समाज

गरिब परिचयपत्र पाउनेलाई निःशुल्क स्वास्थ्य बिमा

प्रतीकात्मक फोटो
साउन २७, २०७५

    बागलुङ : जिल्लामा गरिब घरपरिवार पहिचान भएका ११ हजार २०१ गरिब घरपरिवार सबैलाई परिचयपत्र दिइसकेपछि निःशुल्क स्वास्थ्य बिमा गराइने भएको छ। परिचयपत्र पाएकाहरूलाई पहिलो चरणमा कम्तिमा पनि नि:शुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय भएको जिल्ला समन्वयका प्रमुख राजेन्द्र ढुंगानाले बताए। आर्थिक वर्ष २०७५/०७६ का लागि निःशुल्क स्वास्थ्य बिमा गराउने जिल्ला समन्वय समितिले निर्णय गरेको हो।

    जिल्लामा गरिब घरपरिवार पहिचान गरिएपछि पहिलोपटक परिचय वितरणको काम पनि थालिएको छ। पहिलो चरणमा निसीखोला गाउँपालिकाबाट परिचयपत्र वितरणको काम थालिएको हो।

    राष्ट्रिय योजना आयोगले जिल्ला समन्वय समितिमार्फत गरेको अध्ययनबाट गरिब घरपरिवारको सूचीकृत गरिएको हो। झण्डै एक वर्ष अघिदेखि सबै स्थानीय तहमा पुगेर गरिएको खोजी अभियानबाट उनीहरूको संख्या पत्ता लगाइएको हो।

    परिचयपत्र पाएका घरपरिवारलाई राहतस्वरूप न्यूनतम सेवा दिने गरी तयारीसमेत थालिएको हो।  ‘आर्थिकरूपमा विपन्न भएकोले उनीहरूलाई राज्यका सेवा सुविधामा पनि राहत दिनुपर्छ भनेका छौँ’ ढुंगानाले भने, ‘गरिब भएर पहिचान भएकालाई रोजगारीका अवसरमा पनि प्राथमिकता दिनुपर्छ।’

    उक्त कार्यक्रमले पनि जिल्लाका चार हजार घरका २० हजार विपन्न नागरिकको नि:शुल्क बिमा गर्ने योजना बनाएको छ। विपन्न परिवारले प्रिमियम तिर्न नसक्दा बिमा हुन नसक्ने, उपचारको क्रममा धेरै खर्च लाग्दा ऋणमा परेको र कतिपयको उपचार अभावमै मृत्यु भएका घटना धेरै पाइएपछि समितिले निःशुल्क बिमा गरिदिन लागेको हो। उनीहरूले वार्षिक दुई हजार ५०० प्रिमियम तिरेमा वर्षभरी ५० हजार रुपैयाँको उपचारको बिमा हुनेछ।

    ‘यो अभियानले अति आवश्यक पर्ने नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने वातावरण बन्नेछ’ जिल्ला समन्वय अधिकारी नारायण प्रसाद सापकोटाले भने, ‘हामीले सबै घरपरिवारको नियमित अनुगमन पनि गरेका छौँ।’ न्यून आए भएका, दैनिक ज्याला मजदुरीमा नगएका, खानै नपुग्ने र उपचार खर्च अभावमा मृत्युवरण गर्न बाध्य घरपरिवारलाई गरिब घरपरिवारको सूचीमा सूचीकृत गरिएको उनले स्पष्ट पारे। सूचीकृत भएकाहरूलाई जतिसक्यो छिटो परिचयपत्र वितरण गर्ने योजनासमेत बनाइएको उनले बताए।

    उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा एक करोड ९६ हजार रुपैयाँ खर्च गरेर गरिब घरपरिवार पहिचान गरी परिचयपत्र वितरणको काम थालिएको हो। उनीहरूको बिमा रकमका लागि व्यहोर्ने रकम प्राप्त हुनासाथ अनिवार्य बिमा गराइने उनले बताए।

    गरिब घरपरिवास पहिचान भएको वर्षमै एक हजार ३३ जनालाई परिचयपत्र समेत वितरण गरिसकिएको छ। बाँकीलाई दसैंअघि नै परिचयपत्र वितरण गरिसक्ने योजना समितिले बनाएको छ। त्यतिबेलासम्म उनीहरूको बिमाको प्रिमियम पनि जम्मा गरिसकिने कार्यक्रम छ।

    यसैबीच गरिब घर परिवारमा सूचीकृत भएकाहरू धनी परिवारको भएको गुनासो उठेको छ। न्यूनतम मापदण्डमा नपरेकाहरूको नामसमेत गरिब परिवारमा सूचीकृत भएको भन्दै गलकोटलगायतका क्षेत्रका बासिन्दाले सामाजिक संजालमा टिप्पणीसमेत गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]