फिचर

हरेक बिहान नमाज पढ्छु : डा. मनोरद्दिन सैयद

साउन २, २०७५

    काठमाडौं : डा. मनोरद्दिन सैयद स्त्री रोग उपचारका क्षेत्रमा सक्रिय युवा चिकित्सक हुन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालबाट छात्रवृत्ति पाएर स्त्री तथा प्रसूति रोगमा एमडी गरेका उनी सीतापाइलामा रहेको मनमोहन अस्पतालमा कार्यरत छन्।

    सैयद पहाडी मुस्लिम समुदायबाट मेडिकल क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने थोरै चिकित्सकमध्ये पर्छन्। स्त्री रोगसम्बन्धी रोगको उपचारमा अस्पतालमा मात्र बसेर नभई बेलाबेलामा ग्रामीण भेगका महिलाहरूको उपचारमा शिविर लिएर उपचार गर्न पुग्छन्। अरू बेला बिहानदेखि बेलुकीसम्मै बिरामीसँगै रहने डा. सैयदको दैनिकी निकै व्यस्त हुने गर्छ। यस्तो व्यस्त दैनन्दिनमा पनि आफूलाई कसरी व्यवस्थापन गर्छन् भन्ने विषयमा डा. मनोरद्दिन सैयदसँग थाहाखबरकर्मी सविना खनालले गरेको कुराकानीमा अाधारित सामग्री–

    हरेक बिहान नमाज पढ्छु

    म हरेक दिन ५ बजे उठिसकेको हुन्छु। उठ्नेवित्तिकै एक गिलास तातो पानी खान्छु र नुहाइ धुवाइ सक्नेवित्तिकै १० मिनेटजति नमाज पढ्छु। म व्यायाम गर्नै भनेर घरबाहिर निस्कन्न तर नमाज पढिसकेपछि केही मिनेट घरभित्रै सामान्य एक्सरसाइज गर्छु।

    यति बेलासम्म ७ बजिसकेको हुन्छ। यसपछि म ब्रेकफास्ट लिन्छु। ब्रेकफास्टमा प्राय: सिजनअनुसारको फलफूल, अण्डा, दूध र फिका चिया खान्छु। ब्रेकफास्ट खाइसकेपछि केही समय छोराहरूसँग समय बिताउँछु। करिब साढे ८ बजेतिर घरबाट निस्कन्छु। घर छेवैको क्लिनिकमा पनि म बस्ने भएपछि एक पटक त्यहाँ पुग्छु। करिब ९ बजेसम्म म अस्पताल आइसकेको हुन्छु। अस्पताल पुगेर सबैभन्दा पहिले त्यो दिनको सेड्युल हेर्छु। अघिल्लो दिन अपरेसनका लागि तयार गरिएका बिरामीको अपरेसन गर्नतिर लाग्छु। अपरेसन रहेनछ भने ओपिडीमा बस्छु।

    'घरबाहिर कहिल्यै माछा मासु खाँदिनँ'

    अपरेसन रहेछ भने मेरो बिहानको खाना खाने समय केही तलमाथि हुन्छ। नभए हरेक दिन बिहान ११ देखि १२ बजेको समयमा म खाना खाइसक्छु। बिहानको खाना भने म अस्पतालकै क्यान्टिनमा खान्छु। साधारण नेपाली खाना नै मलाई मनपर्छ। तर हरियो सागसब्जी, पापड र दही भने खानामा प्राय: टुट्दैन। म माछा मासु भने घरभन्दा बाहिरको खाँदिनँ। म मुस्लिम समुदायको भएकाले हलाल गरेको मासु खानुपर्छ। यो बाहिर जहाँ पायो त्यहाँ नपाइने भएकाले घरबाहिर म मासु खाँदिनँ। खानामा आलु र कार्बोहाइड्रेट पनि धेरै कम खाने गर्छु।

    बिहानको खाना खाइसकेपछि १० मिनेटजति अस्पतालमै रहेको आफ्नो रुममा एकछिन आराम गर्छु र फेरि बिरामीको सेवामा लाग्छु। बेलुकी निस्कनुभन्दा पहिले अघिल्लो दिन या बिहान अपरेसन गरेका बिरामीहरूको एक पटक राउण्ड लिएर करिब ४ बजेतिर म अस्पतालबाट निस्कन्छु। बेलुकी ४ बजेदेखि करिब डेढ घन्टासम्मको मेरो समय भनेको साथीभाइसँग भेटघाट गर्ने हो। ६ बजे म घर नजिकैको क्लिनिकमा एक घन्टा बस्छु। घर पुगेर एकछिन आराम गर्छु। ८ बजे बेलुकाको खाना खान्छु। बेलुकाको खानामा प्राय: मासु र रोटी छुट्दैन। खाना खाएर एकछिन टिभी हेरिसकेपछि केही बेर पढ्छु। करिब ११ बजे म सुतिसकेको हुन्छु।

    'हरेक शुक्रबार मस्जिद जान्छु'

    म इस्लाम धर्म मान्ने भएकाले हरेक शुक्रबार १ बजे प्रार्थनाका लागि परिवारसहित मस्जिद जान्छु। अरू दिन घरमै प्रार्थना गर्ने बानी छ। सातामा प्राय: सातै दिन व्यस्त भइन्छ। यसले गर्दा घर परिवार र आफन्तलाई समय दिन भ्याउँदिनँ। सकेसम्म समय दिने प्रयास गर्छु। वर्षमा एक दुई पटक कार्यक्रम मिलाएर विदेश जान्छु। नेपालको त स्वास्थ्य शिविरहरूमा जाँदा नै धेरै जिल्ला घुमिसकेको छु।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]