सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
काठमाडौं : पत्रकारिताको माध्यमबाट सामुदायिक वन संरक्षणमा योगदान पुर्याएको भन्दै पत्रकार अब्दुल्ला मिँया र कोकिला भण्डारी पुरस्कृत भएका छन्।
मिँया कान्तिपुर दैनिक र भण्डारी गोरखापत्र दैनिकमा कार्यरत छन्।
सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा पुरस्कार दिइएको हो।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनतालाई केन्द्रमा राखेर प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोग गर्नुपर्ने बताए। उनले भने, “मुलुकप्रति जिम्मेवार भएर जनतालाई अझ बढी लाभ हुने गरी वातावरण संरक्षणका कार्यक्रम अघि बढाउन सक्नुपर्छ।”
वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सङ्घीयताअनुसार वन नीति र संरचना परिमार्जन गर्ने क्रममा रहेको उल्लेख गर्दै त्यसक्रममा उत्पन्न हुने सामुदायिक वन उपभोक्ता समूहका माग पनि सम्बोधन गरिने योजना सुनाए। उनले राष्ट्रिय वन नीति तर्जुमाको क्रममा रहेको र सो नीतिले तीनै तहका सरकारबीच वन अधिकारका विषयलाई मार्गनिर्देशन गर्ने बताए।
वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्सालले चार दशकदेखि लागू भएको सामुदायिक वनको सफलताबारे उल्लेख गर्दै बदलिँदो सामाजिक परिवेशअनुसार त्यसबाट प्राप्त उपलब्धिका बारेमा पनि समीक्षा गर्नुपर्ने धारणा राखे।
सामुदायिक वन महाशाखाका उपमहानिर्देशक डा. अनुपराज शर्मा, रानीबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोषविक्रम शाह, सामुदायिक वन अभियन्ता आनन्दसागर तिमिल्सिना, वरिष्ठ पत्रकार भैरव रिसाललगायतले विश्वमा नेपाललाई चिनाएको सामुदायिक वनलाई मुलुकको समृद्धिमा सदुपयोग गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा वन संरक्षणमा उत्कृष्ट काम गरेबापत गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाल्पा अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूह -(प्रथम), अर्घाखाँची धिरीखोला सामुदायिक वन उपभोक्ता समूह (द्वितीय) र जनकल्याण सामुदायिक वन उपभोक्ता समूह (तृतीय) लाई प्रदान गरियो। प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो।
त्यस्तै कबुलियती वन राष्ट्रिय पुरस्कारबाट पाँचथर ठाडो नागी कबुलियती वन समूह, नवलपरासी शीतलपोखरी कबुलियती वन समूह र प्यूठान हार्वुङ्गदीप कबुलियती वन समूहलाई सम्मान गरियो। उनीहरुले पनि प्रथम, द्वितीय र तृतीय भएर एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ पाए।
मुलुकमा हालसम्म २२ हजार २६६ सामुदायिक वन छन्। त्यसमा २९ लाख सात हजार ८७१ घरधुरी सङ्ख्या सहभागी छन्। सिन्धुपाल्चोकको ठोकर्पाको वनबाट २०३० देखि सामुदायिक वनको अवधारणा सुरु भएको हो।
‘सामुदायिक वनको पहिचान, सङ्घीयतामा समृद्धिको अभियान’ भन्ने नारासहित यो वर्ष सामुदायिक वन राष्ट्रिय दिवस बिहीबारदेखि तीन दिनसम्म मनाइँदैछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।