राजनीति

स्थानीयले जनश्रमदान गरेर खुलाए अवरुद्ध सडक

साउन २५, २०७५

    बाँके : हुलाकी सडक आयोजनाले सडक मर्मत नगरेर अवरुद्ध भएको सडक राप्तीसोनारी गाउँपालिका–७ का स्थानीयले मर्मत गरी संचालनमा ल्याएका छन्। वडा अध्यक्ष रामलखन थारूको अगुवाईमा स्थानीयले माटो पटान, ग्राभेल बिछ्याउने र सम्याउन श्रमदान गरेपछि नेपालगन्ज–नरैनापुर सडक सुचारु भएको हो।

    हुलाकी सडक आयोजनाको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन जेभीले कल्भर्ट निर्माण गर्ने क्रममा सहायक बाटोको व्यवस्था गरे पनि वर्षातले सडक हिलाम्य भएपछि यातायात सेवा अवरुद्ध भएको वडा अध्यक्ष थारूले बताए। वडा अध्यक्ष आफैँले पनि बेल्चा र फरुवा चलाएर सडक मर्मतमा जुटेका थिए। 

    उनले पैदल आवतजावतमा समेत असहज भएपछि सडक मर्मत गर्न आफूले पहल गरेको बताए। अवरुद्ध सडक संचालनमा ल्याउन वडा अध्यक्षले पहल गरेपछि स्थानीयले जनश्रमदान मात्र गरेनन्, ट्याक्टर मालिकले एक–एक ट्याक्टर गिट्टी ल्याएर सडक मर्मतमा सहयोग गरे,’ उनले भने, ‘बिहानदेखि बेलुकी ७ बजेसम्म निरन्तर काम गरेपछि सडक सुचारु गर्न सफल भयौँ।’

    हुलाकी सडक निर्माण कम्पनीका कारण एम्बुलेन्स सेवासमेत अवरुद्ध भएको थियो। आवतजावतलाई सहज बनाउन हिलाम्य सडक मर्मतमा जनश्रमदान गरेको फत्तेपुरका हरि चौधरीले बताए। उनले स्थानीयको सहयोगमा अवरुद्ध सडक सुचारु भएको बताए। ‘सडक सुचारु गर्ने दायित्व हुलाकी सडक आयोजनाको हो, तर पनि यातायात सेवा सुचारुका लागि स्थानीयले श्रमदान गरेका हौँ,’ उनले भने।

    स्थानीयले झण्डै पाँच सय मिटर सडकमा माटो पटान र ग्राभेल हालेको वडा अध्यक्ष थारुले बताए। उनले स्थानीयले एकलाखभन्दा बढी रकमको सडक मर्मत गरेको बताए। ‘ठेक्का पट्टामा बनाउनु परेको भए एकलाख भन्दा बढि रकम खर्च हुने थियो,’ अध्यक्ष रामलखनले भने।

    उक्त सडक खण्डमा नेपालगन्जबाट नरैनापुरसम्म बस संचालन भए पनि सडक हिलाम्य भएपछि हाल रोकिएको छ। सडक मर्मतपछि बस सेवा पनि संचालनमा आउने भएको छ। ‘स्थानीयले सडक मर्मत गरेपछि बस सेवा पनि संचालन हुने भएको छ,’ उनले भने।

    उनले अन्य ठाउँमा बिग्रिएको सडक मर्मतका लागि स्थानीयको सहयोग लिने बताए। सरकारको मुख ताकेर मात्र विकास सम्भव नहुने भएकोले जनश्रमदानमा जोड दिएको अध्यक्ष थारुले बताए। ‘सरकारको मुख ताक्नुभन्दा आफूले सक्ने काम आफूले गर्दा विकासमा सहयोग पुग्छ,’ उनले भने। थारू समुदायले आफ्नो गाउँको विकासमा ‘झराली’ (जनश्रमदान) गर्ने परम्परा भए पनि हाल लोप हुने क्रममा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]