काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर २ हजार ४१ दश...
पोहोर कै चिनी बिक्री भएन, सस्तोमा पाए मात्र किन्छौं : उद्योगी
विराटनगर : इष्टर्न सुगर मिल्सले अघिल्लो वर्ष उत्पादन गरेको ३० लाख किलोग्राम चिनी बिक्री गर्न नसकी थन्क्याएर राखेको छ। पाकिस्तान लगायत तेस्रो मुलुकबाट सस्तो मूल्यमा आयात गरेको चिनीले गर्दा इस्टर्न सुगर मिलले अघिल्लो वर्ष उत्पादन चिनी बिक्री गर्न नसकेको हो।
पाकिस्तानले नेपाल सरकारलाई दुईलाख ५० हजार मेट्रिक टन चिनी अनुदानमा उपलब्ध गराएको थियो भने व्यापारिहरुले पनि ठूलो परिमाणमा चिनी आयात गरेका थिए। बजारमा सस्तो मूल्यमा चिनी भित्रिएपछि नेपालमा उत्पादन भएको चिनी बिक्री गर्न समस्या भएको उद्योगले जनाएको छ। यद्यपि सरकारले उद्योगीहरूसँगको परामर्शमा चिनीको मूल्य वृद्धि गरेर ७० रुपैयाँ कायम गरेको थियो। उद्योगहरूलाई गरेर अनुकूल वातावरण तयार पार्ने उद्देश्यले मूल्य निर्धारण गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आलोचनासमेत सहनु परेको थियो।
चिनी बिक्री नहुँदा मिल संचालक तनावमा छन् भने कृषकले सरकारले तोकेको समर्थन मूल्य नपाउँदा पेशाबाट पलायन हुने अवस्थामा पुगेको बताएका छन्। सरकारले चिनी आयातमा नियन्त्रणको प्रयास नगरेका कारण विदेशबाट सहजरुपमा चिनी आयात भएको र त्यसले स्वदेशी उद्योगहरू समस्यामा परेको उनीहरूले बताएका छन्।
चिनी बिक्री नहुँदा अघिल्लो वर्ष किसानसँग खरिद गरेको उखुको भुक्तानी गर्न नसकेको उनीहरूले बताएका छन्। गतवर्ष सरकारले तोकेको समर्थन मूल्यमा उखु खरिद गर्दा २० करोड रुपैयाँ घाटा भएको मिलका संचालक हितेश गोल्छाले बताए। सरकारले अहिले उखुको समर्थन मूल्य नतोकेकै कारण मिल सञ्चालन गर्ने अवस्था नभएको उनको दावी छ। प्रत्येक वर्ष मिल संचालन हुनुभन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्ने गरिएको छ। यो वर्ष अहिलेसम्म समर्थन मूल्य तोकिएको छैन।
गतवर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५३० रुपैयाँ तोकेको थियो। यता उखु कृषकले भने लागत अनुसार उखुको मूल्य र भुक्तानी नपाउँदा खेती गर्नै समस्या भएको बताएका छन्। खेतमा उखु सुक्न थालिसक्दासमेत मूल्य निर्धारण नभएको र चिनी मिलहरू सञ्चालन नभएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्। उखु काट्न नपाएपछि किसानका खेतमा नै उखु फुल्न थालेको छ। उखु फलेपछि रस सुक्दै जाने र तौल कम हुने समस्या हुन्छ। त्यसबाट किसानलाई नोक्सानी हुन्छ भने चिनीको उत्पादन पनि कम हुने गर्छ।
किसानले अघिल्लो वर्षको समर्थन मूल्यमा नै उखु बिक्री गर्न तयार रहेको बताएका छन्। सरकारले गत वर्ष तोकेअनुसार किसानलाई मूल्य दिन नसक्ने मिलको भनाइ छ। सरकारले चिनी आयातमा रोक लगाए पनि व्यापारीले अघिल्लो वर्ष नै ठूलो परिमाणमा भण्डारण गरेर राखेका छन्। त्यसै कारणले गदा अर्को वर्ष पनि बजार पाउने सम्भावना कम रहेको मिलको दावी छ। यो वर्ष किसानले प्रति क्विन्टल ३८५ रुपैयाँमा उखु दिए मात्रै खरिद गर्ने मिलले जनाएको छ। मिल सञ्चालनका लागि तयारी अवस्थामा रहेको तर सरकारले उखुको मूल्य नतोकेकोले सञ्चालन गर्न नपाएको मिलका उखु प्रबन्धक सुरेशप्रसाद मेहताले बताए।
मिलले वार्षिक ३० लाख क्विन्टल चिनी क्रसिङ गर्ने क्षमता राख्दछ। मोरङ र सुनसरी २ जिल्लाका दुईहजार १०० कृषकले गत वर्ष मिललाई ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेको कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले जानकारी दिए। यसवर्ष दुईहजार ४०० कृषकले गरेको उखु खेतीबाट १५ लाख क्विन्टल उत्पादन हुने उनको अनुमान छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।