह थियो, 'म साथीहरूलाई भन्न चाहन्छु, त्यस्तो प्रकारका प्रवृत्तिहरूका पछाडि, गफाडी प्रवृत्तिहरूका पछाडि लाग्नुपर्ने जरुरी छैन हामीले।'

    उनले त्यस्तो प्रवृत्ति भएका व्यक्तिहरूले चुनावमा गठबन्धन गरेर गएको पनि मन नपराएको बताए। उनले पार्टीका कार्यकर्तालाई एकताका पक्षमा लाग्न र त्यस्ता प्रशिक्षणमा नजान संकेत गरेका थिए।

    'नेकपाका नेता/कार्यकर्ताविरोधीका स्टाटस ग्रन्थ पढेझैँ पढिरहेका छन्'

    प्रधानमन्त्री ओलीले सरकारलाई अधिनायकवादी भन्ने, काम गरेन भन्ने सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पाइएको भन्दै तिनका प्रतिरोधमा लेख्नु र बोल्नुपर्ने बताए। उनले भने, 'हाम्रा साथीहरू जो जहाँ छन् त्यहाँ बोल्नुपर्‍यो लेख्नुपर्‍यो। विभिन्न समाजिक सञ्जालहरूमा देखिन्छन् आन्दोलनका विरोधीहरू चम्किएका छन्।'

    उनले त्यस्ता विरोधका स्वर जनतामा गएर भ्रम फैलिएको भन्दै सही गर्नतिर लाग्नुपर्ने बताए। उनले पार्टी नेताहरूले प्रतिरोध नगरेकोमा पनि असन्नुष्टि पोखे, 'आन्दोलनका पक्षधरहरू चुपचाप छन्। विरोध पढेर बस्छन्। मानिलिऊ त्यो पवित्र ग्रन्थ हो। त्यसको खण्डनमा मैदानमा उत्रिँदैनन्। यो राम्रो लक्षण हुँदै होइन।'

    'अन्तिममा मार्सी चामलको भात…'

    पछिल्लो समय प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डको एक मेडिकल व्पापारीसँग भात खाइरहेको फोटोलाई लिएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको विषयलाई जोडेर ओली र प्रचण्डको व्यापक विरोध भइरहेको छ। त्यसमा ओलीको प्रस्टोक्ति थियो, 'विद्वानहरूका मैले लेख हेरे। एउटा चिनजान मान्छेकोमा पुगियो, खाना खायौँ हामीले, मेरो नाता पनि पर्छ।'

    उनले भने, 'कुन चामल हो त्यो सोधिएन। त्यो खासै बासमती मसिना जस्तो लागेन। मोटो मोटो थियो। के चामल हो त्यो चामलका नाम थर गोत्र वंशावली खोजेर हिँड्नपर्छ जस्तो लागेन। अहिले बुद्धिजीवीहरूको काम के छ भने मार्सी चामलको भात!'

    उनले आफूले ६० हजारको पानी खाएको भन्ने हल्ला फैलाएको प्रति पनि आपत्ति जनाए। त्यो जनताको ध्यान अन्त लान खोजिएको बताए। त्यसका लागि जनतालाई भड्काउने र विकास, गरिबी उन्मूलन, शिक्षित नेपाल महाअभियानबाट ध्यान अन्त मोड्ने काम भएको उनको आरोप थियो।

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]