फिचर

संगीत चोरी विडम्बनापूर्ण छ : संचारकर्मी/गायिका नीरा रानाभाट

साउन २५, २०७५

    काठमाडौं : 'कति बोलेर पछुताउँछन्, म नबोलेर पछुताएँ' बोलको गजलमा स्वर भरेर नेपाली सांगीतिक क्षेत्रमा चर्चामा आएकी गायिका तथा संचारकर्मी नीरा रानाभाट लामो समयपछि 'बिरामी छ मन' बोलको गीतसँगै बजारमा देखापरिन्। यसबीचमा उनी आफ्नो अध्ययनको शाेधपत्र (थेसिस) तयारीका लागि गुमनाम जस्तै भइन्। उनी भन्छिन्, 'थेसिसको दौडधुप अलिक बढी भयो, त्यसैले गुमनाम जस्तै भएकी हुँ।'  

    थेसिसको काम सकिएपछि उनी पुन: नयाँ एल्बमको तयारीमा जुटेकी छन्। गीतहरू रेकर्ड भइसके पनि एल्बमको नाम के राख्ने भन्ने कुरा निर्णय भई नसकेको उनले बताइन्। साढे दुई दर्जन बढी गीत/गजल बजारमा ल्याइसकेकी उनले आफूलाई संचारकर्मीको रूपमा समेत स्थापित गरिसकेकी छन्।

    समाजले जस्तो मान्छेलाई आदर्श मान्छ र इज्जत गर्छ, बाल्यकालमा हामी त्यही हुने कल्पना गर्छौं। सबैको प्रशंसाको पात्र बन्न आखिर कसलाई रहर हुँदैन र! हामी सामाजिक प्राणी हौँ। हामीले पनि यही समाजमा हुर्कनु छ। बाँच्नु छ। मर्नु छ। समाजले जस्तो हामीलाई जस्तो शिक्षा दिन्छ, हामी त्यही शिक्षाबाट प्रेरित हुने न हो।

    त्यो समय रेडियो नेपालले एकछत्र राज गरेको थियो। रेडियो नेपालको स्थापनाकालदेखि सगरमाथा एफएम नखुल्दाको समय हरेक नेपालीको घरघरमा बज्ने त रेडियो नेपाल नै थियो। रेडियोमा बज्ने स्वर तत्कालीन समयका लागि समाजमा चर्चाका पात्र बन्थे। त्यहाँ बज्ने हरेक कार्यक्रम हरेक नेपाली माझ लोकप्रिय थिए। हरेक नेपालीको मनमा बस्ने रेडियो कार्यक्रमले उनको मनमा समेत डेरा जमाएको थियो।

    उनी कल्पना गर्थिन्, 'कुनै दिन म पनि यसैगरी रेडियोमा बोल्छु। 'रहर लाग्नु र रहरसम्म पुग्नका लागि गरिने संघर्ष धेरै फरक छ। रहरले मनमा ऊर्जा मात्र दिने हो, संघर्षले लक्ष्यसम्म पुर्‍याउने पुलको काम गर्छ', नीरा भन्छिन्, 'हरेक संघर्षले लक्ष्य भेट्टाउँछ भन्ने यकिनचाहिँ गर्न सकिँदैन।' सबैको संघर्षले हावा खान्छ भन्ने नहुने उनकाे अनुभव रहेको छ।

    रेडियो नेपालमा नै बोल्ने अवसर त उनले पाइनन् तर रेडियो सगरमाथामा लामो समय काम गरिन्। उनले आफ्नो रहर पूरा गर्नुपूर्व वेगनास गाविस- ५ को आनन्दज्योति माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गरिन्। त्यसपश्चात् उनी रेडियोमा बोल्ने रहर बोकेर अनि उच्च शिक्षा हासिल गर्न काठमाडौं आइपुगिन्। बोलीमा मिठास त थियो नै उनको, गायकी पनि उस्तै सुमधुर।

