समाज

पहिलोपटक उपाधि भित्र्याउने दाउमा महिला फुटबल टोली

पुस १६, २०७५

    इलाम नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरू एन्फा कम्प्लेक्सको मैदानमा दुई सातादेखि प्रत्येक बिहान अभ्यासरत छन्। झिसमिसेमै प्रशिक्षणमा जुट्ने खेलाडी उपाधिविहीन यात्रामा पूर्णविराम लगाउने लक्ष्यसहित मेहनत गरिरहेका छन्।

    कोही बल ‘ड्रिबलिङ’ गर्दै गरेको भेटिन्छन् भने कोही ‘सुटिङ पावर’ बढाउन लागेका छन्। गोलरक्षकहरू विपक्षीको आक्रमण कसरी जोगाउने भन्दै पोष्ट सम्हाल्नमै व्यस्त छन्। प्रशिक्षकहरू पहिलो उपाधि दिलाएर आफुलाई अब्बल प्रमाणित गर्न चाहन्छन्।  दिउँसो सहिद स्मारक लिग हुने खेल मैदान अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टोलीका लागि बिहान उपलब्ध गराएको छ।

    बिहान ७ बजेदेखि १० बजेसम्म महिला खेलाडीहरूले प्रशिक्षणलाई अगाडि बढाउने गरेका छन्। शहीद स्मारक ‘ए’ डिभिजन लिगको व्यस्तताका कारण एन्फाले महिला टोलीको तयारीका लागि बिहान मैदान उपलब्ध गराएको प्रवक्ता किरण राइले बताए। साफको आठवर्षे इतिहासमा नेपाली टोली तीनपटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन। नेपाली टिम पहिलोपटक उपाधि भित्र्याउन चाहन्छ। 

    पछिल्लो पटक म्यानमारमा भएको ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोली उपाधि जित्नेमा विश्वस्ता रहेको प्रमुख प्रशिक्षक हरि खड्काको भनाइ छ। खड्काले भने, ‘ओलम्पिक छनोटको नतिजाले खेलाडी उत्साहित छन्। अहिले खेलाडीको मनोबल आकाशिएको छ। मेहनत गरे जित्न सकिन्छ भन्ने छ।’ नेपालको मुख्य चुनौती भारत भएपनि पछिल्लो समयमा अन्य टोलीले समेत खेल निक्कै सुधार गरेको कारण कडा मेहनत आवश्यक रहेको खड्का बताउँछन। ‘नेपाली खेलाडीहरूलाई घरेलु मैदानको अनुभव छैन। खेलाडीलाई कसरी घरेलु दर्शकको सामना गर्ने र मनोबल उच्च राख्ने जस्ता कुरा सिकाउँदै छु।’ 

    ओलम्पिक छनोटको पहिलो चरणमा भारत र बंगलादेशसँगै बलियो मानिएको आयोजक म्यानमारविरुद्ध अपराजित रहँदै दोस्रो चरणको टिकट काटेको टोलीको उत्साह र लयमा आच आउन नदिने खड्का बताउँछन। विगतमा प्रतियोगिता भन्दा एक महिना अगाडि मात्र तयारीमा जुटने राष्ट्रिय टोलीलाई यस पटक भने तीन महिनाअघि नै 'क्लोज क्याम्प'मा राखिएको छ। ६ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी एपिएफकी कप्तान पप्पु सुरुची एन्फाको पूर्व तयारीबाट सन्तुष्ट छिन्। ‘पहिलो पटक साफ खेल्दा हामीलाई छोटो समयमात्र क्याम्पमा राखिएको थियो। यसपटक भने गेमभन्दा तीन महिना नै अगाडि राखिएको छ पक्कै पनि यसले उपाधि जित्न सहज बनाउनेछ।’ एन्फाले क्लोज क्याम्पमा पहिला दिने भन्दा सेवा सुविधा र खेलाडीहरूलाई बढी अवसर सृजना गरेको उनी बताउँछिन्। 

    राष्ट्रिय टोलीको अन्तिम २३ मा यसै बर्ष स्थान बनाएकी दीपा न्यौपाने लामो समयसम्म क्लोज क्याम्पमा राख्दा मनोबल बढ्ने बताउँछिन्। ‘क्लोज क्याम्प र नियमित लामो समयसम्मको प्रशिक्षणले आफनो टिममेटको बारेमा बुझ्न सहज हुन्छ। हामी धेरै वटा क्लबबाट राष्ट्रिय टिम बनेका छौँ। सबैको क्लबमा आ–आफनो खेल्ने शैली हून्छ। क्याम्पमा बसेर नियमित प्रशिक्षण हुँदा साथीको पोजिसन र आफनो पोजिसनमा तालमेल मिलाउन सकिन्छ,’ उनले भनिन्। 

