अर्थ

सुदूरका मुक्तकमैयाको मुहार फेर्दै ‘क्लाइमेट स्मार्ट टेक्नोलोजी’

साउन २, २०७५

    कञ्चनपुर : ‘क्लाइमेट स्मार्ट टेक्नोलोजी’को प्रयोग गरी तरकारी खेती गरी कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बैलकुण्डीका मंगल चौधरीले छ महिनामै दुई लाख रुपैयाँ आम्दानी गर्न सफल भए।

    छोटो अवधीमै थोरै जग्गामा लगाएको तरकारीखेतीबाट सोचेभन्दा बढी आम्दानी भएपछि उनले जग्गा लिजमा लिएर तरकारी खेती गर्न थालेका छन्। पाँच कठ्ठा जग्गामा तरकारीखेती गर्दै आएका चौधरीले छिमेकीको दश कठ्ठा जग्गा १० हजार रुपैयाँ वार्षिक भाडा तिर्ने गरी लिजमा लिएका छन्।

    पाँच वर्षदेखि तरकारीखेती गर्दै आएका चौधरीले तरकारीको उत्पादन बढाउनका लागि नयाँनयाँ प्रविधिको प्रयोग गर्दै आएका छन्। निड्स नेपालले सञ्चालन गर्दै आएको अनुकुलन ब्रेष्ड परियोजनाले प्रविधिमा सहयोग गर्दै आएको छ।

    तरकारीखेतीकै कमाइले उनले सिँचाइका लागि बोरिङ र तरकारी बजारमा लगेर बेच्नका लागि मोटरसाइकल खरिद गरेका छन्। जैविक विधिको प्रयोग गरी तरकारीखेती गर्दै आएकाले उनको तरकारी बजामा सहजै बिक्री हुने गरेको उनी बताउँछन्। ‘वर्षभरीको लागि घर खर्चसमेत तरकारीखेती बाटै धानिदै आएको छ’ चौधरीले भने । 

    यहाँका किसानले स्वाइल सोलराइजेशन, प्लाष्टिक मल्चिङ, प्लाष्टिक ट्रेमा बोटविरुवाको नर्शरी, जैविक बिषादीको प्रयोग,नाइलन नेटमा नर्सरी, झोल मल र जैविक मलको प्रयोग गरी तरकारी खेती गर्दै आएका छन्।

    शत्रु जीव व्यवस्थापन गर्नका लागि यहाँका किसानले क्लाइमेट स्मार्ट टेक्नोलोजिका रूपमा रहेका फेरोमोन ट्रयाप, क्युलुर, बैक्ट्रोसेरा कम्पोजिट लुर, फनेल ट्रयाप, वाटर ट्रयापको प्रयोग गर्दै आएका छन।

    बिषादीको प्रयोग गर्दा मानव स्वास्थ्यलाई असर गर्ने भएकाले बिषादीको सट्टामा जैविक बिषादीको प्रयोग गर्दै आएको सीता चौधरीले बताइन्। ‘रसाइनिक मलको तुलनामा घरमै पाइने वस्तुको प्रयोग गरी जैविक मल बनाइ प्रयोग गर्दै आएकाले अनावश्यक खर्चबाट समेत जोगिएका छौँ’ उनले भनिन्।

    'जलवायु परिवर्तनका कारण तरकारीखेती नफस्टाउने समस्या थियो' अर्का कृषक रामदुलारु चौधरीले भने ‘वातावरण अनुकूलनका बारे जानकार भएपछि त्यसैअनुरूप तरकारीखेती गरे आम्दानी लिन थालेका छौँ। जसबाट विगतको जस्तो रोग किराको समस्या छैन।’

    बाह्रै महिना यहाँका किसानले प्लाष्टिक टनेलमा कांक्रा, लौका, टमाटर, काउली, खुर्सानीलगायतको तरकारी खेती गर्दै आएका छन्। बीउविजन छनौट गर्नसमेत यहाँका किसान निपुण छन्।

    आइपिएम पाठशाला सञ्चालन गरी तरकारीखेतीमा जैविक विधिको प्रयोग गर्ने तरिका सिकेको भौनिदेवी चौधरीले बताइन्। बस्तीमा बसोवास गर्दै आएका ९६ परिवारमध्ये ३० परिवार तरकारी खेतीमा संलग्न छन्।

    खेतमा उत्पादन भएको तरकारी कैलालीको अत्तरिया बजारमा लगेर सहजरूपमा यहाँका किसानले बेच्ने गरेका छन्। तरकारीखेती गर्नु अघि यहाँका पूरै बस्तीका पूर्वमुक्त कमैयाहरूले मजदुरी गरी जीविका चलाउँदै आएका थिए। तरकारीखेतीबाट आम्दानी बढन थालेपछि सबै जनाको रोजाइमा तरकारीखेती पर्न थालेको छ।


राजेन्द्र पनेरु

पनेरु थाहा खबरका कञ्चनपुर समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]