    बाल्यकाल र संगीततर्फ आकर्षण

    उनका हजुरबुबाको धेरै राम्रो स्वर थियो। हजुरबुबा भजनहरू गाउँथे। उनका बुबाले खण्डकाव्य 'रारा'लगायत 'एकोहोरो प्रेम' र अन्य केही उपन्यास पनि लेखेका थिए। बुबाको कवि व्यक्तित्व र हजरबुबाको भजन र लोक तथा दोहोरी गीतको मोहले गर्दा पनि उनलाई संगीतमा लाग्ने प्रेरणा मिल्यो। बुबा होमबहादुर रानाभाट र आमा ईन्द्रकुमारी रानाभाटकी माहिली छोरी हुन् उनी। परिवारमा उनका दाजु राजेन्द्र रानाभाट पनि संगीत साधक र संगीतको अध्यापक भएकाले दाजुले घरमा रागहरू र गीतहरू अभ्यास गर्दा पनि उनलाई संगीतमा लाग्ने मन भएको थियो। बुबाआमा नेपालको विकट जिल्ला मुगुमा करिब चार दशक शिक्षण पेसामा आवद्ध हुँदा उनी हजुरबुबा हजुरआमासँग हुर्किइन्। उनी भन्छिन्, 'म जन्मनुभन्दा अगाडिदेखि नै उहाँहरू मुगुमा नै रहनुभएकाले गर्दा वर्षमा बढीमा दुईचोटि मात्र आमाबुबासँग भेट हुने अवस्था थियो।'

    एल्बम निकाल्ने सोच र विमोचन

    संगीतमा औपचारिक रूपमा लागेको झण्डै एक दशकपछि मात्रै उनले एउटा गजल एल्बम बजारमा ल्याइन्। उनको उक्त एल्बम १९ डिसेम्बर २००९ मा राजधानीमा सार्वजनिक भएको हो। रचनाकार गजलकार डा. कृष्णहरि बराल र संगीतकार गैरे सुरेशले उनलाई जीवनमा ठूलो सहयोग गरेको बताउँछिन्। विशेषगरी डा. बराल र उनको परिवार, संगीतकार गैरे सुरेशको प्रेरणा र सहयोगले गर्दा पनि एल्बम निकाल्ने सोच बनाएको धैरै समय पनि नहुँदै यो एल्बम बजारमा ल्याउन सम्भव भएको थियो। संगीतमा लागिरहन प्रेरणा दिने अन्य व्यक्तिको नाम पनि उनले छुटाइनन्। धनबहादुर गोपाली र वरीष्ठ संगीतकार दीपक जंगम, संगीतकार प्रकाश गुरुङ, कमलप्रसाद क्षेत्री, चन्द्रराज शर्मा, सुदेश शर्मा उनको गायन यात्रालाई साथ दिने मान्छे हुन्। रेडियो सगरमाथालगायत विभिन्न मिडियामा कार्यरत साथीहरू र उनको परिवारको पनि ठूलो हात रहेको बताउँछिन् उनी।

    गाउने रहर बच्चैदेखि थियो तर लजालु स्वभावका कारण त्यति एक्सपोज गर्न मन लाग्दैन थियो उनलाई। 'अलिक लजाउँथेँ। त्यसै भएर मैले पनि गाउँछु भन्ने लागेको थिएन, गाउनेबारे त्यत्ति थाहा पनि थिएन', उनी भन्छिन्, 'तर जब म प्रवेशिका परीक्षा दिएर काठमाडौं आएँ, त्यसपछि मैले संगीत पनि सिकाइन्छ भन्ने थाहा पाएँ।' संगीत विद्यालयको खोजीमा हिँड्न थालिन् उनी त्यसपछि। त्यही क्रममा कलानिधि इन्दिरा संगीत महाविद्यालय पुल्चोकमा पुगिन्। त्यहाँ उनले गुरु धनबहादुर गोपालीसँग करिब चार वर्ष संगीत सिकिन्। त्यति मात्र होइन, प्रयाग संगीत समिति इलाहावाद भारतअन्तर्गत शास्त्रीय गायनमा सिनियर डिप्लोमासमेत गरिन्।

