फिचर

सुधारको पर्खाइमा बुलबुले ताल

साउन २७, २०७५

    सुर्खेत : 'सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल ...।' पुरानो तर चर्चित गीत हो यो। नेपालभरि सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबले तालको चर्चा परिचर्चा र महिमा धेरैलाई थाहा छ। यसको महिमा सुनेकाहरू कुनै काम विशेषले कर्णाली क्षेत्रमा आए भने सुर्खेतको बुलबले तालमा पुगकै भेटिन्छन्।

    धनगढीका मानबहादुर कुँवर घुम्नका लागि बुलबुले आए। अझै थारू गीतको सुटिङका लागि कैलालीबाट कुँवरको टिम नै बुलबुले आएका हुन्। बुलबुले तालको महिमा र चर्चा सुनेर आउने अन्य पर्यटक जस्तै मानबहादुरलाई पनि खिन्न लाग्यो। बुलबुले तालको चर्चा सुनेर पहिलो पटक बुलबुले आएका मानबहादुरले मनले जस्तो सोचेको त्यस्तो पाउन सकेनन्। ‘बाहिर जे जस्तो चर्चा परिचर्चा छ, त्यस्तो बुलबुले तालमा पाइनँ’, मानबहादुरले भने, ‘तालमा कुनै व्यवस्था राम्रो छैन। मलाई त अस्तव्यस्त नै लाग्यो।’ चिप्लो बाटाे, हिलो भएको र दुर्घटना हुने हो कि भनेर डराईडराई हिँड्नुपर्ने उनले बताए। त्यस्तै, कैलाली धनगढीकै सुमित्रा राना पनि बुलबुले पहिलो पटक घम्न आएकी हुन्। उनले पनि सोचेजस्तो नभएको बताइन्। ‘तालमा पानि बुलबुल गरेर पानी आउने गरेको होला भनेर सोचेकी थिएँ’, उनले भनिन्, ‘तर पनि त्यस्तो केही नभेट्दा त्यति राम्रो लागेन।’

    जमिनबाट बुलबुल गरेर पानीमाथि निस्किने भएकाले तालको नाम नै बुलबुले ताल रहेको भनाइ छ तर अहिले बुलबुले तालको संरक्षण जति हुनुपर्ने हो, उति हुन सकेको छैन। मुहानको तालबाट १० वटा धाराहरू बनाइएका छन्, जुन नुहाउने र धुने प्रयोजनमा प्रयोग हुँदै आएका छन्। एकापट्टि पाँच र अर्कोपट्टि पाँचवटा धारा रहेका छन्, जसमा एकातिर महिला र अर्कातिर पुरुषले प्रयोग गर्दै आएका छन्।

    पर्यटकको घुइँचो 

    बुलबुलेमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। प्रति व्यक्ति १० रुपैयाँका दरले टिकट काटेर आन्तरिक पर्यटकहरू बुलबुलेमा घुम्न जाने गरेका छन्। क्यामरा, साइकल, मोटरसाइकल लिएर गएमा थप शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। नुहाउन, घुम्न, वनभोज, सुटिङ, डेटिङ गर्नका लागि पनि आन्तरिक पर्यटक जाने गरेका छन्। सुर्खेतलगायत कर्णाली र छिमेकी प्रदेश ५ र ७ का जिल्लामा पर्यटकहरू आउने गरेका छन्। 

    गुरुयाेजना बन्यो, कार्यान्वयन कहिले? 

