अर्थ

कर उठाउने जिम्मा ठेकेदारलार्इ दिएको विरोधमा बजारमा पानी पठाउन बन्द

साउन २, २०७५

    भक्तपुर : चाँगुनारायण नगरपालिकाले खानेपानीका बोटल र जारमा लगाएको कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिएको विरोधमा व्यवसायीहरूले मंगलबारदेखि बजारमा पानी पठाउन बन्द गरेका छन्। उनीहरूले आफूहरू कर तिर्न तयार भएको तर कर नपा स्वयम्ले उठाउनु पर्ने माग राखी बजारमा पानी पठाउन बन्द गरेका हुन्।

    नपाले व्यवसायीको मागविपरीत पानीको कर उठाउने जिम्मा ठेक्कामार्फत भगवती कन्स्ट्रक्सनलाई दिएको छ। नपाले पानीमा प्रति जार एक रुपैयाँ र प्रति बोटल दश पैसा कर लगाएको छ। 

    चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले टेण्डर आह्वान गर्ने नपाको जिम्मा रहेको बताए। ‘कर उठाउन दिने जिम्मा कसलाई दिने कसलाई नदिने त्यसको निर्णय नपाले गर्ने हो, पानी व्यवसायीले होइन। के गर्दा बढी कर उठ्छ, के गर्दा सजिलो र कम खर्च हुन्छ त्यो नपाले गर्ने निर्णय हो’ उनले भने।

    प्रमुख मिश्रले ‘प्रक्रियाअनुसार विभिन्न निकायको प्रतिनिधिहरू राखेर छलफल गरी उपप्रमुखको संयोजकतत्वमा गठन गरिएको परामर्शको आधारमा नगरसभाबाट पास गरी प्रकृयागत ढंगबाट नपाले टेण्डर आह्वान गरेका हो। पहिला उहाँहरूले जे पायो त्यहि गर्नुभयो, अहिले उहाँहरूले ठेक्का हाल्नुभयो तर परेन आफूले नपाएपछि अरूले पाएपछि विरोध गर्दै बजारमा पानी पठाउन बन्द गरेको हो।’

    स्थानीय तहलाई सिधै आम्दानी हुने क्षेत्र ठेक्कामार्फत निजी कम्पनीलाई नदिन पटकपटक नपाको ध्यानाकर्षण गरेता पनि सुनुवाई नभएकोले विरोधस्वरूप व्यवसाय ठप्प पारेको नेपाल बोटल वाटर उद्योग संघ भक्तपुरका क्षेत्रीय संयोजक राम सुवालले बताए।

    ‘गत असार २६ गते पनि कर उठाउने जिम्मा निजी क्षेत्रलाई नदिन र टेण्डर खारेज गरी नपा स्वयम्ले एकमुष्ठ कर उठाउन माग गर्दै प्रमुखलाई ज्ञापन पत्र बुझाएका थियौँ, तर नगरप्रमुखले हाम्रो मागप्रति बेवास्ता गर्नुभयो,' उनले भने ‘हामीले पहिले पनि कर तिरेका थियौं। आगामी दिनमा पनि कर तिर्न तयार छौं। तर हामीले तिरेको कर नगरपालिकाको कोषमै जम्मा होस् र त्यो पैसा विकास निर्माणमा खर्च होस, कोही ठेकेदारको पेवा नबनोस् भन्ने हाम्रो माग हो।’

    भक्तपुर जिल्लाको उत्तरी भेगमा प्रशस्त पानीका स्रोत रहेका छन्। नगरकोट, बागेश्वरी, छालिङ, दुवाकोट, चाँगुनारायण र झौखेलमा भूमिगत पानीका स्रोत रहेका स्थान हुन्। दुवोकोट, झौखेल र चाँगुनारायणमा दर्ता भएका पानी उद्योगहरू एक दर्जन भन्दा बढी छन्।

    व्यवसायीहरूले तत्कालीन गाविसलाई वार्षिक ६ हजार र नगरपालिका घोषणा भइसकेपछि साविकको चाँगुनारायण नपालाई वार्षिक एक मुष्ट २० हजार कर बुझाउँदै आएका थिए। नयाँ संविधानअनुसार स्थानीय तहको रूपमा रुपान्तरित चाँगुनारायण नपाले यसअघि पनि पानी भरिएका प्रति मिनिट्रकबाट २०० रुपैयाँ, प्रति निसान गाडी १५० रुपैयाँ र प्रति ट्रयाक्टर ५० रुपैयाँ पटके शुल्क उठाउँदै आएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]