काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
काठमाडौं : डा. सरोजप्रसाद ओझा काठमाडाैंकाे महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक विभागका प्रमुख हुन्। उनको धेरै समय असपतालमा भर्ना भएका कडा खालका मानसिक बिरामी तथा ओपिडीमा चेकअपका लागि आएका विभिन्न बिरामीसँगै बित्ने गर्छ। अन्य बिरामीहरूभन्दा उनको वार्डमा खास मानसिक रूपमा असामान्य बिरामीहरू आउने गर्छन्। यस्ता बिरामीका लागि औषधि सेवन गर्न दिनुभन्दा उनीहरूलाई काउन्सिलिङ धेरै दिनुपर्ने हुन्छ। त्यसैले पनि बिरामीसँग सधैँ खुसी देखिनुपर्छ डाक्टरले। बिरामी जाँचपछि रहेको समयमा उनी अनुसन्धानमा आधारित विभिन्न लेख लेख्ने गर्छन्। यस्तो व्यस्तताबीच जीवन चलाइरहेका डाक्टर अोझाले आफ्नो स्वास्थ्यलाई कसरी ख्याल गर्छन् त? थाहाखबरकर्मी सविना खनालसँग डा. सरोजप्रसाद ओझाले उनको फिटनेस फर्मुलाबारे यसरी बताए।
'हरेक दिन योगा गर्छु'
म हरेक दिन बिहान ५ बजे उठ्छु। उठ्नेबित्तिकै मर्निङ वाकमा निस्कन्छु। धोबिधारा बस्ने हुनाले मेरो मर्निङ वाक भनेको हरेक दिन तीन पटक कमलपोखरीलाई तीन राउण्ड लगाउँछु। यदि मर्निङ वाक गइनँ भने घरमै युट्युबमा विपना वसुको कार्डियो एक्सरसाइज छ। ३० मिनेटको त्यही भिडियो हेर्दै एक्सरसाइज गर्छु।
करिब ७ बजेसम्म योग गरिसकेपछि ब्रेकफास्ट खान्छु। ब्रेकफास्ट प्राय: सबै परिवार बसेर खान्छौँ। मेरो ब्रेकफास्टमा रोटी, दही, स्याउ तथा केरा नियमित हुन्छ। यसरी ब्रेकफास्ट खाएपछि हरेक दिन साढे ८ बजे घरबाट निस्किसकेको हुन्छु।
घरबाट म सिधै टिचिङ अस्पताल आउँछु। ओपिडी बस्ने पालो भएको दिन सिधै ओपिडीमा बस्छु। अन्य दिन अस्पताल पुग्नेबित्तिकै मेरो वार्डमा भर्ना भएका बिरामीको राउण्ड लिन्छु। इमर्जेन्सीमा आफूले हेर्ने बिरामी छन् भने हेरेर करिब १ बजेको समयमा बिहानको खाना खान्छु। बिहानको खाना प्राय: घरबाटै ल्याएको हुन्छु। घरबाट खाना नल्याएको दिन अस्पतालको क्यान्टिनमा पाइने मम तथा रोटी खान्छु। त्यसपछिको समय भने म अस्पतालमै भएको मेरो रुममा पढेर बस्छु।
'खाली समय गीता पढ्छु'
म थोरै अध्यात्मिक मान्छे पनि हुँ। हरेक दिन बिहान मेरी आमाले पूजा गर्नुहुन्छ। एकछिन भए पनि आमासँगै पूजा गर्न बस्छु। समय मिलेको बेला उपत्यकाका विभिन्न मन्दिर पनि परिवारसँगै पुग्छु। अध्यात्मले मलाई आत्मसन्तुष्टि मिल्नुका साथै नकारात्मक कुराहरू सोच्नबाट रोक्छ। अरु समय खाली भएको बेलामा म गीता पढ्छु । गीता मेरो मनपर्ने पुस्तक पनि हो। यसले मलाई जीवन के हो? आफूले कस्तो आचरण गराउनुपर्छ भन्ने कुरा सिकाउँछ। नीतिशास्त्र तथा अध्यात्मले विज्ञानलाई जोड्ने गर्छ।
'नुन, रेड मिट र चिल्लो सकेसम्म कम खान्छु'
चिल्लो भएको खाना खाँदिनँ। सामान्यतया: मैले खाने खाना सादा नेपाली खाना नै हो तर दैनिक खानामा सकेसम्म सागसब्जी र प्रोटिनयुक्त खाने कुरा छुटाउँदिनँ। बिहान घरबाट निस्केपछि दिनभर अफिस तथा विभिन्न कार्यक्रममा नै व्यस्त हुन्छु। आलु तथा दूधबाट बनेका परिकारहरू मलाई धेरै मनपर्ने खानेकुरा हुन्। यसका अलावा कुखुराको मासु पनि मलाई धेरै मनपर्छ। नुन, रेड मिट र चिल्लो सकेसम्म कम खान्छु।
'बेलुकी साढे ७ बजेसम्ममा खाना खाइसक्छु'
म ४ बजेपछि चक्रपथमा रहेको मेरिडियन क्लिनिकमा बस्ने गर्छु। त्यहाँ ६ बजेसम्म बसेर बेलुकाको समयमा मिटिङ तथा बाहिर कुनै कार्यक्रमा जानु छैन भने बेलुका ७ बजेसम्म घर पुगिसकेको हुन्छु।
शरीरमा केही रोग देखिइसकेपछि हामीले खाना समयमा खानुपर्छ भन्ने लाग्छ। त्यसैले बेलुकी पनि म घर जानेबित्तिकै ७ देखि साढे ७ बजेसम्म खाना खाइसकेको हुन्छु। खाना खाएर एकछिन परिवारसँग घरायसी छलफल गर्छु। टिभी हेर्छु। मैले टिभीमा धेरै हेर्ने भनेको समाचार र क्रिकेट हो। मलाई क्रिकेट एकदम मनपर्छ। त्यसैले कुनै पनि क्रिकेटको गेम मिलेसम्म हेर्छु।
'फुर्सदमा घुम्न जान्छु'
उपत्यकामा हुँदा अफिसकै कामले आफ्नो तथा परिवारका लागि दिने समय एकदम कम हुन्छ। हरेक मानिसलाई मानसिक रूपमा स्वस्थ हुन आफ्ना लागि पनि समय दिनुपर्ने हुन्छ। त्यसैले साताको एक पटक शनिबार परिवार सँगै घुम्न जान्छौँ। कहिले पशुपति, भक्तपुर दबार र यस्तै नजिकैका ठाउँहरूमा परिवारसँगै निस्कन्छु। शुक्रबारको दिन साँझ सबै जना परिवार मिलेर घरमै विभिन्न परिकारहरू पकाएर खाएर रमाइलो पनि नियमित गर्छौं।
वर्षमा तीन-चार पटक समय मिलाएर साथीभाइसँग भ्यालीबाहिर घुम्न जाने गर्छु। यस्तै, वर्षमा तीन-चार पटक केही कार्यक्रममा भाग लिन विदेश जाने मौका मिल्छ। यसरी विदेश जाँदा पनि म समय मिलाएर गएको ठाउँमा रहेका केही रमाइला ठाउँहरू हेर्न जान्छु।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।