राजनीति

नेपाल–बेलारुस सम्बन्ध २५ वर्षमा

'चीन–बेलारुस साझेदारी नेपालका लागि अनुकरणीय'

साउन ३, २०७५

    काठमाडौं : गणराज्य बेलारुसले नेपालसँग आपसी सहकार्यको क्षेत्र फराकिलो पार्न उत्सुक रहेको जनाएको छ। 

    नेपालसँग दौत्य सम्बन्ध स्थापना भएको २५ वर्ष पुगेको अवसरमा नेपाल सरकारलाई शुभकामना सन्देश पठाउँदै त्यहाँका विदेशमन्त्री भ्लादिमिर माकेइले नेपालसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताएका हुन्। २५ वर्ष पहिले जुलाई १९ मा नेपाल र बेलारुसबीच दौत्य सम्बन्ध कायम भएको थियो। 

    त्यसैगरी नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेलारुसँगको दौत्य सम्बन्ध सौहार्द एवं मैत्रीपूर्ण रहेको बताएका बताएका छन्। एक विज्ञप्ती जारी गर्दै उनले बेलारुससँगको सम्बन्ध उत्कृष्ट, विश्वासको आधार र आपसी समझदारी एवं एकअर्काप्रति सम्मान भावका आधारमा रहेको बताएका छन्। 

    परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्ध जनस्तरमा कायम गर्न पहल गर्नुपर्ने बताएका छन। त्यस्तै, उनले दुई देशका बीचमा आर्थिक विकासका लागि व्यापार, लगानी, पूर्वाधार एवं ऊर्जालगायतका क्षेत्रमा समेत सहकार्य गरी दुई देशको सम्बन्ध अगाडि बढाएर उच्च बिन्दुमा पुर्‍याउने समय आएको बताएका छन्।

    त्यस्तै, परराष्ट्र मन्त्रालयका युरोप शाखा प्रमुख उपसचिव लक्ष्मण खनालले बेलारुससँग सम्बन्ध विस्तार गर्न नेपाल सरकार पनि उत्तिकै इच्छुक रहेको बताएका छन्। दौत्य सम्बन्धको २५औँ वार्षिकोत्सवका अवसरमा दुवै देशले औपचारिक रुपमा शुभकामना आदानप्रदान गरेका हुन्।

    चार वर्षअघिदेखि काठमाडौं कन्सुलेट कार्यालय स्थापना गरेको बेलारुसले ७२ सालको विनाशकारी भूकम्पमा विमान चार्टर गरी दुई करोड रुपैयाँ बराबरको खाद्यान्न नेपाल पठाएको थियो।

    चीन–बेलारुस साझेदारी नेपालका लागि अनुकरणीय

    नेपालका लागि बेलारुसका वाणिज्य दूत अजेयराज सुमार्गीले कुटनीतिक स्तरमा मात्रै नभई उद्‌योग व्यापारमा पनि सहकार्यको पहल भइरहेको बताएका छन्।

    'अहिलेको समयमा आपसी सम्बन्धको कडी भनेकै व्यवसायिक सहकार्य हो,' उनले भने, 'खासगरी नेपालका कृषिजन्य अर्गानिक उत्पादनमा बेलारुसले रुची देखाएको छ। बेलारुसलाई केन्द्र बनाएर युरोपका अन्य भूभागमा पनि बजार विस्तार गर्न सकिन्छ।'

    नेपालजस्तै भूपरिवेष्ठित मुलुक बेलारुसले अपनाएको आर्थिक नीति अनुकरणीय भएको सुमार्गीले बताए। 'बेलारुस–चीन व्यवसायिक साझेदारीको मोडेल हाम्रा लागि अध्ययनको विषय हो,' उनले भने, 'प्राचीन सिल्क रुटलाई ब्युँताउँदै चीनले बेलारुसमा निर्माण गरेको ग्रेट स्टोन औद्योगिक क्षेत्रमा ठूलो परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन बेलारुस सफल देखिएको छ।' नेपालले पनि बेलारुसबाट सिक्दै चीनको बेल्ट एण्ड रोड परियोजनालाई सदुपयोग गर्नुपर्ने उनले बताए। चीन हुँदै रेलमार्गमार्फत युरोपसँग जोडिन सके नेपालको बजार अझ फराकिलो बन्दै जाने सुमार्गीको विश्वास छ।

    उनले नेपाल–बेलारुस साझेदारीका अन्य आयाम पहिचान गर्ने काम भइरहेको जानकारी दिँदै आगामी दिनमा जनस्तरसम्मै सम्बन्ध विकास हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]