समाज

चार वडा कार्यालयको कामकाज एउटै कोठाबाट

साउन २७, २०७५

    बझाङ : यहाँको वित्थडचिर गाउँपालिकाका चारवटा वडा कार्यालयको कामकाज एउटै कोठाबाट संचालन हुँदै आएको छ। वडा कार्यालयका आफ्नै छुट्टै भवन नहुँदा जिल्लाको वित्थडचिर गाउँपालिकाअन्तर्गत पर्ने ६, ७, ८ र ९ नम्बर वडा कार्यालयहरूको कामकाज एउटै साघुँरो कोठाबाट संचालन हुँदै आएको हो।

    साघुँरो तथा एउटै कोठामा वडा कार्यालयको कामकाज संचालन गरिँदा सेवाग्राहीलाई सेवा लिन अप्ठेरो हुने गरेको छ। वित्थडचिर गाउँपालिकास्थित वडा न. ७ मा रहेको सुनकुडा बजार नजिकै एकतले घरको एउटा कोठाबाट चारवटा वडा कार्यालयहरूले संयुक्त रूपमा सेवा दिइरहेका छन्।

    वर्षायाम भएकै कारण कोठामा पानी चुहिने भएकाले आजकाल कर्मचारी र जनप्रतिनिधिलाई समेत उक्त कोठामा बस्न अप्ठेरो हुने गरेको छ। चारवटा वडा कार्यालयको काम संचालन हुँदै आएको उक्त कोठाको मासिक भाडा दुई हजार दिने गरेको वित्थडचिर गाउँपालिका ७ का वडा अध्यक्षप्रसाद विष्टले जानकारी दिए। 'सबै वडा कार्यालयमा भवन अभाव छ। अलगअलग कोठा भाडामा लिँदा गाउँपालिकाले भाडा तिर्न मान्दैन्', ६ न. वडा अध्यक्ष हर्क बहादुर धामीले भने, 'अहिलेसम्म समस्या झेल्दै आएका छौँ। यस आर्थिक वर्षभित्र केही विकल्प खोजिने छ।'

    साघुँरो कोठामा चार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधि बाहेक सेवाग्राहीलाई बस्ने ठाउँको अभाव देखिन्छ। सेवाग्राहीले सेवा लिन आउँदा बाहिर खुला चौरमा बस्नु पर्ने बाध्यता रहेको छ। आइतबार वडा कार्यालयमा सेवा लिन पुगेका वित्थड चिर गाउँपालिका ८ का स्थानीय देवदत्त अवस्थीले भने, 'चार वडा कार्यालको कामकाज एउटै साघुँरो कोठामा हुने गरेको छ। सेवाग्राहीलाई भित्र बस्न ठाउँ छैन। बाहिर बस्दा दिनहुँ पानी पर्छ। सेवाग्राहीलाई अप्ठेरो महसुस हुने गरेको छ।'

    धेरै वडा कार्यालयको काम एउटै कोठाबाट संचालन गरिँदा भीडभाड भई ढिलासुस्ती हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। जनप्रतिनिधि पाएसँगै जनताले सबै कामकाज सहज रूपमा घरमै पाउने आशा गरेको भएता पनि वित्थडचिर गाउँपालिकास्थित चारवटा वडावासी भने अझै सेवा लिन तीन घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेको छ। वडा कार्यालय घरबाट निकै टाढा भएकाले सामाजिक सुरक्षा रकम लिन ज्येष्ठ नागरिकलाई समेत समस्या हुने गरेको छ। वित्थडचिर गाउँपालिका वडा न. ७ बाट अन्य भवनविहीन तीनवटा वडासम्म पुग्न दुईदेखि तीन घण्टा लाग्ने गर्दछ। आफ्नै वडामा वडा कार्यालयको भवन निर्माण गरी काम संचालन हुनु पर्नेमा स्थानीयबासीले माग गर्दै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]