धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोका दिनमा विभेद भएपनि अहिले त्यो विस्तारै अन्त्य भइरहेको बताएका छन्। नयाँ संविधानसँगै विभेद अन्त्य भएको र व्यवहारिक रुपमा पनि विभेद अन्त्य हुँदै गइरहेको ओलीले बताए।
तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको तमु ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले विभेद र असमानताको अन्त्य गर्ने बताए। ‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हामीले छानेको व्यवस्था हो। यसलाई हामी सबैले मिलेर अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘विविधता हाम्रो सम्पन्नता हो। राष्ट्रिय एकता हाम्रो आवश्यकता हो। राष्ट्रिय एकतालाई हामीले अगाडि बढाउँदै आएका छौँ। हिजो पनि यसलाई असफल पार्न प्रयास भयो आजपनि प्रयास भइरहेका छ।’
तर राष्ट्रिय एकता विरुद्धको प्रयास असफल पार्ने काम भइरहेको उनले बताए। साथै उनले अहिले मुलुक समृद्धितर्फ अगाडि बढिरहेको र कसैलाई होच्याएर मुलुक अगाडि बढ्न नसक्ने बताए।
सरकार अहिले पनि सुशासन र विकासको तिब्र अभियानमा अगाडि बढेको उनले बताए। ‘अहिलेको सरकार तपाईहरुले भोट दिएर जिताएर पठाएको हो।
तपाईहरुका मागलाई हामीले गम्भीरताका साथ लिएका छौँ,’ ओलीले भने, ‘जायज मागहरू पुरा हुन्छन्। हामीले असमानता, विभेदको अन्त्य गर्छौँ।’
जनताको हितको पक्षमा जे गर्नुपर्छ सरकारले विधिवत् रुपमा त्यो गर्ने प्रधानमन्त्री ओलीले बताए। साथै उनले आफू गण्डकी क्षेत्रमा बसेको पनि उनले बताए। ‘३ वर्ष कास्की र १ वर्ष स्याङ्जा जेलमा बसेँ। जेलभित्र भएपनि मैले त्यस क्षेत्रको जातजाति, कला, संस्कृति, भेषभुषा हेरेको छु। धेरै भाका, गीत, लय, नाच, झांकीहरु हेरेको छु,’ उनले भने।
कार्यक्रममा उपस्थित कांग्रेस नेता रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइरालाले दिएको ल्होछार बिदा अहिलेको सरकारले काटेकोमा आपत्ति जनाए। ‘अहिले उहाँहरू सत्तामा हुनुहुन्छ। उहाँहरूले भन्नका निम्ति भन्ने रहेछ,’ पौडेलले भने, ‘उहाँहरुले सत्तामा पुग्नका निम्ति मात्रै नारा दिनुभएको रहेछ। कांग्रेसले सबैको सम्मान गर्छ।’
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सरकारले आदिवासी जनजातिका प्रमुख राष्ट्रिय पर्व विदा कटौती गरेर आदिवासी जनजाति समुदायप्रति विभेद गरेको भन्दै तत्काल त्यो निर्णय फिर्ता लिन माग गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।