राजनीति

नयाँ शक्तिले माग्यो काठमाडौंका नगर प्रमुखहरूसँग सार्वजनिक सूचना

साउन २५, २०७५

    काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले काठमाडौं जिल्लाका सबै नगरपालिकाका प्रमुखलाई सार्वजनिक सूचना माग गर्दै पत्र बुझाएको छ। नयाँ शक्ति पार्टीको काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौं महानगरपालिकालगायतका काठमाडौं जिल्लाका सबै नगर प्रमुखहरूलाई सूचना माग गर्दै पत्र बुझाएको हो।

    शुक्रबार काठमाडौं महानगरपालिकाको कार्यालयमा पार्टीको काठमाडौं जिल्ला समन्वय समिति र महानगर समितिको तर्फबाट सूचनाको माग गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र बुझाइएको छ। पत्रमा महानगरपालिकाअन्तर्गतका सम्पूर्ण विभाग, वडा, महाशाखा, आयोजना, इकाई, कार्यक्रमहरूको आर्थिक वर्ष २०७४/०७५ को महानगर परिषदबाट पारित बजेट शीर्षकअन्तर्गतका प्रत्येक योजना तथा कार्यक्रमको आर्थिक तथा भौतिक प्रगति, आय र व्ययको पूर्ण विवरण, सम्पूर्ण मालसामान जिन्सी सामग्री, निर्माण कार्य, परामर्श सेवा तथा अन्य खरिद तथा भुक्तानीको पूर्ण विवरण माग गरिएको छ। अरू नगरपालिकाका प्रमुखहरूलाई पनि यही व्यहोराको पत्र बुझाइएको छ।

    पत्र बुझ्दै प्रमुख शाक्यले नयाँ शक्तिको सुझावलाई सकारात्मक रूपमा ग्रहण गरेको र आफूले महानगरबासीको समस्या समाधान गर्ने बताए। उनले राजपत्र प्रकाशित भएपछि सबै सूचनाहरू महानगरबासीलाई जानकारी गराउने बताए। मेयर शाक्यले महानगरबासीको काम वडाबाट हुने प्रक्रिया चलिरहेको जानकारी गराए।

    पत्र बुझाउँदै काठमाडौं जिल्ला समिति संयोजक मानुषी यमी भट्टराईले स्थानीय सरकार र महानगर प्रमुखको बारेमा नकारात्मक टिकाटिप्पणी हुनु सुखद् नभएको भन्दै प्रमुख शाक्यलाई आलोचित हुने कार्य नगर्न सुझाव दिइन्।

    स्थानीय सरकार र महानगर प्रमुखलाई हामी सहयोग गर्न चाहन्छौँ’, संयोजक मानुषीले भनिन्, ‘हामीले पारदर्शीताको कुरा गरिरहेका छौँ। २०७४/७५ को हिसाबलाई पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ। जनताले स्थानीय सरकार र प्रमुखको धेरै आलोचना गरिरहेका छन् । हामी यसरी आलोचना भएको सुन्न चाहँदैनौँ। त्यसैले प्रमुखले महानगरवासीलाई विश्वास दिलाउने काम गर्नुपर्छ।

    महानगरले सही सूचना नदिँदा कार्यालयमा पुगेपछि सेवा सुविधाको विषयमा विवाद भइरहेको भन्दै उनले महानगरले सबैलाई सहज ढंगले सूचित गर्नुपर्ने, करलगायत जनताको सेवा सुविधाको बारेमा महानगरले पहिला नै सूचना दिनुपर्ने बताइन्।

    पार्टीको काठमाडौं महानगर समिति संयोजक शोभा बज्राचार्यले प्रमुख शाक्यलाई काठमाडौं महानगरले २१, २२, २६, र ३२ वडाका स्थानीयलाई विभेद गरेको गुनासो गरिन्। उनले महानगरबासी सबैलाई समान व्यवहार गर्न आग्रह समेत गरिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]