दाङ : दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। रा ...
दाङ : सरकारले हरेक हप्ताको एक दिन (शनिबार) सार्वजनिक बिदा दिने गरेको छ। तर त्यो सार्वजनिक विदालाई जिल्ला प्रशासन कार्यालय दाङले सेवाग्राहीलाई खर्चेको छ,त्यो पनि कुनै पारिश्रमिक नलिएर।
अन्य समयमा व्यस्त हुने सेवाग्राहीलाई मध्यनजर गरी भदौ २ गते देखि शनिबार पनि जिल्ला प्रशासन कार्यालय दाङले सेवा दिन थालेको छ। शनिबार सेवा दिन थालेपछि सकारात्मक र नकारात्मक टिप्पणी पनि भए । धेरैले 'ओभरटाइम' काम गरेको ‘ओटी’ भत्ता लिनलाई सेवा सुरु गरेको भनेर टिप्पणी पनि गर्ने गरेका छन्। तर दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आफूहरूले कुनै पारिश्रमिक नलिइकनै सेवा शुरु गरेको बताए।
‘हामीले शनिबार काम गरेको कुनै पारिश्रमक नलिएर सेवा प्रदान गर्न लागिरहेको छौँ’ उनले भने ‘कुनै पारिश्रमिक नलिने विषयमा गृहमन्त्रालयलगायत सम्बन्धित माथिल्लो निकायमा जानकारी गराएका छौंँ।’ शनिबार पनि सेवा दिने अभ्यास दाङमा पहिलो हो। व्यस्त कर्मचारी तथा शुक्रबार काम नसकेर बाँकी रहेको काम गर्नलाई आइतबार कुर्नु पर्ने बाध्यता अन्त्य होस् भनी कर्मचारीले शनिबार नास्ता समेत नखाएर काम गरिरहेकोे बताए। ‘नेपाल सरकारको एक रुपैँया पनि नखाएर हामीले काम गरिरहेका छौँ’, प्रजिअ श्रेष्ठले भने।
करिब ३५ जना कर्मचारीले जिल्ला प्रशासन कार्यालय दाङमा नियमित काम गर्छन्। ती कर्मचारीमध्ये शनिबार ४ जना कर्मचारी खटाउने गरेको प्रजिअ श्रेष्ठले बताए। उनका अनुसार महिनामा एउटा कर्मचारीको एक पटकसम्म मात्रै शनिबार 'ड्युटी' पर्ने बताए। ‘हामीकहाँ अहिले ३५ जना कर्मचारी कार्यरत हुनु्हुन्छ’ उनले भने ‘ती मध्ये एउटा शनिबार चार कर्मचारी खटाईरहेका छौँ, एउटा कर्मचारीको महिनामा एक पटक मात्रै शनिबार 'ड्युटी' पर्छ।’ यसले कर्मचारीलाई त्यति मार पनि नपर्ने र सेवाग्राहीलाई सेवा दिन पनि सहज हुने बताए।
जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत सबै कर्मचारी लगभग दाङकै हुन्। त्यसमा पनि घोराही आसपासकै हुन्। एक जना कम्प्युटर अपरेटर मात्रै सप्तरीको भएको र अन्य कर्मचारी घोराही आसपासकै भएकाले पनि सेवा शनिबार पनि सेवा प्रवाह गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो। ‘सबै कर्मचारी लोकल हुनुहुन्छ’ उनले भने ‘उहाँहरूकै उत्साहले नै सेवा प्रवाहमा सहजता भएको छ।’
कर्मचारीहरुकै सक्रियता र उत्साहले गर्दा सेवा शुरु गरिएको उनको भनाइ छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङकोअहिलेको कार्यक्षेत्र घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा मात्रै हो। तर शनिबार दिइने सेवा १० वटै स्थानीय तहका नागरिकले पाउने छन्। इलाका प्रशासन कार्यालय तुलसीपुरले पश्चिमको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिँदै आएको छ।
त्यस्तै इलाका प्रशासन कार्यालय लमहीले लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। तर शनिबार यी दशवटै स्थानीय तहका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय दाङबाट सेवा लिनसक्ने प्रजिअ श्रेष्ठले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।