खेलकुद

एसियाली खेलकुद : अपेक्षा गरेका खेलबाटै निरास

भदौ ५, २०७५

    नेपाल ठुलो अपेक्षा सहित अहिले खेलकर्मी र खेल पधाधिकारीको जम्बो टोली सहित जर्कातामा रहेको छ। एसियाली खेलकुदको महाकुम्भ खेल्ने खेलाडी १ सय ८५ रहँदा हेर्न जाने पधाधिकारी उतिकै हाराहारीमा जकार्ता पुगेका छन्। तर नेपालको प्रदर्शन भने निकै निरासाजनक छ।

    सुरुवातबाट नै कमजोर प्रदर्शनको सिकार भएको नेपाल सर्वाधिक अपेक्षा गरेको तेक्वान्दोमा तेस्रो दिनसम्म आइपुग्दा सुधार गर्न सकेको छैन्। त्यसोत उसु, ब्याडमिन्टन, पौडीलगायतका खेलमा नतिजा ब्यक्तिगत प्रदर्शनमा ठिकै भएपनि पदकको मामिलामा निकै कमजोर बनेको छन्।

    तेस्रो दिनको उपलब्धिका रुपमा प्याराग्लाइडिङमा ब्यक्तिगत एक्युरेसि तर्फ विजयी गौतम दुई चरणको समाप्ति सम्म तेस्रो अवस्थामा छन्। तर अझै ४ चरण खेल्नु पर्ने भएकाले उनको प्रदर्शन आगामी दिनलाई छोडिएको छ। सोमबार कुन खेलको कस्तो प्रदर्शन रह्यो। जुन यसप्रकार छ

    मायांका र माहिका प्रिक्वाटरमा

    १८ औं एसियाली खेलकुदअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरे। पालेम्वाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे। प्रिक्वाटरफाइनलमा उक्त जोडीले जापानसंग मंगलबार खेल्ने छन्। पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–१ र ६–१ को सीधा सेटमा हारे ।

    ब्याडमिन्टन : क्वाटरफाइनलमै सीमित

    ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेईंसँग ३–० ले पराजित भयो। पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–१४ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–१० र २१–११ को सोझो सेटमा पराजित भए। महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ। ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ तारिखदेखि सुरु हुने

     गौरिका १८ र टीसा २२ औं स्थानमा

    एसियाली खेलकुदको पौडीमा सोमबार दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गर्दा दुबैको प्रदर्शन निकै निरासाजनक रह्यो। गौरिका सिंह र टीसा शाक्य दुवैले १ सय मिटर फ्रिस्टायलमा भाग लिएका थिए। २७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औं र टीसा २२ औं स्थानमा रहे। गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट ००.८२ सेकेन्ड समय खर्चिन्। टीसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी तय गरिन्। मंगलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन्।

    तेक्वान्दाेमा सागर क्वाटरफाइनलमा रोकिए

    तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन्। सागर भियतनामका खेलाडीसँग २५–५ अंकले पराजित भए। त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए।

    त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसंग २३–१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले पछि परे। मंगलबार ३ खेलाडीले नेपालको चुनौती पस्कने छन्। महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले खेल्नेछन्।

    सुटिङमा सकियो आस

    सुटिङमा नेपालको चुनौती समाप्त भएको छ। नेपालबाट एक पुरुष र दुई महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुषमा सुशे चौधरी तथा महिलामा कल्पना परियार र सुस्मिता नेपालले व्यक्तिगत १० मिटर एयर राइफलमा भाग लिएका थिए।

    उक्त स्पर्धा ६ सय ५४ पूर्णाङ्कको थियो। सुशेले ५ सय ८१ को प्रदर्शन गरे। ४४ जना सहभागिमा सुशे ४२ औं स्थानमा रहे। त्यस्तै कल्पनाले ५९४.८ र सुस्मिताले ५८७.१ अंक जोडे। ४८ खेलाडी सहभागी यो स्पर्धामा कल्पनाले ४५ औं र सुस्मिताले ४६ औं स्थान हात पारे। दुई राष्ट्रका खेलाडी अनुपस्थित रहे।

    प्याराग्लाइडिङ अपेक्षा बाँकी 

    एसियाड अन्तर्गत सोमबारनै भएको प्याराग्लाइडिङको व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा छन्। पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन्। यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन्। यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ। ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी गराए। यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन्। अर्का नेपाली खेलाडी सुशील गुरुङ्ग भने २५औं स्थानमा छन्।

    उता एक्युरेसीको महिला टिम इभेन्टको दोश्रो चरण समाप्तिमा नेपाल चौथो स्थानमा छ। इन्डोनेसिया पहिलो स्थानमा छ भने दक्षिण कोरिया दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छन। यो इभेन्टमा ९ राष्ट्र सहभागी छन्। पुरुष टिम इभेन्टको २ चरण सकिदा नेपाल आठौं स्थानमा छ। यो स्पर्धा पनि इन्डोनेसिया पहिलो स्थानमा छ भने थाइल्यान्ड दोस्रो र चीन तेस्रो स्थानमा छ। यो इभेन्टमा १५ देशबीच प्रतिस्पर्धा भइरहेको छ। नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा पनि प्रतिस्पर्धा गर्न बाँकी छ।

    उसुमा निमा ११ औं

    बाह्र खेलाडी सहभागी महिलाको नान् ताउमा नेपालकी निमा घर्ती मगरले ११ औं स्थान हासिल गरेकी छन। निमाले ९.१७ अंक जोडिन। पुरुष छान् छ्वानमा नेपालका युवराज थापा मगरले ८.२२ अंकसाथ २१ औं स्थान हात पारे। २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सान्सौंतर्फ पुरुष ५६ केजीमा पदम ठकुल्ला लाओसका खेलाडीसंग पराजित भए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]