स्वास्थ्य

सगरमाथा आँखा अस्पतालमा भारतीय बिरामीको संख्या बढी

भदौ ५, २०७५

    लहान : शल्यक्रियाका हिसाबले विश्वमै तेस्रो स्थानमा रहेको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा आँखाका बिरामीको घुइँचो लाग्न थालेकाे छ। भारतको तमिलनाडु मधुराईस्थित अरविन्द आँखा अस्पताल र मध्यप्रदेश चित्रकूटस्थित आँखा अस्पतालमा राम्राे सेवा भए पनि सगरमाथा चौधरी आँखा अस्पतालमा भारतीय आँखाका बिरामीको घुइँचो लाग्ने गरेकाे देखिन्छ। 

    सगरमाथा चौधरी आँखा अस्पतालका अनुसार सन् १९८३ मा स्थापना भएकाे याे अस्पतालमा ४९ लाख ८४ हजार ४१६ जना बिरामीले उपचारपछि उज्यालो पाएकाे तथ्यांक छ। याे ३५ वर्षकाे अवधिमा १० लाख ६१ हजार ७१२ जना आँखाका बिरामीको त शल्यक्रिया मात्र भएको देखिन्छ, जसमा भारतीय आँखाका बिरामीको संख्या नै बढी रहेको अस्पतालले जनाएको छ।

    ९० प्रतिशत बढी भारतीय बिरामी 

    आँखा अस्पताल आउने बिरामीमध्ये ९० प्रतिशत बढी भारतीय हुने गरेको अस्पतालले जनाएको छ। पछिल्लो समय एकाध जना बिरामी त बंगलादेशबाट पनि आँखा उपचारका लागि आउने गरेको अस्पतालका प्रबन्धक अभिषेक रोशनले सुनाए। उनका अनुसार आँखा जाँचका लागि भारतको आन्ध्र प्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, दिल्ली, गुजरात, हरियाणा, हिमाञ्चल, झारखण्ड, कर्णाटक, मध्यप्रदेश, महाराष्ट्र, मेघालय, नागाल्याण्ड, उडिसाका बिरामीहरू आउने गरेका छन्।

    आँखा उपचारको प्रविधिमा अगाडि भए पनि प्रायः दक्षिण भारतमा मात्र केन्द्रित रहेका आँखा अस्पताल र उपचार केन्द्रहरूमा गरिब, निमुखा, असहायहरू महँगो शुल्कको कारण उपचार सेवा पाउनै सक्दैनन्’, प्रबन्धक रोशनले भने, ‘त्यसैले लहान अस्पतालमा दैनिक रूपमा जाँचिने आँखाका रोगीमध्ये करिव ९० प्रतिशत भारतीयहरू हुने गर्छन्।’ 

    वर्षमै साढे तीन लाख बढीको जाँच

    स्व. छविलाल चौधरी र सरोवरलाल चौधरी तथा रवीन्द्रलाल चौधरीसहित तीन परिवारले जग्गा उपलब्ध गराएपछि सन् १९८३ देखि जर्मनीस्थित क्रिष्टोफर ब्लाइण्ड मिसनको सहयोगमा संचालन हुँदै आएको अस्पतालले सन् २०१८ को पछिल्लो जुलाईसम्मको सात महिनाको अवधिमा एक लाख १४ हजार ४७२ जनाको आँखा जाँच र ३१ हजार १२३ जनाको शल्यक्रिया गरेको प्रबन्धक रोशनले उल्लेख गरे।

    सन् २०१७ मा मात्र तीन लाख ६२ हजार २७५ जना आँखाका बिरामीको जाँच र उपचार गरिसकेको अस्पताल प्रबन्धक अभिषेकले बताए। प्रबन्धक रोशनका अनुसार उक्त अवधिमा ६१ हजार ४४५ जनाको आँखाको शल्यक्रिया गरिएको छ। ‘सस्तो र गुणस्तरीय आँखा उपचार हुने भएकाले आँखा उपचारका लागि आउने बिरामीको संख्या बढेको हो’, उनले भने। 

    बालमैत्री ओपिडी र नानी प्रत्यारोपण

    अस्पतालले आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि आउने बिरामी बालबालिकाका लागि छुट्टै बालमैत्री ओपिडी मात्र संचालन गरेको छैन। आँखाको पर्दाको शल्यक्रियादेखि आँखाको नानी प्रत्यारोपणसमेतको सेवा उपलब्ध गराइरहेको छ। अस्पतालले लहानमै डा. अबलेच्ट हेनिङले आविष्कार गरेको 'फिस हुक' प्रविधिको मोतियाबिन्दुको शल्यक्रिया, कृत्रिम आँखा निर्माण र राखिने सेवा, फास्ट ट्र्याक पेइङ क्लिनिक संचालन गरिरहेको अस्पतालका मेडिकल अधिकृत डा. संजय सिंहले बताए।

    शल्यक्रिया र जटिल उपचार सेवाबाहेक अन्य उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराउन अस्पतालले पूर्वी पहाड र तराईका छ जिल्लाका १० ठाउँमा उपचार केन्द्र स्थापना गरी सेवा दिइरहेको छ। अस्पतालले खोटाङकाे दिक्तेल र हलेसी, उदयपुरको गाईघाट र कटारी, सिरहाको मिर्चैया र सिरहा सदरमुकाम लहान, सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र बर्दिबास तथा सर्लाहीको मलंगवामा आँखा उपचार केन्द्र संचालन गरिरहेको छ। त्यसका अतिरिक्त उपचार केन्द्रसम्म आउन नसक्ने आँखाका बिरामीका लागि स्थानीय सामुदायिक संस्थासँगको सहकार्यमा गाउँमै शिविर गर्ने र थप उपचार गर्नुपर्ने बिरामीहलाई अस्पतालकै खर्चमा शल्यक्रियासहितको सेवा दिँदै आएको छ। 

    कानको उपचार सेवा पनि

    उपचारका लागि आउने आँखासम्बन्धी बिरामी प्रायः कानको पनि कुनै न कुनै समस्या हुने भएकाले अस्पतालले आफ्नै परिसरमा कानको उपचार सेवा पनि थालेको छ। २०७४ मंसिरदेखि थालेको कान उपचार सेवाअन्तर्गत सन् २०१८ को जनवरीदेखि जुलाईसम्म सात महिनाको अवधिमा १६ हजार ७५१ जना कानका बिरामीको उपचार गरेका छन्। कानको उपचार सेवा विस्तारको क्रममा शल्यक्रियासमेत गर्ने गरी तयारी भइरहेको प्रबन्धक रोशनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]