समाज : सुरक्षा/अपराध

प्रहरीको उच्च स्रोत भन्छः भेजिनल स्वाबले मात्रै निर्मलाको हत्यारा भेटाउन सकिन्न

पुस १५, २०७५

    काठमाडौं : कंचनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुरा भएको छ। तर हत्यारा अझै को हुन भन्नेसम्म प्रहरीले भेउ पाउन सकेको छैन।

    निर्मला हत्या अभियोगको आशंकामा प्रहरीले १८ जना भन्दा बढीको डिएनए परीक्षण, हजारौं व्यक्तिको मोबाइको कल डिटेल र निर्मलाको शव भेटिएको क्षेत्र नजिकका घरका मानिसलाई सोधुपुछ गरिसकेको छ। तर निर्मलाका हत्याराबारे केही 'क्लु' प्रहरीले भेट्न सकिरहेको छैन।

    जसको कारण प्रहरी संगठन नै आलोचित हुन पुगेको छ। निर्मलाको हत्या अनुसन्धानका क्रममा सुरुवाती चरणमा प्रहरीबाट कमजोरी भएको भन्दै तत्कालीन कंचनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट सेवाबाट बर्खास्त भएका छन्।

    निर्मला हत्याकाण्ड अनुसन्धान गर्न कंचनपुर पुगेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीलगायत दर्जन प्रहरी निलम्बित छन्। उता निर्मलाको न्यायको माग गर्दै सरकार र प्रहरीलाई चौतर्फी दबाब बढ्दो छ।

    डिएनए परीक्षणले उब्जाएको प्रश्न

    प्रहरीले घटनाको २५ दिनपछि कंचनपुरकै स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरेको थियो। दिलीपसिंह बिष्टलाई सिआइबीका डिएसपी अंगुर जीसी नेतृत्वको टोलीले पक्राउ गरेको थियो।

    बिष्टलाई सिआइबीको टोलीले लामो अनुसन्धानपछि मात्र पक्राउ गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको दाबी छ। बिष्टले निर्मलाको बलात्कारपछि हत्या आफैले गरेकोसमेत साविती बयान दिएका थिए। बयान मात्र होइन् घटनास्थल र हत्या गरेको प्रकृतिसमेत पुरै मिलेपछि बिष्टलाई पक्राउ गरिएको दाबी अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुको छ।

    तर स्थानीयले भने प्रहरीले निर्दोष दिलीपसिंह बिष्टलाई फसाउन खोजेको भन्दै विरोध प्रदर्शन गरे। प्रदर्शनका क्रममा एक जनाको ज्यानसमेत गयो। प्रहरीसँग निर्मला हत्याका अभियुक्तको सबुद प्रमाणका रुपमा निर्मलाको यौनांगबाट निकालिएको भेजिनल स्वाब (अभियुक्तको विर्य) बाहेक अन्य प्रमाण केही थिएन।

    दिलीपसिंह बिष्टको रगत निर्मलाको यौनांगबाट निकालिएको त्यही स्वाबसँग डिएनए परीक्षणको लागि प्रहरीको बिधिबिज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो। डिएनएको रिपोर्ट निर्मलाको भेजिनल स्वाबसँग नमिलेपछि स्थानीयलाई बल पुगेको हो। सोही आधारमा बिष्ट थुनामुक्त समेत भइसकेका छन्।

    अनुसन्धानमा खटिएको प्रहरी अधिरकारीको दाबीलाई आधार मान्ने हो भने निर्मला हत्याको साबिती बयान मात्र होइन घटनास्थलको प्रकृतिसमेत मिल्दा दिलीपसिंह बिष्टको डिएनए परीक्षण चाहीँ किन मिलेन? अहिलेसम्म उठेको सबैभन्दा गम्भीर प्रश्न यही हो। उसो भए दिलीपसिंह बिष्टलाई प्रहरीले साँच्चिकै फसाउन खोजेकै थियो? यो दोस्रो ठूलो प्रश्न हो।

    अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन् ‘हामीले एकातिर निर्मलाको यौनीबाट अभियुक्तको भेजिनल स्वाब अर्थात अचुक प्रमाण वीर्य निकालेर प्रमाणको रुपमा परीक्षण गर्ने, अर्कोतिर नक्कली अभियुक्त सार्वजिनिक गरेर विज्ञानलाई चुनौती दिन खोज्ने मूर्ख हौँ ? उनले थपे,‘ हामीले कसैको दबाब बिना अनुसन्धान गरेका थियौँ र दिलीपसिंह बिष्टको डिएनए मिल्छ भन्नेमा शतप्रशित ढुक्क थियौँ’ उनले भने।

    निर्मलाको यौनीबाट कसरी निकालिएको थियो अभियुक्तको स्वाब ?

    अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार निर्मलाको यौनांगबाट अञ्चल अस्पताल महाकालीका डाक्टरको टोलीले अभियुक्तको भेजिनल स्वाब निकालेका थिए। डाक्टरको टोलीले यौनीको बाहिरी, मध्य र भित्री भाग गरी तीन लेयरबाट स्वाब निकालिएको प्रहरीको भनाइ छ।

    त्यसमध्ये बाहिरी भागको लेयरमा पानीले पखालिएका कारण अभियुक्तको कुनै क्यारेक्टर नदेखिएपछि मध्य र भित्री भाग परीक्षण गर्दा मध्य भागको लेयरमा १२ वटा डिएनएको क्यारेक्टर र भित्री भागको लेयरमा १५ वटा क्यारेक्टर भेटिएको प्रहरीले जनाएको छ। यसमध्ये भित्री भागको क्यारेक्टरसँग अभियुक्तको डिएनए परीक्षण भइरहेको छ। यसमा दिलीपसिंह बिष्टको ९ क्यारेक्टर मिलेको थियो।

    डिएनए विशेषज्ञ डाक्टर जीवन रिजालका अनुसार पीडितको यौनीबाट निकालिएका भेजिनल स्वाब डिएनए क्यारेक्टर (जोडी) सँग अभियुक्तको डिएनए परीक्षणमा मेल खाएमा अभियुक्त पुष्टि हुने बताउँछन्।

    अनुसन्धानका खटिएका प्रहरी अधिकारीका अनुसार निर्मलाको यौनीबाट निकालिएको स्वाब परीक्षणमा प्रहरीको बिधिविज्ञान प्रयोगशालामा केही कमजोरी भयो कि भनेर त्यस बारेमा पनि सोच्ने बेला आएको बताउँछन्। निर्मलाको यौनीबाट निकालिएको भेजिनल स्वाब परीक्षण गरिएको 'इलोक्ट्रोफेरोग्राम' अन्य विधिबिज्ञानका विज्ञहरुलेसमेत अध्ययन गर्नु पर्ने एक प्रहरी अधिकारीको भनाइ छ।

    'यदि भेजिनल स्वाब परीक्षणमा कुनै कमजोरी भएको देखिए विधिविज्ञान प्रयोगशालाका कर्मचारीमाथि अनुसन्धान गर्नु पर्छ,' एक उच्च प्रहरी अधिकारीले भने, ' नत्र डिएनए परीक्षण गरेर निर्मला हत्याका अभियुक्त पत्ता लगाउन गाह्रो छ।' 

कृष्णसिंह लोथ्याल

लोथ्याल  थाहा खबरमा ०७५ चैत १५ सम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]