काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेक...
काठमाडाैं : फुटबलमा नेपाली राष्ट्रिय टिम निरन्तर असफल हुँदै आएको समयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ प्रशिक्षकका रुपमा स्वीडिस योहान कालिनलाई अनुबन्ध गर्ने तयारी गरेको छ।
एकपटक नेपाली क्लब सम्हालेको अनुभव बटुलीसकेका कालिन नेपाली फुटबलमा उत्कृष्ट प्रशिक्षकको छाप छोड्न सफल भएका छन्। उनले औषत क्लबका रुपमा रहेको मछिन्द्रलाई २०७० मा उपविजेता बनाएका थिए। उसको त्यो नै माथिल्लो श्रेणीको लिगमा सबैभन्दा राम्रो नतिजा हो। त्यति बेला च्याम्पियन भएको मनाङ मर्स्याङदी क्लबसँग १ अंकले मात्र पछाडि परेको मछिन्द्रले स्वीडिस प्रशिक्षक योहान कालिनको नेतृत्वमा ऐतिहासिक उपलब्धि हात पारेको थियो। यिनै कालिनले अब नेपाली राष्ट्रिय फुटबल टोली सम्हाल्ने निश्चित जस्तै भएको छ।
एन्फाको कार्यसमिति बैठकले कालिनलाई दुई वर्षका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको हो। लामो प्रक्रियापछि एन्फा र कालीनबीच सहमति भएको हो। कालिनले मार्च १, २०१९ देखि फेब्रुअरी २८, २०२१ सम्म राष्ट्रिय टिम सम्हाल्ने सहमति भएको छ। यो बीचमा नेपालले एसियन कप छनोट र साफ च्याम्पियनसिप खेल्नेछ।
स्वीडिस खेलकुद महासंघमा ‘नेतृत्व र बुद्धिमता’ को इन्स्ट्रक्टर रहिसकेका ४२ वर्षीय कालिनले नेपाली फुटबलमा उल्लेख्य योगदान पुर्याउने विश्वास एन्फाले लिएको छ। नेपाली फुटबलमा यसअघि जापानी प्रशिक्षक ग्योतोकु कोजी विदेशी प्रशिक्षकका रुपमा रहेका थिए। तर उनीमाथि ‘ओभर स्टे’ गरेको आरोपमा नेपाल सरकारले कारवाही गर्दै नेपाल आउनमा एक वर्ष प्रतिबन्ध लगाएको थियो। त्यसपछि विगत ५ महिनायता नेपाली टिमको नेतृत्व बालगोपाल महर्जनले सम्हाल्दै आएका छन्।
नयाँ प्रशिक्षक बन्न लागेका कालिनले सन् २०१० मा यूइएफए ‘ए’ डिप्लोमा गरेका थिए। स्वीडेनको शीर्ष तहको एमेच्योर लिगमा आठ सिजन मुख्य प्रशिक्षकका रूपमा काम गरेका उनले बर्गनासेट्सलाई २००८–०११ र नोटभकेन्स २०१२–०१३ र २०१५–०१६ को सिजनमा समालेका थिए। उनले २००९ देखि २०१३ सम्म स्वीडेनमा विभिन्न उमेर समूहका युवा टिमहरू सम्हालेको अनुभव समेत रहेको छ।
कालीनसँग स्वीडिस फुटबल महासंघका लागि नोर्बोटोन जिल्लामा शिक्षा संयोजकको रूपमा ६ वर्ष काम गरेको अनुभव रहेको छ। पछिल्लो समय स्वीडिस माइग्रेसन एजेन्सीमा टिम लिडर पनि रहेका उनी नेपाल आउने मिति तय नभए पनि फेब्रअरीकाे अन्त्य सम्ममा नेपाल आउने जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।