राजनीति

काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

साउन २५, २०७५

    नवलपरासी : राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पश्चिम नवलपरासीको सुस्ता जोड्ने नारायणी नदीमा निर्माण कार्य अलपत्र परेको पुलको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा तिमिल्सिनाले काम बीचमै छोडेर योजना अलपत्र पार्ने कम्पनीका ठेकेदारलाई तत्काल पक्राउ गरी कामदार र विभिन्न क्षेत्रमा भुक्तानी गर्नुपर्ने रकम असुली गराई कारबाही प्रक्रिया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई निर्देशन दिएका हुन्। 

    योजनाको स्थलगत अनुगमन पश्चात तिमिल्सिनाले ठेक्का रद्ध गराई नयाँ प्रक्रियामार्फत काम सुरु हुने समेत बताए। उनले नारायणीपारिका सुस्तावासीहरूका लागि हरेक घरमा सोलार जडान गर्न आफूले पहल गर्ने पनि बताए। तिमिल्सिनाले प्रदेश ४ को प्रशिद्ध धार्मिक तीर्थस्थल त्रिवेणीधाम र गजेन्द्रमोक्ष धामको समेत अवलोकन गरेका थिए। उनले निर्माण कार्य अलपत्र परेको बाल्मीकि आश्रम जोड्ने झोलुंगे पुलका बारेमा समेत चासो व्यक्त गरे।

    तिमिल्सिनाले गण्डक व्यारेज पुल र भारतीय नहरको समेत अवलोकन गरेका थिए। उनले त्रिवेणी प्रदेश-४ को भारतसँग जोडिएको एक मात्र मुख्य नाका भएकोले त्यसको विकासमा आफूले पहल गर्ने पनि बताए। तिमिल्ल्सिनाले त्रिवेणी दुम्कीबास सडक निर्माणका लागि पनि पहल भइरहेको बताए। त्यस्तै तिमिल्सिनाले गौतम बुद्धको सिंगो अस्तुधातु रहेको संसारकै एकमात्र स्तुप रामग्राम स्तुपको समेत अवलोकन गरे। सो अवसरमा उनले स्थानीय, प्रदेश र संघीय तीनवटै सरकारको समन्वयमा रामग्राम स्तुपको विकास गर्नुपर्नेमा जोड दिए। उनले रामग्राम स्तुपको उचित प्रचारप्रसार, संरक्षण र विकासका लागि लुम्बिनी विकास कोष तथा पर्यटन मन्त्रीको ध्यानाकर्षण गराउने प्रतिवद्धता पनि व्यक्त गरे। 

    दुई वर्षको अन्तरालमा पत्ता लागेका लुम्बिनी र रामग्राम स्तुपको विकासलाई हेर्दा रामग्राम धेरै पछाडि रहेको भन्दै उनले स्थानीय स्तरबाट पनि यसको विकासका लागि आवश्यक योजना बनाउनुपर्ने बताए। रामग्रामसहित बुद्धसँग जोडिएका सवै क्षेत्रको एकीकृत विकास गरी धार्मिक पर्यटन र स्थानीयको जीवनस्तर बृद्धि गर्न आवश्यक रहेको उनकाे तर्क छ। 

    अध्यक्ष तिमिल्सिनाले रामग्राम स्तुप क्षेत्रको आवश्यक प्रचारप्रसार गरी लगानीको वातावरण बनाउन सुझवा दिदैँ आफूले सक्दो पहल गर्ने आश्वासन पनि दिए। सो अवसरमा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले रामग्राम स्तुपको विकास अपेक्षाकृत नहुनुको कारण जानकारी गराउँदै स्थानीय सरकारको मातहतमा रामग्राम स्तुप नहुँदा लगानी गर्न र योजना बनाएर विकास गर्न पनि नपाएको बताए। यसैगरी रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले रामग्रामको विकासमा लुम्बिनी विकास कोषले उपेक्षा गरेको भन्दै छुट्टै रामग्राम विकास कोष गठनको लागि पहल गरीदिन माग गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासमक्ष ज्ञापनपत्र समेत बुझाएका थिए। त्यसैगरी अध्यक्ष तिमिल्सिनालाई बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बर्दघाटको टिसियन चोकमा स्वागत भेटघाट समेत गरे।

    तिमिल्सिनाको स्वागतका लागि राष्ट्रिय सभाका सदस्य रामलखन हरिजन, प्रदेश सभा सदस्यहरू दीपेन्द्रकुमार अधिकारी, भगवति भण्डारी, बर्दघाट सुस्ता पश्चिमका  प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेकाे पनि उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]