समाज

गुठीसँगको माग पूरा नभएपछि ङातापोलको गजुरमा फहरिएन पताःचा

साउन २, २०७५

    भक्तपुर : तीनसय वर्ष पहिलादेखि पतःचा राख्ने जिम्मेवारी वहन गर्दै आएका तुछिमलाका अवालहरूले मागअनुसारको बजेट नदिएपछि ङातापोल (पाँचतले) मन्दिरको गजुरमा राखिँदै आएको पतःचा (ध्वजा) यो वर्ष सबभन्दा तल्लो छानामा राखिएको छ।

    गुठी संस्थानसमक्ष बीस हजार रुपैयाँ र सुरक्षा बन्दोबस्त माग गरेकोमा जम्मा पाँच हजार रुपैयाँ मात्र दिएको भन्दै सांस्कृतिक कार्यको समन्वय गर्दै आएको तुछिमला टोल सुधार समितिले गजुरमा राख्नु पर्ने पतःचा सबभन्दा तल्लो छानामा राखेको हो। ङातापोलको जन्मदिन मानिने असार प्रतिपदाको दिन पतःचा राख्ने परम्परा छ।

    तुछिमलाका स्थानीय बासिन्दा तथा वडासदस्य सिद्धिराम अवालले ङातापोलको छानामा गएर पतःचा राख्नु जोखिमपूर्ण भएकोले त्यहाँ जान सुरक्षा व्यवस्था गर्न र प्रतिव्यक्ति कम्तीमा एक हजार रुपैयाँको बन्दोबस्त गर्न माग राखेको बताए।

    ‘गजुरमा गएर पताःचा राख्न एकदमै जाखिम छ, भुइचालोले गर्दा झन् त्यसमा समस्या देखिएको छ। आवश्यक केही बन्दोबस्त छैन। ज्यानै जोखिममा राखेर को जान्छ त्यहाँसम्म। सुरक्षाको व्यवास्था गरिदिए पहिलेजस्तै यो परम्परा धान्न हामी तयारी छौँ’ उनले भने।

    गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले विगतका वर्षहरूमा पतःचा राख्नका खाजा खर्चस्वरूप केही रकम दिंदै आएको बताए। उनले पताःचा राख्न अघिल्लो वर्ष चार हजार रुपैयाँ दिएमा यो वर्ष थप एक हजार गरी पाँच हजार रकम उपल्बध गराएको जानकारी दिए।

    ‘पहिला यसको लागि गुठी संस्थानले बजेट दिने व्यवस्था थिएन। केही वर्षदेखि परम्परा जोगाउनुपर्छ भनी गुठीले खाजा खर्चस्वरूप दुईचार हजार दिने व्यवस्था मिलाउँदै आएका थियौँ। यसको जिम्मा तुछिमला टोलको अवाल समुदायको हो। हामीले त उहाँहरूलाई परम्परा कायम राख्न केही सहयोग गर्ने मात्र हो। उहाँहरूले माग गरेको बजेट गुठीले व्यहोर्न सक्दैन। हामीसँग पैसा माग्न आउँदा गजुरमै पतःचा राख्ने भन्नुभएको थियो। पछि किन तल्लो तल्लामा राख्नुभयो थाहा भएन।’

    प्रमुख सुवेदीले पतःचा राख्ने दिन विदाको दिन भएकाले आफू जान नसकेर  कार्यालयकै एक कर्मचारीलाई साथी पठाएको जानकारी दिए। ‘मलाई पनि थाहा थिएन, पछि कार्यालयका कर्मचारी साथीमार्फत थाहा पाएको हो। साथीले सोध्दा माथि जान जोखिम भएकाले यही राखेको भन्ने जानकारी पाएँ’ प्रमुख सुवेदीले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]