    यसैगरी करीव दुई वर्ष वरीष्ठ संगीतकार, रचनाकार तथा गायक दीपक जंगमसँग आधुनिक गीत गायनबारे सिक्ने मौकासमेत उनले प्राप्त गरिन् भने सांस्कृतिक संस्थानमा करिब एक वर्ष संगीत अध्ययन गर्ने मौका पनि पाइन्। सांस्कृतिक संस्थानमा गुरुहरू चन्द्रराज शर्मा, कमल क्षेत्री, सुदेश शर्मा, पञ्चनारायण महर्जनलगायतसँग संगीत सिक्ने अवसर मिलेको उनी बताउँछिन्।

    पहिलो गीत रेकर्ड र मिडियामा सार्वजनिक पहिलो गीत

    पहिलो रेकर्ड भएको गीतको त्यो घटना सम्झँदा अहिले पनि दिक्क लाग्छ रे उनलाई। 'रगतले धर्ती नभिजेसम्म उम्रन्न पौरख' बोलको राष्ट्रिय भावना झल्कने खालको गीतमा पहिलो पटक आवाज दिएकी थिइन् उनले।

    रेडियो नेपालमा यो सामूहिक रूपमा रेकर्ड गराइएको गीत थियो। उनीलगायत चार जना साथीले दिएको पैसाबाट गीतको ट्र्याक तयार भएको थियो- रेडियो नेपालको मल्टी ट्र्याक स्टुडियोमा। त्यतिबेला निकै उत्साहित पनि भएकी थिइन र नौलो अनुभव पनि भएको थियो रे उनलाई। उनी भन्छिन्, 'पछि संगीतकारले हामी चारै जनालाई धोका दिँदै यो गीत अर्कैलाई गाउन दिनुभयो भन्ने कुरा थाहा पाएँ। धेरै दुःख लाग्यो।'

    गीत क्षेत्रमा यसरी धोका दिने धेरै हुँदारहेछन् भन्ने त्यही दिनबाट थाहा भएको बताइन् उनले। 'मनभित्र एक संसार थियो आफ्नो पहिले, पराई एक नजरमै साझा भयो अहिले' बोलको उनको गीत मिडियामा पहिलो पटक सार्वजनिक भएको थियो। यो गीतमा स्वर उनको थियो भने उनका दाजु राजेन्द्र रानाभाटको शब्द र संगीत रहेको थियो यसमा। यो गीत राजेन्द्रको स्वरमा पनि रेकर्ड भएको छ।

    संचार क्षेत्रमा आवद्धता र पहिलो सार्वजनिक एल्बम

    उनी सन् २००० देखि पत्रकारिता क्षेत्रसँग आवद्ध भएकी हुन्। यस सिलसिलामा उनले रेडियो सगरमाथा र एचबिसी ९४ एफएममा काम गर्ने अवसरसमेत पाइन्। रेडियो सगरमाथामा उनले दुई वर्ष स्वयंसेवक भएर काम गरेकी थिइन्। आफैँमा एक राम्री गायिका पनि रहेकी उनी संचारकर्मसँगै अगाडि बढाइरहेकी थिइन्। विभिन्न कार्यक्रमहरू रेडियोमा चलाइन् पनि। रेडियोमा काम गरेको अनुभवबारे उनी भन्छिन्, 'ओहो, कस्तो गाह्रो भएको सुरुसुरुमा त।'

    उनका अनुसार टाढाबाट हेर्दा मात्र रहरलाग्दो देखिन्छ यो पेसा। यसका आफ्नै चुनौती र कठिनाइहरू छन्। उनी भन्छिन्, 'दिनरात खटिनुपर्ने, दौडधुप नै बढी। आफ्नो लागि समय छुट्याउनै गाह्रो।' तर पत्रकारिता गर्दै जाँदा आफूमा समाजप्रति, राज्यप्रति जिम्मेवारीबोध हुने कुरामा भने गौरव महसुस हुने उनको तर्क छ। 

