समाज : सुरक्षा/अपराध

बेच्चु महतो हत्या प्रकरण : थप दुई पक्राउ

पुस १५, २०७५

    जनकपुरधाम : महोत्तरीको औरही नगरपालिका २, फूलबरियाका ४० वर्षीय किसान बेच्चु महतोको हत्या आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय गौशाला गरेको अनुसन्धानमा अर्काको शारीरिक सम्बन्ध लुकाउन यौन प्रलोभन देखाएर भएको हत्या प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा महोत्तरी जिल्लाको औरही नगरपालिका २ फुलबरिया बस्ने २४ वर्षीय बौका भनिने मंजित सदा र सोही ठाउँ बस्ने २५ वर्षीय सुनिल सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ। महोत्तरीको औरही नगरपालिकाकै फूलबरियाकी २२ वर्षीया जितनी देवी महतोलाई गत मंसिर २५ गते पक्राउ गरी प्रहरीले अनुसन्धान थालेपछि हत्याको रहस्य खुल्दै थप दुई जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए।

    यसअघि प्रहरीले महोत्तरीको औरही नगरपालिका २ का जितनी देवी महतो, २४ वर्षीय शुशिल सहनी, र महोत्तरी मटिहानीका अनिल ठाकुरलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। सोही अनुसन्धानकै क्रममा थप दुई जनालाई पक्राउ गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए।  

    यौन सम्बन्धका कारण हत्या

    मृतक बेचुले घरदेखि केही पर करिब खेतमा काउली लगाएका थियो। काउली दिनदिनै नीलगाईले खाएर दुःख दिएर हैरान भएका उनी केही समयदेखि रात्रिकालीन समयमा समेत खेतमै बस्थे। सोही क्रममा मंसिर २४ गते रात परेपछि उनी खेत पुगेका थिए। त्यो दिन उनले खेत नजिकै रहेको उखुबारीमा केही हलचल भएको देखे।

    उनको मनमा निलगाईको शंका पस्यो। सायद नीलगाई लुकेको हुन सक्छ भनी त्यहाँ पुग्दा उनले छिमेकी जितनी र अर्का २४ वर्षीय छिमेकी सुशील सहनीलाई आपत्तिजनक अवस्थामा भेटे। बेचुलाई देख्नेबित्तिकै सुशील भागे। जितनी अक्क न बक्कमा परिन्। जितनीको भनाइलाई प्रहरीले उद्धृत् गर्दै प्रहरी निरीक्षक किशोर आचार्यले भने, ‘मलाई उसले (बेचु) हप्कीदप्की गर्‍यो, मोबाइल पनि खोस्यो र लोग्नेलाई भनिदिने धम्कीसमेत दियो।’

    यी सबै कुराको बोलिबिस्तार जितनीले प्रेमी सुशीललाई सुनाइन् र आफ्नो सम्बन्ध खुल्ने डरमा दुवैजना मिलि बेचु मार्ने योजना बनाए। जितनी र सुशीलको योजनाअनुसार बेचुलाई यौन सम्पर्कका लागि राति सोही खेतमा बोलाइयो। रातको समयमा खेतमा जितनी र बेचु पनि सहमतिकै आधारमा पुगे। सोही क्रममा सुशील र उनका छिमेकी अनिल कुमार शर्मा (ठाकुर) ले बेचुलाई सुशीलले पछाडिबाट आफैंले लगाएको ज्याकेटले घाँटी कसेर हत्या गरे। मृत्यु भएपछि उनीहरूले शवलाई घिसारेर दुई सय मिटर पर उखुबारीमा राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]