राजनीति

२० वर्षसम्म पनि गति नलिएको विराटनगर विमानस्थल

पुस १६, २०७५

    विराटनगर : २० वर्ष पुगेको अवसरमा विराटनर विमानस्थल नागरिक उड्डयन प्राधिकरणले सोमबार वार्षिकोत्सव मनाएको छ। वि.सं.२०५५ सालमा स्थापना भएको विमानस्थल प्रदेश १ कै प्रमुख हो भने देशकै दोस्रो ठूलो विमानस्थलको रुपमा लिइन्छ। तर विराटनगर विमानस्थलको वित्तिय कारोबारको अवस्था भने निरन्तर घाटामा छ। 

    विराटनगर महानगरपालिका ४ कञ्चनवारी स्थित यो विमानस्थलमा वि.संं २०२५ साल असार ९ गतेदेखि हवाई सेवा संचालन आरम्भ भएको हो। करिव ११५ विघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलमा एकहजार ५०० मिटर लम्वाईको एक धावनमार्ग, ५ वटा ७२ सिट क्षमता भएका जहाज राख्न मिल्ने वायुयान एप्रोन, धावन मार्ग र एप्रोन लाई जोड्ने २ वटा ट्याक्सवे, आधुनिक प्रविधिमा आधारित वायुयान पथ पव्रदर्शन उपकरणलगायतका उपलब्ध छ। 

    विराटनगर विमानस्थलमा हाल हवाई सेवा संचालन अनुमति पाएका आन्तरिक वायुसेवा कम्पनीहरू मध्ये नेपाल एयरलाइन्स कर्पोरेशन १, वुद्ध एयर ५, यति एयर ४, श्री एयर ४ विराटनगर–काठमाडाैं उडान सेक्टरमा कुल दैनिक १४ आगमन तथा १४ प्रस्थान गरी कुल २८ उडान भइरहेको छ। त्यसका अतिरिक्त वुद्ध एयरद्बारा काठमाडाैं-तुम्लिङटार विराटनगर सेक्टरमा हप्ताको ३ तथा यति एयरले हप्ताको एउटा विराटनगबाट पर्वतीय उडान गरिरहेको छ। सौर्य एयर लाइन्सको उडान हाल केही समयदेखि स्थगित अवस्थामा रहेको छ।

    विगत करिव एक वर्षअघिसम्म नेपाल एयरलाइन्सको ट्वीनएटर विमानले विराटनगर विमानस्थललाई आधार बनाई प्रदेश १ का पहाडि सेक्टरका विमानस्थलहरू जस्तैः भोजपुर, खानीडाँडा, थामखर्क आदिमा नियमित उडान गर्ने गर्दथ्यो। तर हाल उक्त सेवा बन्द छ। जसको कारणले गर्दा उक्त क्षेत्रका वासिन्दालाई विमानस्थलहरू उडानको अभावमा विरामी तथा आकस्मिक अवस्थामा महँगो शुल्क तिरी हेलिकाेप्टर चाटर्ड गर्नुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना भएको विराटनगर विमानस्थलका प्रमुख टेकप्रसाद सिटौलाको भनाइ छ।

    यद्यपि उक्त विमानस्थलमा काठमाडाैंबाट साप्ताहिक केही उडानहरू हुने गरेको छ। यस तथ्यले उड्डयन गतिविधि परम्परागत रुपमै काठमाडाैं केन्द्रित रहेको देखिन्छ। यसर्थ दुरदराजका क्षेत्रमा हवाई सेवाको पहुँच तथा काठमाडाैं वाहिर उड्डयन गतिविधिको विविधिकरण आज एक ठूलो चुनौतिको रुपमा देखिएको सिटौलाको भनाइ छ। देशभरि संचालनमा साना ठूला गरी रहेका ५० वटा विमानस्थल मध्ये हाल करिव ३० वटामा मात्र नियमित उडान हुनुले पनि हवाई सेवा अझै संकुचित अवस्थामा रहेको देखिन्छ। 

    विराटनगर विमानस्थलबाट सन् २०१८ को ११ महिनामा कूल ८ हजार ८९२ वटा उडान भएका छन् भने ४ लाख ८८ हजार ६९ जना यात्रुले हवाई यातायात सेवा लिएका छन्। यो सन् २०१७ को तुलनामा २.२६ प्रतिशत कम उडान हो भने यात्रुको संख्या भने १४ प्रशितले वृद्धि हो। ५ वर्षदेखिको तुलना गर्दा सन् २०१८ मा वायुयान तथा यात्रु आवागमन क्रमशः १९.६४ र ४१ प्रतिशतले वृद्धि भएको तथ्यांक छ।

