विश्व

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

साउन २, २०७५
    • इभान कोरोन

अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तिमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन्। यद्यपि उनीहरूले मिति भने टुंगो लगाइसकेका छैनन्।

बेलायती अर्बपति रिचार्ड ब्रान्सनद्वारा स्थापित कम्पनी भर्जिन ग्यालेक्टिक र जेफ बेजोसको कम्पनी अमेजन यो दौडमा पहिलो हुन लागिपरेका छन्। प्रविधि भने दुवैले भिन्दाभिन्दै प्रयोग गरेका छन्।

भारविहीनताका क्षण

न भर्जिन न त ब्लु अरिजिन, यी दुवैका यात्रुले पृथ्वीको कक्षको प्रदक्षिणा गर्ने छैनन्। उनीहरूका भारविहीनताका अनुभव केवल केही मिनेटका मात्र हुनेछन्। यो प्रस्ताव सन् २००० मा करोडौँ डलर खर्चेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) गएका पहिलो अन्तरिक्ष पर्यटकको भन्दा बिल्कुलै फरक हो।

भर्जिनले प्रतिटिकट मूल्य दुई लाख ५० हजार डलर तोकेको छ भने ब्लु अरिजिनको भाडा भने अझै थाहा भएको छैन। यो मूल्यमा नयाँ अन्तरिक्ष पर्यटकलाई वायुमण्डलमा दर्जनौँ मिल पर धकेलिने छ जहाँबाट उनीहरू फेरि पृथ्वीमा फर्कने छन्। तुलना गर्ने हो भने आइएसएसको कक्ष पृथ्वीबाट २५० माइल टाढा छ।

नयाँ यात्रुवाहक उडानको उद्देश्य भनेको अन्तरिक्षको सुरुवात गर्ने ६२ माइल अथवा १०० किलोमीटर परको काल्पनिक रेखा वा अमेरिकी वायु सेनाले मान्यता दिएको ५० माइलमाथिको सीमापार गर्नु हो। यो उचाइमा आकाश कालो देखिनुका साथै पृथ्वीको वक्रता पनि स्पष्ट देखिन्छ। 

भर्जिन ग्यालेक्टिक

भर्जिन ग्यालेक्टिकद्वारा गरिने अन्तरिक्ष यात्रा एउटा निजी जेट जस्तो देखिने अन्तरिक्ष यान ‘स्पेससिप २ भिएसएस युनिटी’ मा गरिने छ, जसमा छ जना यात्रु र दुई जना पाइलट हुनेछन्। ‘भिएसएस युनिटी’ आफैँ भने अर्को यान ‘ह्वाइट नाइट २’ मा जोडिएको हुनेछ जसले ४९००० फिट वा १५००० मिटरमा उसलाई अलग्याउने छ। अलग्गिएपछि आफैँ रकेट प्रक्षेपण गरेर यो आकाशतिर हान्निने छ। त्यतिबेला पृथ्वीमा फर्कनुअघि शून्य गुरुत्वाकर्षणमा यात्रुहरू कैयौँ मिनेट तैरने छन्।

अवतरणको बेला अन्तरिक्ष यानको पुच्छरको भाग चराको प्वाँख झैँ बांगिदै गतिलाई कम गरी भर्जिनको न्यु मेक्सिकोको मरुभूमिमा रहेको अन्तरिक्ष केन्द्रमा अवतरण गर्नेछ। जम्माजम्मी यो कार्यक्रम ९० मिनेटदेखि दुई घण्टा बीचको हुनेछ। मे २९ मा क्यालिफोर्नियाको मोजावे मरुभूमिमा गरिएको परीक्षणमा अन्तरिक्षयान २१ माइल माथिसम्म पुगेको थियो।

सन् २०१४ को अक्टोबरमा पाइलटको त्रुटीले गर्दा भर्जिनको अन्तरिक्ष यान दुर्घटनाग्रस्त हुँदा चालक दलको एक सदस्यको मृत्यु भएको थियो। यो परीक्षण नयाँ यानमा पछि पुनःसञ्चालन गरिएको थियो। कम्पनीले अर्को अन्तरिक्ष केन्द्रको रूपमा इटालीको दक्षिणमा रहेको तारेन्ते–ग्रोत्ताग्ली विमानस्थल सञ्चालनमा ल्याउने सम्झौता पनि गरिसकेको छ।

