अर्थ

एक हजार ५०० कर तिर्न आठ हजार खर्च

साउन २६, २०७५

    धनगढी : कैलालीको चुरे गाँउपालिका–१ निगालीबाट तीन दिनअघि राजस्व बुझाउन धनगढी आएका लालबहादुर बोहरा शुक्रबार अबेरसम्म आन्तरिक राजस्व कार्यालयको लाइनमा पालो कुरेर बसिरहेका थिए। गणेश आयल एण्ड फ्लोर मिलका नाममा शुक्रबार मात्रै एक हजार ५०० रुपैयाँमा एभरेष्ट बैंकबाट राजस्व तिरे। 

    आयकर तिर्न एक दिनको पैदल यात्रापछि धनगढी पुगेका बोहराले पालो नपाएर पर्खिनु परेको बताए। ‘भिडभाड थियो, पालो कुर्दाकुर्दै समय जान्थ्यो,’ उनले गुनासो पोखे, ‘कहिले को भएन भन्थे, कहिले के भएन भन्थे, तीन दिनपछि आज काम भयो।’

    राजस्व बुझाउन तीन दिनसम्म होटलमा बस्दा र खाँदा आठ हजार रुपैयाँ खर्च भएको उनले बताए। ‘यहाँ आफन्त कोही छैनन्, होटलमै बास र गाँस भयो,’ उनले भने, ‘यहाँ त महँगो रहेछ, आठ हजार खर्च भयो।’ कैलालीको पहाडी क्षेत्र मोहन्याल गाँउपालिकाबाट आयकर बुझाउन आएका प्रविन घर्ती मगरको गुनासो पनि बोहराको जस्तै छ।

    कैलालीबाट मात्रै होइन प्रदेश ७ का साबिकको सेती अञ्चलका पाँच जिल्लाबाट राजस्व बुझाउन व्यवसायीहरु धनगढी पुग्ने गरेका छन्। पाँच जिल्लामा ४० हजारभन्दा बढी करदाता रहेका छन् । कैलालीसँगै बझाङ, बाजुरा, डोटी अछामबाट राजस्व बुझाउन आउनेहरु आवतजावतमै बढी खर्च हुने गरेको गुनासो गर्छन्।

    बझाङबाट छ हजार रुपैयाँ कर तिर्न आउँदा १० हजार रुपैयाँ खर्च भएको बझाङ बुंगल नगरपालिकका प्रकाश कुुँवरले गुनासो गरे। मदिराका लागि धनगढी जानुपर्छ भनेकाले धनगढी आएको उनले बताए। ‘संघियता आयो भन्छन्, हाम्रा लागि त उस्तै छ,’ उनले भने, ‘नगरपालिकामै कर बुझाउने व्यवस्था मिलाइदिए उपयुक्त हुने थियो।’

    आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कृष्णबहादुर बोहराले भने जानकारीको अभावमा सर्वसाधरणले सास्ती बेहोर्नु परेको बताउँछन्। प्रत्येक जिल्ला सदरमुकाममा राजस्वको कारोबार गर्ने बैंकबाट राजस्व दाखिला गर्ने व्यवस्था रहेको र आय विवरणका लागि सम्बन्धित उद्योग वाणिज्य संघसँग समन्वय गर्न सकिने उनले बताए। 

    सर्वसाधरणको सजिलोका लागि भदौ र असोजमा कर शिविर आयोजना हुँदै गरेको समेत उनले जानकारी दिए। उनले भने ‘कैलालीका सात वटा स्थानीय तहका लागि लम्कीमा करदाता सेवा केन्द्र स्थापना समेत गर्ने तयारीमा छौं।’ 

    बढ्यो राजस्व

    करमा कडाइ गरेपछि आन्तरिक राजस्व कार्यालय धनगढीमा राजस्वमा संकलन बढेको छ। गत आर्थिक वर्षमा लक्ष्यभन्दा आठ दशमलव ७० प्रतिशतले बढी राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ।

    दुई अर्ब ५५ करोड राजस्व संकलनको लक्ष्य रहे पनि दुई अर्ब ७७ करोड राजस्व संकललन भएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा कर छली गर्ने ६८ जना व्यवसायीबाट तीन करोड ५४ लाख र ९६ वटा उद्योगीको लेखा परीक्षणमार्फत छ करोड ३० लाख रुपैयाँ थप कर संकलन गरेको आन्तरिक राजस्व कार्यालय प्रमुख बोहराले जनाकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]