अर्थ

प्रतिवद्धताको २८ प्रतिशत रकम मात्रै भित्रियो : एफडिआई

लगानी गर्न हौसिए स्वदेशी लगानीकर्ता

साउन १, २०७५

    काठमाडौं : आर्थिक वर्ष २०७४/०७५ मा उद्योग विभागमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)को प्रतिवद्धता रकम गत वर्षको तुलनामा झण्डै चार गुणा बढी आएको छ। स्वदेशी विदेशी जम्मा लगानीमा भने २० गुणा बढी प्रतिवद्धता आएको छ।

    आर्थिक वर्ष २०७३/०७४ मा १५ अर्ब २० करोड रुपैयाँको एफडिआई प्रतिवद्धता आएकोमा आर्थिक वर्ष २०७४/०७५ मा ५५ अर्ब ६४ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ।

    उद्योग दर्ताको संख्याको हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा पाँचवटा कम उद्योगमा लगानी प्रतिवद्धता आएको विभागका प्रवक्ता दुर्गा भुसालले बताए। गत आर्थिक वर्षमा ४०० उद्योगमा लगानी प्रतिवद्धता आएकोमा यो आर्थिक वर्षमा भने ३९५ उद्योगमा लगानीको प्रतिवद्धता आएको छ।

    यो तथ्यांकले साना र मझौलाभन्दा ठूला उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता आएको देखिएको छ। ­­­­­कृषि र वनमा आधारित उद्योगमा गत वर्षको तुलनामा लगानी प्रतिवद्धता घटेको छ भने गत वर्ष विद्युत क्षेत्रमा लगानीको प्रतिवद्धता नै नआएकोमा यस वर्ष ३६ अर्ब २५ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ। यो जम्मा एफडिआई प्रतिवद्धताको ६५ प्रतिशत हो।

    पर्यटन क्षेत्रमा पनि गत वर्षको तुलनामा लगानी प्रतिवद्धता घटेको छ। गत वर्ष पर्यटन क्षेत्रमा करिव छ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएकोमा यो वर्ष चार अर्ब १२ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको हो।

    उत्पादनमूलक उद्योगहरूमा भने गत वर्षको तुलनमा लगानी दोब्बर बढेको देखिएको छ। गत वर्ष तीन अर्ब ८२ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएकोमा यो वर्ष छ अर्ब ७६ करोड रुपैयाँको प्रतिवद्धता आएको छ।

    प्रतिवद्धता धेरै लगानी कम

    आर्थिक वर्ष २०७३/०७४ मा १५ अर्ब २० करोड रुपैयाँको लगानी प्रतिवद्धता आएकोमा नेपाल राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँ भित्र्याउने स्वीकृति दिएको थियो। यो प्रतिवद्धता आएको रकमको ८८ प्रतिशत हो।

    पछिल्लो आर्थिक वर्षमा लगानीको प्रतिवद्धतामध्ये ६५ प्रतिशत रकम ऊर्जा क्षेत्रमा देखिएको छ

    तर एकै आर्थिक वर्षमा लगानी प्रतिवद्धता र रकम भित्रिने नभए तापनि प्रतिवद्धता र लगानीको अनुपातमा ८६ प्रतिशत देखिएको हो।

    आर्थिक वर्ष २०७४/०७५ मा भने प्रतिवद्धता आएको रकमको तुलनामा लगानी आएको रकम जम्मा २८ प्रतिशत रहेको छ। कुल ५५ अर्ब ६६ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएकोमा राष्ट्र बैंकबाट ११ महिनासम्मा १५ अर्ब ८६ करोड रुपैयाँ रकम भित्र्याइएको छ।

    नयाँ सरकार आएपछि वैदेशिक लगानी कम भित्रिएको तथ्यांकले देखाएको छ। अघिल्लो सरकारको पालामा साढे १४ अर्ब रुपैयाँ लगानी भित्रिएकोमा पछिल्लो चार महिनामा जम्मा साढे एक अर्ब रुपैयाँ लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

    ऊर्जामा चासो

    पछिल्लो आर्थिक वर्षमा लगानीको प्रतिवद्धतामध्ये ६५ प्रतिशत रकम ऊर्जा क्षेत्रमा देखिएको छ। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाहमा पनि बढी रकम ऊर्जा क्षेत्रमा देखिएको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जनाए। थापाका अनुसार यो अविधमा ऊर्जा क्षेत्रमा सात अर्ब १२ करोड रुपैयाँको लगानी आएको छ। ऊर्जामा लगानी बढाउनेमा चिनियाँ पक्ष बढी रहेको छ। यो अविधमा आठ ऊर्जा क्षेत्रमा लगानी प्रतिवद्धता आएकोमा पाँचवटामा चीनबाट लगानी आएको राष्ट्र बैंकको तथ्यांक रहेको छ। बाँकी तीनवटामा भने दक्षिण कोरिया, भारत र सिंगापुर रहेको छ।

    स्वदेशी लगानी प्रतिवद्धता उल्लेख्य बढ्यो

    आर्थिक वर्ष २०७३/०७४ मा उद्योग विभागमा आएको लगानी प्रतिवद्धतामध्ये स्वेदशी लगानीको प्रतिवद्धता ०.६७ प्रतिशत रहेको थियो, जसअनुसार १६ खर्ब ३१ अर्ब रुपैयाँको लगानी प्रतिवद्धतामा स्वेदेशी लगानीको प्रतिवद्धता एक खर्ब ११ अर्ब रुपैयाँ मात्रै रहेको थियो।

    आर्थिक वर्ष २०७४/०७५ मा भने यो तथ्यांक करिव उल्टो देखिएको छ। उद्योग विभागमा आएको लगानीको प्रतिवद्धतामध्ये स्वदेशी लगानीको प्रतिवद्धता प्रतिशत ८४ रहेको छ भने विदेशी लगानीको प्रतिवद्धता १६ प्रतिशत रहेको छ।

    जम्मा तीन खर्ब ५० अर्ब रुपैयाँको लगानी प्रतिवद्धतामा स्वदेशी लगानीको प्रतिवद्धतामा स्वदेशी लगानी प्रतिवद्धता दुई खर्ब ९४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने विदेशी लगानी प्रतिवद्धता ५५ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]