    सुर्खेत नगर विकासको मातहत रहेको बुलबुले उद्यान आधुनिक र सुविधासम्पन्न बनाउनका लागि गुरुयोजना बनाइएको छ। सुर्खेतको मुख्य पर्यटकीय स्थलका रूपमा रहेको बुलबुले उद्यानको गुरुयोजना तयार पारिएको हो। अब बुलबुले उद्यान गुरुयोजनाअनुसार फरक र पर्यटकहरूले सोचेजस्तो र चर्चा भएजस्तो बन्ने भएको छ। पाँच लाख रुपैयाँको लागतमा उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार अब उद्यानभित्र रहेको तालको चौडाइ झण्डै आधा बढी क्षेत्रफलमा फैलिनेछ। उक्त तालमा डुंगा सवार गर्ने याेजना छ। उसो त अहिले पनि एउटा डुंगा संचालनमा रहेको छ तर व्यवस्थित रूपमा संचालन हुन सकिरहेको छैन। तालको माथिल्लो एक छेउमा भने कमलको फूल राेप्ने याेजना पनि छ, जसलाई पर्खाल लगाएर छुट्याइनेछ। 

    सेवा सुविधा थप हुने

    बुलबुले उद्यानभित्र थुप्रै किसिमका सेवाहरू समेत थप गर्न लागिएको छ। बुलबुले उद्यानको गुरुयोजना तयार पार्ने आर्किटेक्ट डिजाइन एसोसिएसनका सुमन महर्जनका अनुसार उद्यानभित्र टिकट घर, स्नान घर, स्विमिङ पुल, पिकनिक क्षेत्र, डुंगा सवारी, रंगीन बगैँचा, बाल उद्यान, धार्मिक मानिसका लागि भौतिक संरचनालगायतका सुविधाहरू रहनेछन्। अहिले नुहाउनका लागि प्रयोग गरिएका उद्यानभित्रका धाराहरू अब प्लाजाका रूपमा स्थापना हुनेछन् भने नुहाउनका लागि छुट्टै धारा निर्माण गरिनेछ। पहिले वनभोज खाने स्थलका रूपमा प्रयोग हुने ठाउँमा अब बाल उद्यान रहनेछ।

    हाल करिब डेढ विगाह क्षेत्रफलमा फैलिएको बुलबुले ताल भने अब बढाएर साढे तीन विगाह पुर्‍याइने उद्यानको गुरुयोजना निर्माण गरेका सुमन महर्जनले बताए। उनका अनुसार उद्यानभित्र सानाठूला गरी ३०० बढी सवारी साधन पार्किङ गर्न मिल्ने पार्किङस्थल बनाइनेछ। यस्तै, उद्यानभित्र नै फूलका बिरुवाको नर्सरी पनि स्थापना गरिनेछ। उक्त नर्सरीबाट उद्यानभित्र आउने पर्यटकहरूले त्यहाँ देखेका फूलहरूमध्ये आफूलाई मनपरेको फूलको बिरुवा लिन सक्नेछ। यसैगरी अहिले रहेको टिकट घर पनि उद्यानको सुरुको गेट नजिक ल्याइनेछ। सोही ठाउँबाट पिकनिक, स्विमिङलगायतका सुविधाका लागि छुट्टाछुट्टै टिकट लिन सकिनेछ।

    बुलबुले उद्यान ३० विगाह १४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। गुरुयोजनाअनुसार उद्यानको स्तरोन्नति गर्न ३१ करोड रुपैयाँ बराबर लागत लाग्ने महर्जनले बताए।
    हालसम्म उद्यानको छुट्टै गुरुयोजना नै नबनेका कारण मर्मतका लागिसमेत सहयोग माग्न तथा रकम जुटाउन समस्या हुने गरेको थियो। अब गुरुयोजनाअनुसार विभिन्न निकायसँग रकम माग गरी केही वर्षभित्र नै उद्यानको स्तरोन्नति गरी सकिने उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए।उद्यानको स्तरोन्नतिपछि आर्थिक रूपमा पनि वार्षिक एक करोड रुपैयाँ बढी आम्दानी हुने आँकलन गरिएको छ।

    बुलबुलेको स्तरोन्नत्तिका लागि कर्णाली प्रदेश सरकारको पर्यटन मन्त्रालयले पनि बजेट छुट्याएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]