काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
जाजरकोट : कुशे गाउँपालिका–१ पाँचकाटियालाई वरिपरिका मानिसहरुले ‘आलुगाउँ’ भन्न थालेका छन्। यहाँका नागरिकले आलु खेतीबाट लाखौं रुपैयाँ आम्दानी गर्न थालेपछि आलु उत्पादनमा अग्रणी उक्त गाउँको नाम नै आलुगाउँ भएको हो।
दुई हजार मिटरको उचाइमा रहेको पाँचकाटियाका किसानले ५०० रोपनी जमिनमा आलु खेती गर्दै आएको स्थानीय कर्णबहादुर थापा बताउँछन्। उनीहरुले स्थानीय जातको आलु खेती गर्दै आएका छन्। स्थानीय जातका भएकाले उत्पादित आलु बिक्रीमा कुनै समस्या नभएको थापाको भनाइ छ । ‘उत्पादनमा समस्या छ तर बिक्री गर्न गाह्रो छैन,’ उनले भने, ‘व्यापारी तथा उपभोक्ता पाखोबारीमै पुगेर आलु किन्छन्।’ यस क्षेत्रमा सिँचाइ सुविधा नभएकाले ओखर, फलफूल र आलुबाहेक अन्य खेतीको नहुने थापाले बताए।
यहाँ वर्षमा दुई पटक आलु उत्पादन हुन्छ। माघमा लगाएको आलु असार पहिलो सातासम्म उत्पादन भएर बजारमा जाने गरेको कृषक निमबहादुर ओलीले बताए । उक्त आलुलाई बर्खे आलु भनिन्छ। बर्खे आलु गाउँमै प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुने उनको भनाइ छ।
बजारमा पाइने हाइब्रिड जातभन्दा यहाँको आलुको स्वाद मीठो हुने भएकाले माग बढी भएको किसानहरु बताउँछन्। तर, यातायातका साधन आवतजावत गर्न सक्ने सडक नहुँदा उत्पादित आलुलाई बजारसम्म पुर्याउन समस्या हुने गरेको उनीहरुको गुनासो छ। यहाँ उत्पादित आलु सदरमुकाम खलंगा, थलहबजार, बाटुलेबजार, सुर्खेत र नेपालगन्जसमेत लगिने गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।