    ओएसिस एल्बममा पहिलोपल्ट उनले गाएको गीत समावेस भएको थियो। त्यसपछि 'बिम्ब' गजल एल्बममा उनले गाएको पहिलो गजल 'मेरो मात्रै त होइन कथा यो, तिम्रो पनि कथा त उही हो' सार्वजनिक भएको थियो। 'बिम्ब भाग १ नै मैले गाएको गजल समावेस भएको पहिलो गजल एल्बम हो', उनले भनिन्। उनको पहिलो एकल एल्बम 'सम्भावना' १९ डिसेम्बर २००९ मा राजधानीमा सार्वजनिक भएको थियो। उनी भन्छिन्, 'यस एल्बममा गजलहरू मात्र समावेस गरेका थियौँ।' उक्त एल्बममा शब्द डा. कृष्णहरि बरालका र संगीत गैरे सुरेशको रहेको छ।

    यसका छवटा गजलहरूको एरेन्ज किरण कँडेलले गरेका थिए भने एउटा गजल ‘भेट हुन्न आज पनि जाममा परेँ म त'को एरेन्ज प्रमोद उपाध्यायले गरेका थिए। त्यसलगत्तै उनी पत्रकारिता कोर्स गर्न वेलायत पुगिन्। तर त्यसबेला विदेशी विद्यार्थीलाई जटिल कानुनी व्यवस्था लागू गरेको वेलायत सरकारले उनको पत्रकारिता पढ्ने इच्छा मारिदियो। केही वर्ष हेल्थ सोसल केयर विषय पढेर उनी नेपाल फर्किइन्। त्यहाँ समग्र पत्रकारिता पढ्नचाहिँ पाइँदैनथ्यो र पत्रकारिताको केही अंश उक्त विषयमा पढ्नपर्थ्यो। स्नातकोत्तरमा पत्रकारिता पढ्न उनी पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कलेज भर्ना भइन्। जहाँबाट केही दिनअघि मात्र उनले पत्रकारिता स्नातकोत्तर उत्तीर्ण गरिसकेकी छन्। अब के गर्नुहुन्छ त? भन्ने प्रश्नमा उनी भन्छिन्, 'मिडिया हाउसतिर कुरा भइरहेको छ। पुन: पत्रकारितामा फर्किन्छु।' 

    नेपाली संगीतबारे यसो भन्छिन्

    आधुनिक गीत, गजल तथा शास्त्रीय र लोक गीत उनका लागि लोकप्रिय छन्। संगीत क्षेत्रमा आइडलको रूपमा उनी गायनमा नारायण गोपाल र अरुणा लामालाई लिने गर्छिन्। उनी भन्छिन्, 'मलाई राम्रो गाउने, लेख्ने र संगीत भर्ने सबै जना उत्तिकै मनपर्छ।'

    नेपाली संगीतमा सुधार गर्नुपर्ने कुरा धेरै रहेको बताउँछिन् उनी। नयाँ पुस्तालाई अग्रजहरूको माया र सद्भाव अनि प्रेरणा आवश्यक छ। त्योभन्दा बढी राम्रो गायन क्षमता भएका व्यक्तिलाई मिडियाको सहयोग, म्युजिक कम्पनीको सहयोग र आफ्नै परिवारको सहयोग पनि आवश्यक रहेको उनको भनाइ छ। उनी भन्छिन्, 'संगीतको चोरी अर्को विडम्बना छ। रोयल्टीको अधिकार पनि अलिक व्यवस्थित छैन', उनले भनिन्।

    सरकारले पनि संगीतको विकास र स्रष्टाको संरक्षण तथा जीविकोपार्जनका लागि विशेष कार्यकम ल्याउनुपर्ने उनको माग छ। रेकर्डिङ शुल्क अलिक सस्तो भइदिए संगीतमा रुचि हुने निम्न आर्थिक परिवारका व्यक्तिलाई पनि सहज हुने उनको धारणा छ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]