समाज

विराटनगर जुटमिल प्रशासनमा तालाबन्दी

साउन २, २०७५

    विराटनगर : विराटनगर जुटमिल्सको प्रशासन कार्यालयमा कर्मचारीले तालबन्दी गरेका छन्। ३० महिनादेखि कार्यरत २४ जना कर्मचारीलाई पारिश्रमिक र सुविधा नदिएको र १० जनालाई कार्यालयमा हाजिर गर्न नदिएको भन्दै कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन्।

    जुटमिलका प्रशासन प्रमुख तारानाथ तिम्सिनाले करार अवधि सकिएकोले हाजिर नगर्न १० कर्मचारीलाई पत्राचार गरेपछि विवाद सिर्जना भएको हो। सेवा सुविधा नदिई काममा नलगाउने निर्णय अन्यायपूर्ण भएको कर्मचारीको दाबी छ।

    हाजिर नगर्न भनिएका कर्मचारीहरू मनोज खड्का, दिननाथ सिंह, राकेश कर्ण, बिपिन कोइराला, अवधेश सिंह, जितेन्द्र मण्डल, शुक्रराज लिम्बू, रमा ज्ञवाली, विमला तिम्सिनालगायत १० रहेका छन्।

    बन्द अवस्थामा रहेको विराटनगर जुटमिल पूर्ण क्षमतामा चलाउने भन्दै तत्कालीन अध्यक्ष निलहरि काफ्लेले तामझामसहित गत मंसिरदेखि मिल संचालन गर्न सुरु गरेका थिए। तर मिल संचालन भएको तीन महिनापछि नै आर्थिक अभाव भएपछि बन्द भएको थियो।

    शेयर घोटाला भएको भन्दै मुद्दा परेपछि काफ्लेलाई हटाएर उद्योग मन्त्रालय र कम्पनी रजिष्टारको कार्यालयले वसन्त वनलाई कार्यकारी प्रमुख र संचालक समितिको अध्यक्षको रूपमा काम गर्न अख्तियारी दिँदै आएको थियो।  तर, पछि काफ्ले र वनको छुट्टाछुट्टै संचालक समिति खडा गरेर फरकफरक निर्णय गर्न थालेपछि आधिकारिता विवादले हाल मिल संचालन हुन सकेको छैन।

    जुटमिलका प्रशासन प्रमुख तारानाथ तिम्सिनाका अनुसार कार्यरत  २२ जना करारका कर्मचारीले पाउनुपर्ने तलव बापतको रकम एक करोड बढी पुगेको छ। जुटमिल संचालन गर्नका लागि आउने अध्यक्ष र बोर्ड समितिले मिल संचालन भएपछि तलब दिने आश्वासन दिएको तिम्सिनाको भनाइ छ।

    जुटमिल संचालन हुने

    पटकपटक बन्द हुँदै पुनः सञ्चालनमा आएको विराटनगर जुटमिल सञ्चालन गर्न फेरि तयारी भएको छ।

    विद्युत प्राधिकरणमा बाँकी रहेको विद्युत बक्यौतामध्ये चार लाख रुपैयाँ तिरेपछि बिहीबारदेखि पुनः मिल सञ्चालनको तयारी गरिएको हो। यसअघि मंसिरमा संचालन गरिएको मिल पुनः बन्द भएको थियो। मिलले विद्युत खपत गरेको पैसा नदिएपछि पछिल्लो समय ३ फागुनमा लाइन कटिएको थियो।

    ११ केभिए लाइन बुधबार जडान भएकोले परीक्षणको लागि प्रारिम्भक चरणको रूपमा मिल सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष बसन्त वनले जानकारी दिए। ‘भोलिदेखि जुट बेल्ने काम सुरु हुन्छ,’ वनले भने, ‘मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम एक साथ भइरहेको छ।’ मिल परीक्षण अवधिका लागि चल्ने उनले जानकारी दिए।

    मिल सञ्चालक समितिका अध्यक्ष वनका अनुसार बिहीबारदेखि परीक्षणस्वरूप दैनिक २० टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको छ। ‘अहिलेको अवस्थामा दैनिक ६ टन जुटको सामग्री उत्पादनबाट काम सुरु गर्छौं,’ उनले भने ‘त्यसपछि एक महिनाभित्रै मिल पूर्ण सञ्चालनमा ल्याउने तयारी गरेका छौँ।’ मजदुरले प्रशासनमा लगाएको तालाबन्दीले मिल सञ्चालनमा कुनै असर नगर्ने वनले बताए।

    मिल पूर्ण सञ्चालनमा आएमा दैनिक २० टन जुटको सामाग्री उत्पादन गर्ने लक्ष्य राखेको छ। अध्यक्ष वनका अनुसार अहिले दैनिक ६ टन उत्पादनले तत्कालका लागि मिलको लागत धान्ने र मिल पूर्णरूपमा सञ्चालनमा आएमा ३०० मजदुरले रोजगारी पाउनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]