अर्थ

वीरगन्ज नाकाबाट धान र मकै आयातमा बाहिरियो सवा सात अर्ब

साउन २६, २०७५

    पर्सा : कृषि प्रधान देशको प्रमुख खाद्यवाली धान र मकै आयातमा मात्र एक वर्षमा सवा सात अर्ब रकम मुलुकको एउटा सीमा नाकाबाट बाहिरिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर कृषि प्रधान देश नेपालको वास्तविकता भने अब पत्याउनै पर्ने भएको छ।

    आर्थिक वर्ष ०७४/७५ मा वीरगन्ज भंसार नाकाबाट मात्र धान र मकै आयातमा सात अर्ब १९ करोड ५३ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ। यो आर्थिक वर्ष ०७३/०७४ को भन्दा एक अर्ब ६४ करोड ९९ लाख नौ हजार रुपैयाँ बढी हो।

    अघिल्लो आर्थिक वर्षमा पनि वीरगन्ज नाकाबाट पाँच अर्ब ५४ करोड ५४ लाख २९ हजार रकम धान र मकै आयातमा बाहिरिएको वीरगन्ज भंसार कार्यालयको तथ्यांकमा उल्लेख छ। परनिर्भरता बढ्दै जाँदा गत आर्थिक वर्षमा भने अघिल्लो आर्थिक वर्षमा धान मकै आयातमा झन् धेरै रकम बाहिरिएको वीरगन्ज भंसार कार्यालयका प्रमुख सेवन्तक पोख्रेलले बताए।

    गत आर्थिक वर्षमा १२ करोड ३५ लाख ४९ हजार २८७ केजी धान खरिद गर्दा वीरगन्ज नाकाबाट मात्रै तीन अर्ब ४० करोड ३७ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ। आर्थिक वर्ष ०७३/०७४ को भन्दा ४० करोड ५५ लाख ८७ हजार बढी हो। आर्थिक वर्ष ०७३/०७४ मा ११ करोड ६० लाख १८ हजार ८६७ केजी धान भित्रिएको तथ्यांकले देखाएको छ। भंसार प्रमुख पोख्रेलले भने, 'धान आयातको परिणाम अघिल्लो वर्षभन्दा ७५ लाख ३० हजार ४२० केजीले बढ्दा रकमको अन्तर पनि बढेको नै पाइयो।'

    मकै खरिदमा तीन अर्ब ७९ करोड १५ लाख ४१ हजार रुपैयाँ गत आर्थिक वर्षमा मात्र बाहिरिएको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा एक अर्ब २४ करोड ४३ लाख २२ हजारले बढी हो। अघिल्लो आर्थिक वर्ष दुई अर्ब ५४ करोड ७२ लाख १९ हजारको १४ करोड २१ लख २६ हजार ३६५ केजी मकै आयात भएको थियो। तर आर्थिक वर्ष ०७४/७५ मा आयातको परिणाम पनि ६७ लाख ८० हजार ३४६ केजी बढी हुँदा मुलुकबाट बाहिरिने लागत पनि झन् बढेको वीरगन्ज भंसार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए।

    उनले भने, 'बाहिरबाट आयात भएका प्रमुख २० वस्तुको लिष्टमा खाद्यान्न मकै १६ नम्बर र धान २० नम्बरभित्र पर्दा खाद्यान्नमा नै मुलुक परनिर्भरतर्फ उन्मुख भइरहेको तथ्यांकले देखाउँछ।'

    गत आर्थिक वर्ष वीरगन्ज भंसारबाट सबैभन्दा बढी मूल्य बाहिरिएका मालवस्तुको टप २० आइटम' मा हाइस्पीड डिजेल पहिलो नम्बरमा परेको छ। यसमा मात्र ४४ अर्ब १६ करोड तीन लाख २९ हजार रकम मुलुकबाट बाहिरिएको छ। त्यसैगरी लोडर स्क्याभेटर मुलुकको रकम बाहिरिने दोस्रो नम्बरमा दर्ज भएको छ। एलपी ग्याँस तेस्रो, औषधि एलोपेथिक चौथो, पेट्रोल पाँचौं, मोटर साइकल छैटौं, भटमासको तेल कच्चा सातौं, एच.आर.सीट आठौं, एम.एस. विलेट नवौं र ए.टी.एफ दशौं नम्बरमा रकम बाहिरिने मालवस्तु रहेका छन्।

    त्यसैगरी मुलुकबाट रकम बाहिरिने टप २० आइटमको ११ औं नम्बरमा जीप कार भ्यान, १२ औंमा सिमेन्ट र क्लिंकर, १३ औंमा पत्थर कोइला, १४ औंमा अन्य बस तथा ट्रकका चेचिसहरू, १५ औं स्थानमा अन्य औद्योगिक मेसिनरी, १६ औं नम्बरमा खाद्यान्न मकै, १७ औंमा कंक्रिट मिक्सचर मेसिन, १८ औंमा ट्रेक्टर १८०० सिसिभन्दा बढीको, १९ औं नम्बरमा तयारी कपडा र २० औं नम्बरमा धान परेको वीरगन्ज भंसार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]