काठमाडौँ : नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ। पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच त...
काठमाडौं : विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ। सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट स्वदेश फर्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो बताए।
बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुनलागेको हो। अर्थमन्त्री डा खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गरे। बैंकले नेपालमा हाल करीब रु दुई अर्ब ७० करोड डलर अर्थात रु दुई खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न आयोजनामा गरिरहेको छ।
सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्वपूर्ण छलफल भएको उनले जानकारी दिनुभयो। नेपाल सरकार र विश्व बैंकबीच पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो। सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भई बैंकले समेत पारित गरिसकेको छ।
'हामीले समग्र कार्यक्रम र योजनाको ढाँचा तयार पारेका छौँ। त्यसको लागत अनुमान पनि भएको सन्दर्भमा सहायता दोब्बर हुन्छ भनेर हामीलाई बताउनुभएको छ',अर्थमन्त्री डा खतिवडाले भने।
नेपालले भूकम्पपछिको पुनःनिर्माणका लागि समेत सो बैंकबाट थप सहायता ल्याउन प्रस्ताव गरेको छ। यस्तै केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजेको छ। यस्तै संघीयता कार्यान्वयन र विकासका आवश्यकता पूरा गर्न बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग महत्वपूर्ण छलफल भएको अर्थमन्त्री खतिवडाको भनाइ छ।
अर्थमन्त्री डा खतिवडाले यही साउन २२ गते बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। उनले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराए।
उनले नेपालले आर्थिक विकासको लागि लिएको रणनीतिको बारेमा जानकारी गराउँदै ‘दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध’ रहेको उल्लेख गरे।
नेपालले विकासको अभूतपूर्व अवसर पाएको भन्दै उनीहरूले खुला हृदयका साथ सहयोग गर्ने बचन दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ। नेपालमा लगानीका लागि बैंक, साझेदार संस्था र अमेरिकी लगानीकर्ता उत्साहित भएको आफूले पाएको उल्लेख गरे। अर्थमन्त्री डा खतिवडा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही साउन १८ गते अमेरिका गएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।