समाज

जिरोकिलो-मेलम्ची सडकखण्ड : रोपाइँ गर्न लागिएको खेतजस्तै

क्रसर उद्योग र टिपर आतंक उस्तै

साउन २६, २०७५

    सिन्धुपाल्चोक : मध्य बर्खाको समय। जिरोकिलो–मेलम्ची सडक खण्डको २२ किलोमिटरको यात्रा। सबै यात्रुको मुखबाट निस्कने एउटै शब्द हो, उफ् !

    सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा परिचित मेलम्ची, हेलम्बु जाने जिरोकिलो–मेलम्ची सडकको अवस्था दयनीय छ।

    २२ किलोमिटरको सडकमा अधिकांश खण्ड ठूला-ठूला खाल्डा छन्। सडकको अवस्था हेर्दा रोपाइँ गर्न लागिएको खेतजस्तै छ। सडककोे बिच भागमा पानी जमेर सवारी सधन सहज रूपमा गुड्न सक्ने अवस्था नै छैन। जिरोकिलो मेलम्ची सडकखण्डको अवस्था बिग्रिएको झण्डै एक दशक पूरा भइसक्यो तर सडकको अवस्था सुध्रिएको छैन।

    सडकमा दैनिक ८०० भन्दा बढी सवारी साधन आवतजावत गर्छन्। टिपर मात्रै ५०० भन्दा बढी धेरै सञ्चालन हुने गरेको जिरोकिलोका स्थानीय शंकर श्रेष्ठले भने। ‘सडकमा टिपरको आतंकै छ। जीर्ण अवस्थाप्रति सरकारी निकायले कहिल्यै चिन्ता गरेन। यो सडकको यात्राले चालक र यात्रुलाई साह्रै पीडा दिने गरेको छ’, उनले भने, ‘गाडीले उचाल्ने,पछार्ने गर्छ। यात्रा नगरी सुख छैन।’ बसले उचालेर घाइते भइएला भन्ने डर हुने गरेको उनको भनाइ छ। 

    सडकको कुन्ता, ढाटखोला, फटकेश्वरलगायतको सडकमा सवारी साधनका लागि निकै जोखिम छ। सडकमै पानी बगेको छ। जताततै खाल्डैखाल्डा छन्। सडकको मर्मत एसियाली विकास बैंक (एडीबी) र सरकारको लगानीमा भइरहेको छ। दस वर्षअघि मेलम्ची आयोजनाले गरेको कालेपत्रे प्रयोगमै नआई भत्केपछि सरकारले अर्को टेन्डर गरेको थियो।  

    वर्षात र मुआब्जा वितरणको समस्याले काममा बाधा पुगेको निर्माणको जिम्मा लिएको स्वछन्द निर्माण सेवाका जयराम लामिछानेले बताए। सरकारको १२ र एडीबीको ८८ प्रतिशत सहयोगमा सडकको कालोपत्रे गर्ने योजना छ।  करिब ९० करोडको लागतमा आगामी वर्ष पूरा गर्ने लक्ष्य राखिएर निर्माण कार्य भइरहेको उनको भनाइ छ। निर्माणको जिम्मेवारी लिएको ६ महिना बितेको छ। वर्षातको समयमा सडकको चौडा र कालोपत्रे गर्ने काम थालिएको छ। भत्किएको कालोपत्रै, टिपरको मनपरि र सडकमा परेको खाण्डाखुल्डीले जिरोकिलो–मेलम्ची सडकखण्डमा यात्रा गर्ने यात्रु वाक्क भएका छन्।

    इन्द्रावतीमा क्रसरले मापदण्डविपरीत उत्खनन् गर्दै आएको भएकाले टिफरको आवागमनमा वृद्धि भएको छ। इन्द्रावती नदी किनारमा मापदण्डविपरीत दर्जन क्रसर उद्योग सञ्चालनमा आएका छन्। क्रसरले मापदण्डविपरीत राति-राति स्काभेटरको प्रयोग गरेर बालुवा गिट्टी, रोडा उत्खनन् गर्ने गरेको स्रोतले जनाएको छ। क्रसरले मनपरि ढंगबाट नदी उत्खनन् गर्दा स्थानीय सरकार, प्रहरी र प्रशासन मौन छन्।

    क्रसरका कारण टिपरको संख्या बढ्दै गएपछि यसको भार थेग्न नसकेर सडकको अवस्था जीर्ण बन्दै गएको आवाज स्थानीयले उठाउँदै आएका छन्। टिपरलगायत सवारी साधनबाट संकलित राजस्वअन्तर्गत साढे चार करोड सडक मर्मतमा खर्च गर्न सकिने जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। टेन्डरबाट ठूलो रकम खर्च हुने गरेको उनको भनाइ छ। खर्चको पर्वाह नगरी जिल्ला समन्वय समितिले टेन्डरबाट नै राजस्व संकलन गर्ने गरेको जनाए।

    ठेकेदारले हिउँदमा चुपचाप बसेर बर्खा लागेपछि मात्रै काम सुरु गरेर सडकको यस्तो दुर्दशा भएको स्थानीयको भनाइ छ। सरकारी निकायबाटै बर्खा लागेपछि सडक निर्माण थाल्ने भएकाले बन्नुभन्दा धेरै सडक बिग्रिने गरेको छ। फलस्वरूप बर्सेनि अर्बौँँ रुपैयाँ  खेर जाने गरेको छ।

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]