राजनीति

कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्न बाध्य हुन्छौँ : नेता पौडेल

साउन २, २०७५

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्न आफूहरू बाध्य हुने चेतावनी दिएका छन्।

    बुधबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा नेता पौडेलले भने, ‘नीति तथा कार्यक्रमको हामीले ताली पिट्यौं तर सरकारले खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो यो समर्थनलाई कमजोरी ठान्नुभयो, प्रधामन्त्रीले दुई तिहाईको दम्भ देखाउनुभयो, त्यसैले सरकारकै कारण हामी आज सडक र सदन दुवै ठाउँमा संघर्षमा उत्रिन बाध्य भएका छौँ।’

    नेता पौडेलले वर्तमान प्रधानमन्त्री ओली संविधानको ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न हुँदैन भन्ने व्यक्ति भएकोले र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यो संविधानको पूर्नर्लेखन गर्नुपर्छ भन्ने व्यक्ति भएकोले उनीहरू किन मिले? भनेर सोध्न पाइने कि नपाइने भन्दै प्रश्न समेत तेर्साए। उनले थपे, ‘केपी ओली र उपेन्द्र यादव किन मिल्नुभयो? यो विषय पारदर्शी हुनुपर्छ।’

    वर्तमान सरकारले विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट कब्जा गरेर थुनेको, आफू अनुकुल रिपोर्ट बनाउनको लागि अस्पतालबाट डाक्टरलाई अपरहण गरेको, पत्रकारको प्रश्नको सामाना गर्न नसक्दा टेलिभिजन कार्यक्रम नै बन्द गराएको, सिण्डिकेट अन्त्यको हल्ला चलाएपनि विभागका महानिर्देशक हटाएको, गलत गर्ने ठेकेदारलाई कारबाही नगरेको, महँगीले आकाश छोएको लगायत जनजिविकाका थुप्रै मुद्दामा वर्तमान सरकार मौन रहेको उनको गुनासो छ।

    उनले थपे, ‘त्यतिमात्रै होइन, माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्यो, डाक्टर गोविन्द अहिले १५ औं अनशनमा हुनुहुन्छ, उहाँका माग सम्बोधन गर्न सरकार गम्भिर देखिएन, माथेमा आयोगको प्रतिवेदन अनुसार अध्यादेश ल्याउने सहमति भएको थियो, तर सरकारले त्यसलाई तोडमोड गरेर विधेयक ल्याउन खोजेको छ, यस्तो अवस्थामा अब यो सरकारलाई समर्थन गरिराख्नुको कुनै अर्थ छैन, र त्यस्तो अवस्थापनि अब रहेन।’

    सभामुख र उपसभामुख एउटै दलबाट बन्नु संविधानविपरीत भएको भन्दै उक्त कदम तुरुन्त सच्याउनुपर्ने उनको जोड थियो। दुई तिहाईको दम्भमा जनतालाई तर्साउने र धम्काउने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर तुल्याउने कुरा आफूहरूलाई कुनै हालतमा पनि स्वीकार्य नरहेको उनको भनाई छ। उनले भने, ‘सरकारले सुशासन र समृद्धिको लागि अब पनि काम गर्न नसके, यसको अपजस सबै सरकार र यसको नेतृत्व गरेका व्यक्तिलाई जान्छ।’

    प्रधानमन्त्री ओली आफूहरूको पनि प्रधानमन्त्री भएको बताउँदै उनले भने, ‘उहाँ त हाम्रो पनि प्रधानमन्त्री हो नि, तर उहाँ निरन्तर हामीलाई गाली गर्नुहुन्छ, प्रधानमन्त्रीले आफ्ना चाल, प्रस्तुति र व्यवहारहरू बदल्न जरुरी छ, सरकारले आफ्ना प्राथमिकताहरू बदल्न जरुरी छ।’

    वर्तमान प्रधानमन्त्रीजतिको बलियो प्रधानमन्त्री नेपालमा अहिलेसम्म कहिल्यै पनि नभएको उल्लेख गर्दै नेता पौडेलले आफूहरूको अबको कदम भनेको सरकारलाई सचेत बनाउन केन्द्रित रहने उनको जिकिर गरे। यद्यपि उनले जनताको अधिकार र स्वतन्त्रतामाथि धावा बोल्ने कहीँ कतैबाट पनि हुन नहुने बताए।

    संघीयता कार्यान्वयन गर्नतर्फ वर्तमान सरकार त्यति उत्साहित नरहेको उनको आरोप छ। उनले भने,‘सरकारले विकेन्द्रिकरण स्वीकार गरेको छैन, कर्मचारीहरू संघीयताको पक्षमा छैनन्, देशका प्राज्ञिक व्यक्तित्वहरूलाई बेइज्जत गराउने काम यो सरकारले गरेको छ।’ सरकारलाई आफ्नो कार्यसम्पादन सच्याउन कांग्रेसको आग्रह रहेको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]