    विमानस्थलको उडानसंख्या र यात्रुको चाप बढिरहेको भए पनि घाटा पूर्ति गर्न भने अझै सकेको देखिँदैन। आर्थिक वर्ष २०७३/०७४ मा ५ करोड ६३ लाख ७७ हजार ९३ रुपैयाँ आम्दानी गरेको विमानस्थलले गत आर्थिक वर्षमा भने ८ करोड ४ लाख ४७ हजार ४०८ रुपैयाँ आम्दानी गरेको गत आर्थिक वर्षमा भने ८ करोड ४ लाख ४७ हजार ४०८ रुपैयाँ आम्दानी गरेको देखिन्छ। तर कूल आम्दानीले विमानस्थलको नियमित संचालन खर्च मात्रै धानिरहेको र वार्षिक रुपमा हुने ठूलो धनराशी लगानी तथा खर्चको दृष्टिकोणबाट ठूलो घाटामा संचालित रहेको स्वयं एयरपोर्ट प्रमुख सिटौलाको भनाइ छ। यसबाट एकातर्फ वर्तमान राष्ट्रिय हवाई नीति तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनले व्यापारिक सम्भाव्यता भएका विमानस्थलको संचालन व्यापारिक सिद्धान्त आधारित हुनुपर्ने भए पनि विराटनगर विमानस्थललाई त्यही चुनौती देखिएको छ। 

    विराटनगर विमानस्थलको विकासका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले क्षमता अभिवृद्धि पूर्वाधार विकास तथा स्तरोन्नती कामलाई तीन चरणमा संचालन गर्ने गरी योजना बनाएको छ। पहिलो चरण  अन्तर्गत २ वर्ष भित्र सम्पन्न गर्ने गरी हालको एप्रोनलाई पूर्व तर्फको रन्वेसँग जोड्न ट्याक्सवेको निर्माण, नयाँ रेस्क्यु एण्ड फायर फाइटिङ बिल्डिङ निर्माण गर्ने योजना छ। यस्तै ५ वर्ष भित्र सम्पन्न गर्ने गरी नयाँ टर्मिनल बिल्डिङ र सवारी पार्किङ विस्तार गर्ने, ड्रेन निर्माण तथा मर्मतसम्बन्धी कार्य गर्ने, विमानस्थल विस्तारको लागि आवश्यक जग्गा अधिग्रहण गर्ने तथा वायुयान एप्रोन विस्तार गर्ने रहेको छ भने दीर्घकालीनअन्तर्गत २० वर्षभित्र सम्पन्न गर्ने गरी नयाँ गुरुयोजना अनुसार ३ हजार मिटरको रनवे बनाउने योजना कार्यान्वयन गर्ने रहेको छ। त्यसका लागि विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विस्तार एवं स्तरोन्तनि गरी २ सयसम्म सिट क्षमता भएका मेडियम जेट वायुयान उडान अवतरण गर्न मिल्ने २ हजार ४०० मिटर लम्वाई विस्तार गर्ने कि ३ हजार मिटर लम्बाई भएको पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने भन्ने एकिन हुन अझै सकेको छैन।

    २ हजार ४०० मिटर विस्तारका लागि थप करिव १२५ विघा जमिन अधिग्रहण गर्नुपर्ने विमानस्थल पश्चिम तर्फ रहेको केशलिया नदीलाई डाइभर्सन गर्नुपर्ने अवस्था देखिन्छ। यस्तै ३ हजार मिटरमा विस्तार गर्ने हो भने थप करिव २५० विघा अधिग्रहण गर्नुका साथै उक्त खोलालाई पश्चिम तर्फ डाइभर्ट गुर्नपर्ने अवस्था रहेको अध्ययनले देखाएको छ। सोमबार आयोजित वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पनि विमानस्थलको विकासमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए। देशकै दोस्रो सहर विराटनगरको विमानस्थल यति लामो समयमा पनि विकास हुन नसक्नु चित्त बुझ्दोे नभएको उनको भनाइ छ।

    प्रदेशका मुख्यमन्त्री शेरधन राईले भने विराटनगरबाट अन्तर्राष्ट्रिय उडान, अन्तरप्रदेश उडान तथा प्रदेशभरका विमानस्थलमा विराटनगरबाट उडान भर्नका लागि प्रदेश सरकारले पहल गर्ने बताए। उनले संघीय सरकारका मन्त्रीलाई भनेर नहुने अवस्था देखिएका कारण आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेर यो विषयमा कुरा गर्ने जानकारी दिए।

    विराटनगरका सरोकारवालाले प्रदेश १ को विकास र समृद्धिका लागि क्षेत्रीयस्तरको विमानस्थलको विकास गर्नुपर्नेमा जोड दिँदै आएका छन् भने आन्तरिक तथा बाह्य उडानलाई यहीबाट प्रभावकारी बनाउनुपर्ने बताउँछन्। यो काम सम्पन्न गर्नका लागि संघीय सरकारले पनि उत्तिकै चासो दिनुपर्ने देखिएको उद्योग वाणिज्य महासंघ  प्रदेश १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]