काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
हेरचाहमा बेवास्ता गरेको स्थानीयको अरोप
उदयपुर : बेलका नगरपालिकाले विवादका बीच ठूलो तामझाका साथ रोपेको लेमन ग्रासका विरुवा मरेको छ। रोपेपछि उचित समयमा सिँचाइ नगर्दा लेमन ग्रासका विरुवा मरेको हो।
नगरपालिकाले वडा नम्बर ३ स्थित कोशीटप्पुको एकता चौकमा लेमन ग्रास रोपेको थियो। रोप्ने बेला वन कार्यालय र नगरपालिकाबीच विवाद भएको थियो। वन कार्यालयले ‘वन अतिक्रमण भयो’ भनी रोप्न नदिने बताएको थियो। उता नगरपालिकाले भने वन कार्यालयको उक्त कुरा विकास विरोधी भएको दाबी गरेको थियो।
यस्तो विवादबीच नगरपालिकाले चालु आर्थिक वर्षलाई उत्पादन वर्षका रुपमा मनाउने उद्घोष गर्दै लेमन ग्रास खेती सुरु गरेको हो। साविकको जिल्ला वन कार्यालयमा नगरपालिकाकाले कबुलियत वन दर्ता गरी लेमन ग्रास खेती गरेको हो।
जिल्लामा नै पहिलो पटक खेती गरिएको लेमन ग्रासका विरुवा रोप्ने बेला ठूलो होहल्ला गरिएको थियो। ‘रोप्ने वेलामा नगरपालिकाले होहल्ला गरेको थियो,’ एक स्थानीयले भने, ‘समयमै सिँचाइ गर्न नसक्दा विरुवा मरेको छ।’
४० बिघाभन्दा धेरै जग्गामा लेमन ग्रास रोप्ने नगरपालिकाको योजना भए पनि वन कार्यालयसँग विवाद भएपछि आठ विघामा मात्र लगाइएको थियो। त्यही आठ बिघामा लगाइएको विरुवामध्ये अहिले अधिकांश मरेको बेलका नगरपालिका–३ सिर्जना टोलमा रहेको पौरखी कृषि समूहकी विष्णुमाया थापा थापाले बताइन्। ‘नगरपालिकालेण् जमिनमुनिको पानी तानेर सिँचाइ गर्ने विभिन्न उपकरणहरु दिन्छु भनेको थियो,’ उनले भनिन्, ‘अहिले त्यो पनि दिएन, अनि सबै लेमन ग्रास म¥यो।’
लाखौं खर्च गरेर रोपेको लेमन ग्रासका विरुवामध्ये १०० वटामा १० वटा मात्र बाँचेको स्थानीयको भनाइ छ। भारतबाट करिव चार लाख रुपैयाँमा लेमन ग्रासको विरुवा ल्याएर रोपिएको थियो।
किसानहरुले नगरपालिकालाई आरोप लगाए पनि नगर प्रमुख दुर्गाकुमार थापा भने त्यसलाई स्वीकार गर्दैनन्। उनले किसानहरुकै कमजोरी रहेको दाबी गरे। ‘लेमन ग्रास रोप्ने बेलैमा एक लाखभन्दा धेरै विरुवामा मरे,’ उनले भने, ‘त्यहाँ रोपेपछि किसानहरुले सिँचाइमा अलिकति ध्यान दिएनन्, नगरपालिकामै सिँचाइको लागि सोलर पम्पहरु आइसकेको छ, त्यो लगेर व्यवस्था गर्नु किसानहरु आएका छैनन्, अव बोलाएर पठाउने तयारीमा छु।’ विरुवा मरे पनि नगरपालिकाका प्रमुख थापा भने लेमन ग्रास खेती बढाउँदै लैजाने योजना रहेको बताउँछन्।
विरुवा मरेको ठाउँमा अर्को विरुवा लगाउने योजना रहेको उनको भनाइ छ।
के हो लेमन ग्रास?
लेमन ग्रास कागतीको बास्ना आउने सिरुजस्तो घाँस हो। यसको स्वाद पनि कागतीको जस्तै हुन्छ। यो वनस्पति नेपालमा पाइन्छ। यसलाई मसला वा आँगनको डिल सजाउने बिरुवाको रूपमा प्रयोग गरिँदै आइएको छ।
यसको प्रशोधन गरेर सुगन्धित तेल पनि बनाउन सकिन्छ। यसको तेलको मुख्य बजार औद्योगिक देशहरू हुन्। यो सुगन्धित तेल विभिन्न ब्राण्डका महँगा पर्फ्युम, क्रिम, फेसवास, साबुन, स्याम्पु, बडी स्प्रे, जेल आदि सौन्दर्य प्रशाधन र औषधिमा प्रयोग गरिन्छ। अहिले त नेपालमै पनि यसको माग बढिरहेको छ।
यस्तो हावापानीमा खेती गर्न सकिन्छ
लेमन ग्रासको खेती नेपालको हिमाली क्षेत्रबाहेक सबै ठाउँमा हुन्छ। मध्यपहाड, खोंच, बेसी, मधेश र भित्री मधेशमा यो विरुवा सप्रिन्छ। गर्मी हावापानी भएको ठाउँमा वर्षमा तीन पटकसम्म यसले उत्पादन दिने विज्ञहरु बताउँछन्।
पहाडमा वर्षमा कम्तीमा दुई पटक काट्न सकिन्छ। यसका लागि परम्परागत अन्नबालीको खेतीमा जस्तो जनशक्ति पनि चाहिँदैन। त्यसैले जनशक्तिको अभावमा रहेको ठाउाँमा लेमन ग्रास लगाउन सकिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।