थाहा संवाद

चट्याङबाट कसरी जोगिने? चट्याङ विज्ञलाई ७ प्रश्न

असार १२, २०७३

    वर्षायाममा नेपालमा बाढी, पहिरो, डुबान सँगसँगै चट्याङको पनि जोखिम हुने गर्छ। वर्षेनी झण्डै डेढ सय भन्दा बढी मानिसले चट्याङका कारण ज्यान गुमाउँछन्। विज्ञहरुका अनुसार चट्याङको जोखिमका हिसाबले नेपाल विश्वमै चौँथो/पाचौं नम्बरमा पर्छ। छिमेकी देश भारतको बिहारमा केही दिन अघि चट्याङ लागेर एकैपटक १ सय १७ जनाले ज्यान गुमाए। बंगलादेशमा गत महिना ५८ जनाको एकैपटक मृत्यु भयो। जोखिम नेपालमा पनि छ तर आवश्यक सावधानी भने अपनाइएको पाइँदैन। चट्याङबाट बच्न अपनाउनुपर्ने उपायबारे चट्याङ विज्ञ तथा चट्याङ र वायुमण्डलीय अनुसन्धान केन्द्र (लार्क) का अध्यक्ष डा. श्रीराम शर्मासँग थाहा सञ्चार नेटवर्कका नरेन्द्र सापकोटाले कुराकानी गरेका छन्।

    के हो चट्याङ?

    बादल र पृथ्वीको बीच वा बादल–बादलकै बीच बग्ने विद्युतीय करेन्ट नै चट्याङ हो। यो एउटा प्राकृतिक प्रकोप हो।

    कहाँ छ बढी जोखिम?

    यसको जोखिम जताततै छ। तैपनि हामी जतिजति उत्तरी र दक्षिणी ध्रुवबाट भूमध्यरेखातिर जान्छौँ, चट्याङको जोखिम त्यति नै बढी हुन्छ। यसरी हेर्दा नेपाल चट्याङको जोखिमका हिसाबले विश्वकै चौँथो पाँचौं नम्बरमा पर्न आउँछ। भू–बनोटका हिसाबले पनि यो हाम्रा लागि जोखिमको विषय हो। विशेषगरी नेपालको दक्षिणपूर्वी भेग झापा र चुरे क्षेत्रमा असाध्यै धेरै चट्याङ पर्ने गरेको छ। त्यसबाहेक नवलपरासीको नारायणी बेल्टदेखि पोखरासम्मको क्षेत्रपनि चट्याङको लागि पकेट क्षेत्र जस्तै हो।

    घरलाई कसरी सुरक्षित बनाउने त?

    आकाशबाट बग्दै जमिनतिर आउँदै गरेको करेन्टलाई कुनै धातुको माध्यामबाट सोझै जमिनमा गाड्दियौँ भने हामीले घरलाई सुरक्षित बनाउन सक्छौं। त्यसका लागि सरकारले विल्डिङ कोड (भवन संहिता) मै चट्याङको सुरक्षा अनिवार्य गर्नुपर्छ। हामीले सामान्य (आठ दश हजार) रकममै गाउँका घरलाई धेरै हदसम्म चट्याङबाट सुरक्षित बनाउन सकिन्छ।

    किन गाउँकै मान्छेलाई लाग्छ चट्याङ?

    गाउँका प्रायः घरहरु कच्ची र फलामे डण्डीको प्रयोग नगरी बनाइएका हुन्छन्। असार साउनमा पानी परिरहँदा खेतमा काम गर्नुपर्ने बाध्यताले पनि गाउँका मानिसमा चट्याङको जोखिम बढी छ। गड्याङ गुडुङ गरेर पानी पर्न थालेपछि ठूलो रुखको ओत लाग्दा पनि चट्याङ लाग्ने संभावना हुन्छ। 

    चट्याङ परिसकेपछि ढुंगा वा बन्चरोजस्तो ठोस बस्तु भेटिन्छ भनिन्छ। यो के हो ?

    मानिसहरुले कहिले ढुंगा भेटेको कहिले बन्चरो भेटेको किस्साहरु सुनिने गर्छन्। तर यो सत्य होइन। चट्याङ बग्दै गर्दा त्यसबाट निस्कने तापक्रम सुर्यको सतहको भन्दा बढी हुन्छ। त्यो करेन्ट जुन वस्तुबाट प्रवाह हुन्छ त्यो तत्काल पग्लिन्छ र सेलाउँदा त्यसले एउटा ठोस आकार लिन्छ। मानिसले त्यसैलाई बन्चरो, ढुंगा भन्ने गरेका हुन्। चट्याङसँगै केही पनि ठोस बस्तु खस्दैन।

    जोखिम कम गर्न सरकारले केही गरेको छ त?

    सरकारले अहिलेसम्म केही सोचेको पाइँदैन। चट्याङबाट कसरी बच्ने भन्ने सामान्य सचेतनासम्म पनि गरेको छैन। भूकम्पपछिको पुनर्निर्माण गरिने घरहरुलाई भूकम्प मात्रै होइन चट्याङ प्रतिरोधि पनि बनाउँ भनेर हामीले आग्रह गरिरहेका छौं। तर पुननिर्माण प्राधिकरणले यसप्रति फिटिक्कै चासो दिएको छैन। राज्यले यो जोखिम हो भन्ने नै महशुस  गरेको छैन। विद्यालयस्तरमै पाठ्यक्रममा पनि चट्याङका विषयवस्तु राखौं भनेर हामीले भनिरहेका छौं तर विडम्वना पाठ्यक्रममा सुनामीको चर्चा गरिन्छ चट्याङको छैन।

    चट्याङबाट कसरी जोगिने?

    ठ्याक्कै भन्न गाह्रो छ। तर गड्याङगुडुङ गर्न थालेपछि घरभित्र भन्दा धातुले बनेकाले त्यसभित्र गएर झ्याल ढोका लगाएर बस्न बढी सुरक्षित हुन्छन्। अग्लो बस्तुले चट्याङलाई आफूतिर तान्छ, त्यसैले ठूला रुखमुनी ओत लागेर बस्नु हुँदैन। खेतमा काम गरिरहँदा पनि झन् बढी चट्याङको जोखिम हुन्छ। सामान्य अवस्थामा दिउँसो तीन बजेपछि बढी चट्याङ पर्छ। त्यसैले त्यसभन्दा अघि नै काम सक्ने गरी तयारी गरियो भने पनि केही हदसम्म सुरक्षित हुन सकिन्छ। हाइटेन्सन लाइनका अग्ला अग्ला टावरलाई बराबर दुरी पारेर बस्दा पनि सुरक्षित हुन सकिन्छ। तर टावरमा जोडिन जान चाहिँ हुँदैन। सहरमा पनि टेलिफोन गर्दा गर्दै, नुहाउँदा नुहाउँदै चट्याङ लागेर मान्छे मरेका उदाहरण पनि छन्। त्यसैले चट्याङ पर्न थालेपछि विद्युतीय उपकरण चलाउनु र नुहाउनु हुँदैन। यति सजगता अपनाइयो भने हामी चट्याङबाट सुरक्षित हुन सक्छौँ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]