    प्रशिक्षकसँगको नियमित सम्पर्कले आफनो कमजोरी आँकलन गरेर खेल कौशल सुधार्न मद्दत हुने उनको भनाई छ। टिमकी कप्तान निरु थापाले पनि विगतभन्दा टोली अहिले फरक रहेको बताइन्। ‘हाम्रो टोली विगतभन्दा फरक छ। युवा र अनुभवी खेलाडीको मिश्रण छ। ओलम्पिक छनोटको नतिजाले टोलीलाई निकै हौसला पुगेको छ। हामीले उपाधिका लागि निकै मिहिनेत गरेका छौं र घरेलु दर्शकको साथले त्यो प्राप्त गर्न सहयोग पुग्ने विश्वास छ,’ कप्तान थापाले भनिन्।

    साफ च्याम्पियनसिपमा नेपालको प्रर्दशन : भारत मुख्य चुनौती

    सन् २०१० मा पहिलो पटक साफ आयोजना हुँदा नेपाली महिला फुटबल खस्किँदो गतिमा थियो। सन् २००० देखि २०१० सम्म नेपालको सिनियर महिला फुटबलमा खासै गतिविधि हुन सकेको थिएन। त्यस्तो अवस्थामा महिला फुटबल उत्थानका लागि १२ डिसेम्बर २०१० बाट महिला साफको सुरुवात गरिएको थियो। पहिलो साफमा नेपाली टोलीले समूह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हरायो भने सेमिफाइनलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै भारतसँगको उपाधि भेट पक्का गर्‍यो।

    फाइनलमा सस्मिता मल्लिकको गोलको मद्दतले भारतले उपाधि चुम्दा नेपाल उपविजेतामा सीमित भयो। त्यसयताको तीनवटै प्रतियोगिताको उपाधिको लाग भारत बाधक बन्यो। दोस्रो साफमा ३–१ र तेस्रो साफमा ६–० ले पराजित बन्दै उपाधिबाट बञ्चित भएको नेपाली महिला टोलीका लागि साफ नै विश्वकप सरह रहँदै आएको छ।

    साफमा नेपालले हालसम्म खेलेको १९ खेलमध्ये चार खेलमा मात्र पराजित बन्यो। ती चारवटै खेल भारतविरुद्ध खेलिएका थिए। चार संस्करणमा कुल १९ खेलमा ९१ गोल गर्दै १४ गोल मात्र व्यहोरेको छ नेपाली टोलीले। तीन वटा संस्करणको उपाधिमा भारतसँग भिडेको नेपाललाई २०१६ को संस्करणमा सेमिफाइनलमा ३–१ ले पराजित बन्दै लगातार चौथो पटक फाइनल पुग्न असफल भएको थियो।

    यो पटक उच्च मनोबलका साथ मैदान उत्रिने लक्ष्य रहेको नेपाली टिमले भारतलाई पराजित गर्न सक्ने गोलरक्षक एन्जिला सुब्बा बताउँछिन्। ‘ओलम्पिक छनौटमा समेत भारतलाई पोष्ट आक्रमण बुन्नबाट रोकेका थियौँ। यही रणनितीमा केही परिर्वतन गरेर खेल्दा पहिलो पटक भारतलाई हराउन सक्छौँ।’ नेपाल र भारतबीच हालसम्म भएका नौ खेलमा दुई बराबरी भएको छ। बाँकी खेलमा भारत नेपालमाथि हाबी भएको देखिन्छ। 

    खेलाडीहरूमा एन्फा नेतृत्वको विभेद छैन : राई

    हरेक वर्ष नेपाली फुटबलको एउटै नियति भोग्दै आएको छ महिला र पुरुषबीचको विभेद। तर यस पटक त्यस्तो नरहेको एन्फा प्रवक्ता किरण राईको भनाइ छ। उनी भन्छन ‘ यसअघि के कस्तो भयो त्यो आफ्नै ठाउँमा छ तर हामीले महिला र पुरुषलाई समान रूपमा हेरेका छौ। उनीहरूलाई दिने स्पोर्टस् किट र अन्य सुविधा समान छ।’

    क्लोज क्याम्पमा रहने खेलाडीहरूलाई दिने डाइटहरू समेत विदेशी गुणस्तर रहेको उनी बताउँछन। खेलाडीहरू समेत तुलनात्मक यस पटक एन्फाको नेतृत्वले दिएको सेवा सुविधामा सन्तुष्ट रहेको बताउँछन्। 

    फाेटोहरू–हरि खड्का

नमिन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]