राजनीति

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको दाबी- गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महँगी

‘ओली ‘होली-वाइन’ पिउन र नक्कली क्रिश्चियनको काखमा सुत्न जानुभयो’

पुस १६, २०७५

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन्। सोमबार गरिएको साक्षात्कारमा उनले आफ्नो अन्य धारणा भन्दा बढी प्रश्‍न तेर्साएका हुन्। उनले भने,‘गणतन्त्रकी राष्ट्रपति किन महँगी बन्दै हुनुहुन्छ? करोडौंका गाडी चाहिने? अर्बौको हेलिकाेप्टर खरिद गर्नुपर्ने? अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे? प्रहरी तालिम केन्द्र पनि उनलाई नै चाहिने भयो भन्ने सुनिँदैछ। यो कस्तो विलाशिता हो?’ 

    अध्यक्ष राणाले भने,‘राजतन्त्रको बेलामा नभएका दृश्यहरू गणतन्त्रमा देख्न पाइएका छन्। राष्ट्रपतिलाई सुविधानै सविधा चाहिने अनि दशैंमा जनतालाई घुँडा टेकाउने? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ? अब शंका जन्मिँदैछ।’अध्यक्ष राणाले दुई तिहाई बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको गम्भीर आरोप लगाएका छन्।

    राणाले २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाए। अध्यक्ष राणाले भने,‘२०४७ सालपछि बनेको सबैभन्दा बलियो भनिएको वर्तमान सकारले जनताको पक्षमा काम गर्न सकेको छैन। जनताको बारेमा चिन्ता गर्न सकेको छैन। यो मेरो आरोप होइन। सत्य हो। नेकपाको सचिवालय बैठकमा समेत सरकारका काम कारबाहीको बारेमा आफ्नै पार्टीका नेताहरूले असन्तुष्टि पोखेका छन्।’ 

    ‘नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प छैन’ 

    राणाले नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको पनि दाबी गरेका छन्। उनले नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै प्रजातन्त्रवादीहरू अब एक ठाउँमा उभिनु पर्ने समय आएको पनि बताए। उनले भने,‘कांग्रेसले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति र पहिचानको बारेमा चिन्ता गरेको देखिन्छ। तर मुलुकलाई हिन्दुराज्य बनाउनेमा कांग्रेस उभिन्छ। या उभिँदैन त्यो उसको कुरा हो। म त भन्छु प्रजातन्त्रवादीहरू एक ठाउँमा उभिनुपर्छ। देशलाई जोगाउनु पर्छ। सन्तुलित परराष्ट्र नीति बनाएर देश चलाउनु पर्छ।’ 

    अध्यक्ष राणाले वर्तमान सरकार ‘होली-वाइन’ खान र नक्कली क्रिश्चियनको काखमा सुत्न गएको पनि आरोप लगाए। उनले भने,‘दुईतिहाई बहुमतका प्रधानमन्त्री केपी ओली तीन दिनसम्म ‘होली-वाइन’ खाएर नक्कली क्रिश्चियनहरूको काखमा सुत्नुभयो, योभन्दा लाज मर्दो अर्को कुरा के हुन सक्छ? योभन्दा धार्मिक रुपमा हामीमाथि अर्को खतरा के हुन सक्छ?’ 

    ‘महेन्द्र र विपी एक जंगलका दुई शेर’ 

    राणाले राजा महेन्द्र शाह र विपी कोइरालालाई एउटा जंगलका दुई शेरको संज्ञा दिएका छन्। साथै उनले आफू र आफ्नो पार्टीले इतिहासमा देशको लागि योगदान दिएका व्यक्ति र संस्थालाई सम्मान गर्ने पनि बताए। उनले भने,‘२००७ सालपछि नेपाली धर्तीमा दुई महान व्यक्तिको उपस्थिति रह्यो। राजा महेन्द्र र विपी कोइराला, उहाँहरू एक जंगलका दुईवटा शेर हुनुहुन्थ्यो। भारत निर्वासनमा बस्नु भएका विपीले राष्ट्रियतालाई शीरमा राखेर स्वदेश फर्किनु भयो। राज संस्थाबिनाको राष्ट्रियताले कमजोर बन्छ भन्ने उहाँको दृष्टिकोण थियो। व्यक्तिगत रुपमा महेन्द्र-विपीका बीचमा टकराव भए पनि उहाँहरू दूरदर्शी नेता हुनुहुन्थ्यो। राष्ट्र र राष्ट्रियताका बारेमा एक ठाउँमा हुनु हुन्थ्यो।’

    आज मेलमिलाप दिवस भएको उल्लेख गर्दै उनले कांग्रेसले विपीको सम्मानको लागि नेपाललाई हिन्दुराज्य कायम गर्ने प्रयास गर्नुपर्ने सुझाव दिए।  उनले भने,‘हामीले इतिहासमा मुलुकलाई योगदान पुर्‍याउने सम्पूर्ण वीर पुरुषलाई सम्मान गर्नुपर्छ।’ उनले भने,‘महेन्द्रको कालमा विपिले जनमतसंग्रह माग्नुभयो। त्यो सम्पन्न भयो।त्यसपछि राजा वीरेन्द्रको पालामा गलत सल्लाहकारका कारण नेपालको राजनीतिक र राष्ट्रियता कमजोर बन्यो। त्यसपछिको समय झनै गम्भीर बन्दै गएको छ।वर्तमान दुई तिहाईको सरकारले विदेश नीतिलाई सन्तुलित राख्न सकेको छैन। सरकारको यही कमजोरीका कारण आज देश खतराको बाटोतर्फ जाँदैछ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]