ब्रान्सनले मे महिनामा बीबीसी रेडियो चारलाई दिएको अन्तरवार्तामा आगामी १२ महिनाभित्र आफू पनि पहिलो अन्तरिक्ष पर्यटक मध्येको हुन चाहेको बताएका छन्। लगभग ६५० जना अरु इच्छुक प्रतीक्षा सूचीमा रहेका भर्जिनले एएफपीलाई बताएको छ।

ब्ल्यु अरिजिन

यता ब्ल्यु अरिजिनले पारम्परिक रकेट पद्घति पछ्याउँदै ‘द न्यु सेफर्ड’ तयार गरेको छ। यो यात्रामा छ जना यात्रु एउटा क्याप्सुलभित्र बस्नेछन् जुन एउटा ६० फिट लामो रकेटमाथि राखिने छ। प्रक्षेपणको केही समयपश्चात् यो क्याप्सुल रकेटबाट छुट्टिने छ तर आकाशमा कैयौँ माइल माथिसम्म आफ्नो यात्रा जारी राख्ने छ। अप्रिल २९ को परीक्षणमा यो क्याप्सुल ६६ माइल माथिसम्म गएको थियो।

केही मिनेटको भारविहीनतापश्चात् क्याप्सुल पृथ्वीमा झर्न थाल्छ र यो प्रकृयालाई तीनवटा ठूला प्यारासुट र रकेटले गति कम गराइ सहयोग पुर्‍याउने छन्। क्याप्सुलमा रहेका ठूला झ्यालबाट यस अवधिमा यात्रुहरूले बाह्य अन्तरिक्षको दृश्यावलोकन गर्न सक्नेछन्। टेक अफदेखि अवतरणसम्म पछिल्लो परीक्षणमा यो उडान जम्मा १० मिनेटको रहेको थियो।

हालसम्म ब्ल्यु अरिजिनका पश्चिम टेक्सस प्रयोग केन्द्रमा डमीको मात्र प्रयोग गरिएको छ। यसका एक निर्देशक रब मेयरसनका अनुसार जुन महिनामा छिट्टै मानवसहितको पहिलो परीक्षण गरिँदै छ। कम्पनीका अर्का अधिकारी यु मात्सुतोमीले एएफपीलाई बताएअनुसार त्यस्तो परीक्षण यो सालको अन्त्यमा हुनेछ।     

त्यसपछि के?

स्पेस एक्स र बोइङ कम्पनी नासाका अन्तरिक्षयात्रीलाई ओसार्न आफैँ यस्ता क्याप्सुल बनाउन लागिपरेका छन्। ढिलाइका पश्चात पनि २०२० सम्म यो कार्य सम्पन्न गर्ने उनीहरूको लक्ष्य छ र यसका लागि लगानी जुटाउने एउटा उपाय निजी यात्रु उडान हुन सक्छ।

कोलराडो विश्वविद्यालयका सहायक डिन, बोल्डर्स् कलेज अफ इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेजका प्राध्यापक फिल लार्सन एएफपीलाई भन्छन्– 'यदि तपाईं अन्तरिक्ष भ्रमणको सोचमा हुनुहुन्छ भने तपाईंसँग अहिले पहिलेको भन्दा चार गुणा बढी विकल्प छन्।'

अलि पछिको कुरा गर्ने हो भने सोयुज रकेट बनाउने रसियन फर्म पर्यटकलाई आइएसएसमा पुर्‍याउने सम्भावनाको अध्ययन गर्दैछ। अनि एउटा अमेरिकन स्टार्ट–अप कम्पनी ओरिओन स्पानले अन्तरिक्षमा एउटा होटल स्थापना गरेर कक्षमा छाड्ने घोषणा गरेको थियो। यो योजना भने अझै सुरुवाती चरणमा नै छ।

अनुवादः एकराज पाठक

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]