समाज

झापामा रोकिएन हात्तीको उपद्रो

भदौ ४, २०७५

    दमक (झापा) : जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाले लगातारको हात्तीको आक्रमण सहँदै आएका छन्। उनीहरूले तीनै तहका सरकारसँग यसलाई दिगो रूपमा समाधान गर्नसमेत माग गरेका छन्।

    जंगल नजिकै रहेका बस्तीमा दिनहुँजसो हात्तीका बथानले दुःख दिएको भन्दै उनीहरूले समस्याको समाधान गर्न माग गरेका हुन्। यसै क्रममा आइतबार राती कमल गाउँँपालिका- ५ स्थित गुह्येश्वरी बस्तीमा हात्तीको बथान नै प्रवेश गरी विभिन्न क्षति पुर्‍याएको छ। हात्तीले स्थानीय स्थानीय मदन कार्कीको घरमा क्षति पुर्‍याएको छ भने अन्नबालीसमेत नष्ट गरेको उनले बताए।

    नजिकैको वन क्षेत्रबाट आउने जंगली हात्तीले यस क्षेत्रमा बारम्बार नोक्सानी गर्ने गरेको वडा अध्यक्ष डम्बरबहादुर निरौलाले बताए। हात्तीकै कारण उक्त बस्ती नजिकै रहेको पाथीभरा सशस्त्र प्रहरीको चमेनागृहमा समेत क्षति पुगेको छ। हात्तीलाई सशस्त्र प्रहरी, स्थानीयहरू मिलेर जंगलतर्फ धपाएका थिए। यसैबीच सोमबार स्थानीय रेडक्रस तथा वडा कार्यालयको टोली उक्त स्थानमा पुगी क्षतिको विवरण संकलन गरेको छ। गाउँपालिकाले समेत पीडित कार्कीको घरको पुनर्निर्माण गर्न प्रारिम्भक राहत दिने वडा अध्यक्ष निरौलाले बताए।

    झापाको कमल गाउँपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिकाका साथै इलामको चुलाचुली गाउँपालिकाका बासिन्दासमेत हात्तीको हैरानी सहँदै आएका छन्। केही वर्षअघिसम्म झापाको पूर्वोत्तर क्षेत्रमा जंगली हात्तीले बढी नोक्सानी गर्ने गरेको थियो तर भारतबाट हात्ती प्रवेश स्थानमा सोलार फेन्सिङ जडान गरिएपछि ती स्थानमा हात्तीले पुर्‍याउने क्षतिमा कमी आएको छ। केही दिनअघिसमेत दमक- ३ का विभिन्न स्थानमा जंगली हात्तीले क्षति पुर्‍याउनुका साथै घर गोठमा समेत नोक्सानी पुर्‍याएको थियो।

    दमक- २ र ३ मा पटक पटक हात्तीले नोक्सानी पुर्‍याउने गरेको छ। स्थानीय हम्सेदुम्से सामुदायिक वनमा रहने हात्तीसमेत बस्तीमा प्रवेश गरेर नोक्सानी गर्ने गरेको स्थानीय गणेशकुमार चाम्लिङले बताए। हात्तीको समस्या बढिरहेकै कारण केही समयअघि दमक- ३ मा लायन्स क्लब अफ दमक इस्टर्न लाइनले साइरन उपलब्ध गराएको थियो। हात्ती गाउँमा प्रवेश गरे त्यसबाट जोगिन सबैलाई जानकारी गराउन उपयोगी हुने ठानेर साइरन प्रदान गरिएको क्लबका अध्यक्ष विमल शर्माले बताए।

    ‘स्थानीय सरकारले मात्रै सक्दैन’

    हात्ती संरक्षित जनावर भएकाले यसलाई मार्न मिल्दैन। त्यसैले हात्तीको उपद्रो र क्षति मात्र न्यूनीकरण गर्न सकिने जनप्रतिनिधिहरू बताउँछन्। कमल- ५ का वडा अध्यक्ष डम्बर निरौलाले भने, ‘हात्ती मारेर समस्याको समाधान हुँदैन। गाउँमा प्रवेश गर्न नदिने गरी पूर्वाधार बनाउन गाउँपालिकाको बजेटले भ्याउँदैन। त्यसैले माथिल्लो तहका सरकारहरूसँग समन्वय गरी समाधान खोज्दै छौँ।’

    दमक- ३ का वडा अध्यक्ष नवीन बरालले पनि हात्ती नियन्त्रणका लागि वृहत बजेट र स्राेत साधन चाहिने भएकाले स्थानीय तहले मात्र सम्भव नहुने बताए। ‘हामीले सक्ने काम त गरिरहेका छौँ। बाटोका झाडी हटाउने, सोलार बत्ती जोड्नेलगायतका काम गरिएको छ’, उनले भने, ‘दिगो र दीर्घकालीन रूपमा समस्या समाधानका लागि भने माथिल्लो तहका सरकारका साथै दातृ निकायहरूबाट पनि हामीले सहयोगको अपेक्षा गरेका छौँ।’

    झापासँगै जोडिएको इलामको चुलाचुली गाउँपालिकाका बासिन्दाले समेत हात्तीको नोक्सानी सहँदै आएका छन्। यस गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले पनि संघ तथा प्रदेश सरकारसँगै समन्वय गरी आर्थिक र प्राविधिक सहायता लिने बताए। ‘चुलाचुलीसँगै हात्तीको समस्या भएका स्थानीय तहको समस्या एकमुष्ट रूपमा समाधान गर्न हामी समन्वय गरेर काम गर्दै छौँ’, उनले भने, ‘तत्कालीन समस्या समाधान वा राहतका लागि स्थानीय तहले काम गर्ने भए पनि यसको दीर्घकालीन समाधानका लागि संघ र प्रदेश सरकारबाटै कार्यक्रम आउन आवश्यक छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]